कागजमा धनीपुर्जा छ, स्वामित्व छैन – Nepal Press
‘गाउँ ब्लक’को जग्गा

कागजमा धनीपुर्जा छ, स्वामित्व छैन

मालपोतले धनीपुर्जा लागू नगर्दा ४० हजार परिवार प्रभावित

धनुषा । जनकपुरधाम उपमहानगरपालिका–१६ का राधेश्याम साह १४ वर्ष अगाडि ‘गाउँ ब्लक जग्गा’को जग्गाधनी पुर्जा पाएपछि खुशीले गदगद् भए । उनको पौने ५ कट्ठा जग्गा गाउँ ब्लकको नाममा थियो । धनीपुर्जा पाएपछि जग्गा धितो राखेर बैंकबाट ऋण लिने योजनामा थिए, साह ।

जब बैंक कर्मचारीले उनको सो जग्गा धितो राखेर ऋण नपाउने बताए अनि मात्र उनले थाहा– धनीपुर्जा त पाइयो तर मालपोतले लागू गरेकै रहेनछ । उनी निराश भए ।

त्यसपछि कहिले लागू गर्छ भन्ने बुझ्न उनी पटक–पटक मालपोत कार्यालय धाए । मालपोत कार्यालयले भने अहिलेसम्म सो जग्गामा धनीपुर्जा लागू गरेकै छैन ।

साहका छोरा राजीवले धनीपुर्जा पाए पनि जग्गा बैंकमा राखेर ऋण निकाल्न नपाउँदा ठूलो समस्या झेल्नु परेको सुनाए । उनले भने, ‘उक्त जग्गा प्रति धुर पाँच लाखको भएको छ । जग्गा राखेर करोडौं ऋण निकाल्न सकिन्थ्यो । तर ऋण निकाल्न नपाउँदा व्यवसाय गर्न पाइएको छैन ।’ तत्कालै धनीपुर्जा लागू गर्न सरकारले चासो देखाउनुपर्ने उनको भनाइ छ ।

जनकपुरधाम–१६ कै रामपरी देवी बरहीले पनि २०६२ सालमै करीब पाँच कट्ठा गाउँ ब्लक जग्गाको धनीपुर्जा पाइन् । तर उनले पनि सो जग्गा राखेर न बैंकबाट ऋण निकाल्न पाएकी छन् न बिक्री गर्न । बरही भन्छिन्, ‘लामो समयपछि धनीपुर्जा त पाइयो तर त्यो पुर्जा सादा कागज सावित भएको छ ।’

जिल्लामा १२७५ ब्लकहरूको १४५० हेक्टर क्षेत्रफल जग्गा रहेको छ । जसमध्ये एकसाता अगाडिसम्मको तथ्यांक अनुसार १३०० हेक्टर जग्गा नापी भइसकेको छ । अब १५० हेक्टर गाउँ ब्लकको जग्गा नापी गर्न मात्र बाँकी छ ।

राधेश्याम र रामपरी त उदाहरण मात्र हुन्, धनुषाका हजारौं व्यक्तिको पीडा यस्तै छ । नापी कार्यालय, धनुषाले ३० वर्ष अगाडिदेखि नै गाउँ ब्लकको जग्गा नापी गर्न शुरू गर्यो ।

जिल्लामा १२७५ ब्लकहरूको १४५० हेक्टर क्षेत्रफल जग्गा रहेको छ । जसमध्ये एकसाता अगाडिसम्मको तथ्यांक अनुसार १३०० हेक्टर जग्गा नापी भइसकेको छ । अब १५० हेक्टर गाउँ ब्लकको जग्गा नापी गर्न मात्र बाँकी छ ।

जग्गा नापी भएका सबै तथ्यांक मन्त्रालय र मालपोत कार्यालयमा पठाइसकेको नापी कार्यालयका प्रमुख सुमन किशोर मिश्रले जानकारी दिए ।
गाउँ ब्लकको जग्गा नाप जाँच गरी श्रेस्ताहरू मालपोत कार्यालयमा बुझाइसके पनि हालसम्म लागू नगरेको बताए । उनले भने, ‘मालपोतले लागू नगर्दा जनगुनासो बढ्दै गएको छ । नाप नक्शाको औचित्यमाथि नै प्रश्न उठ्न थालेको छ ।’

पछिल्लो पटक २०७७ मंसीर ११ मा नापी कार्यालय प्रमुख मिश्रले मालपोत कार्यालयलाई श्रेस्ता लागू गर्न पत्राचार समेत गरेका छन् । तर मालपोत कार्यालयले हालसम्म कुनै जवाफ फर्काएको छैन ।

उनले भने, ‘२०४६ सालदेखि नै गाउँ ब्लकको जग्गा नापी शुरु भयो । त्यतिबेला नै धनीपुर्जा पनि बाँडियो । तर मालपोतले त्यतिबेलाको जग्गाधनी पुर्जा पनि लागू गर्न सकेको छैन । जसका कारण जनता ठूलो समस्यामा छन् ।’

लागू गर्न किन समस्या भयो भन्ने विषयमा नापी प्रमुख मिश्र भन्छन्, ‘जहाँको भए पनि मालपोत कार्यालयका कर्मचारीमा के समस्या छ भने उनीहरू एक्सपर्ट हुँदैनन् । एउटाबाट अर्को सेवा समूहमा आउँदा जग्गा प्रशासन सम्बन्धी बुझेका हुँदैनन् । मुख्यतः त्यही कारण ठूलो समस्या भएको छ । मालपोतमा जति डकुमेन्ट छ, सबै नापीले बनाएर दिएको हुन्छ । त्यसलाई लागू गर्न त समस्या नै छैन । तर अनुभव नभएर समस्या भइरहेको छ ।’

पछिल्लो पटक २०७७ मंसीर ११ मा नापी कार्यालय प्रमुख मिश्रले मालपोत कार्यालयलाई श्रेस्ता लागू गर्न पत्राचार समेत गरेका छन् । तर मालपोत कार्यालयले हालसम्म कुनै जवाफ फर्काएको छैन ।

सरकारले नै विगतमा गाउँ ब्लकको जग्गा प्रक्रिया पु¥याएर सम्बन्धित व्यक्तिलाई धनीपुर्जा दिने निर्णय गरेको थियो । त्यसपछि नै नापी कार्यालयले नापी शुरू गर्यो । जग्गा नापी गर्न पनि सरकारको करोडौं रुपैयाँ लगानी भएको देखिन्छ । तर मालपोत कार्यालयको बदमासीले धनुषाका ४० हजारभन्दा बढी व्यक्तिको जीवनसँग खेलबाड भएको छ । अन्य जिल्लामा भने यस्तो समस्या छैन ।

राजश्व गुम्दै

गाउँ ब्लकको जग्गा मालपोतले लागू नगर्दा सरकारले वर्षेनि करोडौं रुपैयाँ राजश्व समेत गुमाइरहेको छ । नापी प्रमुख मिश्र भन्छन्, ‘मालपोतले लागू गरेको भए जग्गा खरीदबिक्रीबाट पनि सरकारलाई करोडौं राजश्व आउँथ्यो । तर अहिले आइरहेको छैन ।’ अहिलेका मालपोत प्रमुख सकारात्मक रहेको र लागू गर्न विभागमा पत्र पठाएको भन्ने जानकारी गराएको उनले बताए ।

गाउँ ब्लक जग्गा लागू नभएको विषयमा बुझ्न एक सातादेखि मालपोत कार्यालय धाए पनि मालपोत प्रमुख वासुप्रसाद कोइराला अफिसमा भेटिएका छैनन् । एक कर्मचारीले भने, ‘मालपोत प्रमुख सर अफिस आउन त आउनुहुन्छ तर कतिबेला कहाँ जानुहुन्छ थाहा भएन ।’ कोइरालाले फोन समेत रिसिभ गरेका छैनन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *