प्रचण्डको गृहजिल्लामा बादलको गर्जन– उनीहरुको सय चोटलाई हाम्रो एकै चोट (भिडियो) – Nepal Press

प्रचण्डको गृहजिल्लामा बादलको गर्जन– उनीहरुको सय चोटलाई हाम्रो एकै चोट (भिडियो)

काठमाडौं । जनयुद्धका सहयोद्धा प्रचण्डसँगको ४० वर्ष लामो सम्बन्ध तोडेर केपी शर्मा ओलीको नेतृत्वलाई स्वीकार गरेका नेकपा नेता तथा गृहमन्त्री रामबहादुर थापा (बादल) आफ्नै पूर्व कमाण्डरप्रति दिनहुँ आक्रामक बनिरहेका छन् ।

यसकै सिलसिला जोडिएको छ आइतबार प्रचण्डकै निर्वाचन क्षेत्र चितवनमा । संयोग नै मान्नुपर्छ त्यही चितवनमा २०६४ सालमा बादलको पनि निर्वाचन क्षेत्र थियो । प्रचण्ड र बादल दुवै चितवन बसाइँ सरेका नेता हुन् ।

नेकपाको जिल्लास्तरीय कार्यकर्ता भेलामा सहभागी हुन शंकर पोखरेलसँगै चितवन पुगेका बादलले प्रचण्डलाई प्रहार गर्न कुनै शब्द बाँकी राखेनन् । उनले केपी ओलीलाई अपदस्थ गरेर प्रधानमन्त्री हुने षड्यन्त्र गरेपछि उनको प्रयास चकनाचूर पार्न आफूहरुले प्रतिनिधिसभा नै विघटन गरिदिएको बताए ।

बादलले कार्यकर्तालाई हौस्याउँदै भने–उनीहरुले (प्रचण्ड–माधव नेपालले) सुनारका सय चोट भने जसरी पटक-पटक नेतृत्वलाई अपदस्थ गर्न खोजे । प्रचण्डले आफू प्रधानमन्त्री हुन अविश्वास प्रस्ताव ल्याउने षड्यन्त्र गरे । हामीले लोहारको एकै चोट हान्यौं । प्रतिनिधिसभा भंग भयो अब प्रधानमन्त्री बन्ने हो भने चुनाव जितेर आउनुस् ।

बादलले नयाँ संसदबाट मात्र प्रधानमन्त्री बन्नका लागि प्रचण्डलाई चुनावमा भाग लिन निमन्त्रणा गरेका छन् । पुरानो संसद ब्युँताएर प्रचण्डले आफू प्रधानमन्त्री बन्ने दाउपेच कसेको आरोप लगाउँदै थापाले भंग भइसकेको संसदबाट प्रधानमन्त्री बन्न नसक्ने जिकिर गरे ।

प्रचण्ड र माधव नेपाल पक्षले विभिन्न जालझेल र षडयन्त्र गरेर प्रधानमन्त्री केपी ओलीलाई हटाउन खोजेको आरोप लगाउँदै नेता थापाले चुनाव देखेर प्रचण्ड–माधव पक्ष जनताबाट भागिरहेको बताए । उनले वर्ग संघर्षको मैदानमा आउन प्रचण्डलाई आग्रह गर्दै चुनाव नै वर्ग संघर्ष हो भने । प्रचण्ड–माधव पक्षको विचार सही नभएको बताउँदै पार्टी अध्यक्ष चाहिएको भए महाधिवेशनमा गएर कार्यकर्ताकाे मन जित्न पनि थापाले आग्रह गरेका छन् ।

बादलको विरोधमा कालो बेलुन

यसैबीच चितवन पुगेका बादललाई प्रचण्ड–माधव पक्षका कार्यकर्ताले कालो बेलुन उडाएर विरोध जनाएका छन्।

बेलुनमा ‘बादल: लाल गद्धार, असंवैधानिक ‘कु’का मतियार’ लेखिएको थियो। प्रहरी हस्तक्षेपपछि विरोधकर्ता तितरवितर भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *