कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ? – Nepal Press

कोरोना खोप अभियान भारतमा पनि शुरु, नेपालमा कहिले ?

काठमाडाैं । भारतले कोरोनाविरुद्धको खोप तयार गरिरहेको दुई वटा कम्पनीलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै नेपालमा पनि कोरोना खोप आउने सम्भावना बढेको छ ।

भारत सरकारले आइतबार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको ‘कोभिसिल्ड’ नामक खोप र भारत बायोटेक र भारतीय औषधि अनुसन्धान परिषद्ले विकास गरेको ‘कोभ्याक्सिन’ नामक खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ ।

भारतमा जनवरी दोस्रो सातादेखि यी खोपको प्रयोग शुरु हुनेछ । पहिलो चरणमा स्वास्थ्यकर्मी र अग्रभागमा रहेर काम गरिरहेका कर्मचारीलाई प्रदान गरिनेछ भने तीन करोड नागरिकलाई खोप अभियानमा निःशुल्क समावेश गराइनेछ ।

भारतले कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्दा नेपालले पनि खोप उपलब्ध गराइदिन भारतलाई अनुरोधसहितको पत्राचार गरेको छ । नेपालका लागि भारतीय राजदूतसँग स्वास्थ्यमन्त्रीले भेटघाट गरेका छन् भने भारताका लागि नेपाली राजदूतले नेपाललाई खोप उपलब्ध गराउन भारत सरकारका अधिकारी र खोप उत्पादक कम्पनीका अधिकारीसँग भेटवार्ता गरेका छन् ।

नेपालमा अग्रभागका कर्मचारी र स्वास्थ्यकर्मीका लागि १ करोड २० लाख डोज खोपको मागसहित भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले खोप उत्पादक कम्पनी सेरमका अधिकारीहरुसँग भेट गरेको जानकारी नेपाल प्रेसलाई दिएका छन् ।

राजदूत आचार्यले भने– ‘संसारको सबैभन्दा ठूलो खोप कम्पनी सिरम इन्स्टिच्युट भारतमै छ । उसले अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकाले तयार पारेको कोभिसिल्ड नामक खोप उत्पादन गरिरहेको छ । हामीले पनि खोप उपलब्ध गराउन भारत सरकार र कम्पनीलाई समेत अनुरोध गरेका छौं’ राजदूत आचार्यले भने, ‘सेरमका अधिकारीले नेपाललाई खोप उपलब्ध गराउने बारे सरकारबाटै कुरा आएकोले नेपाललाई प्राथमिकतामा राखेको बताएका छन् । भारतले नेपाललाई पनि छिट्टै खोप उपलब्ध गराउने छ भन्नेमा हामी आशावादी छौं ।’

भारतले उत्पादक कम्पनीसँग खोप खरीद गर्दा नेपालका लागि पनि २० प्रतिशत जनसंख्यालाई पुग्ने गरी खरीद गर्ने र सोको भुक्तानी नेपालले भारत सरकारलाई गर्ने गरी सरकारले भारतसँग छलफल भइरहेको बताइएको छ ।

खोपले अनुमति पाउनुअघि नै भारत सरकारले आफ्ना जनतालाई विशेष खोप अभियानको तयारी पूरा गरेको छ । खोप अभियानका लागि खोप उत्पादनस्थलदेखि खोप लगाइने स्थान सम्म पुर्‍याउन कार्गो जहाज र भ्यान तयारी अवस्थामा राखिएको छ ।

खोप कार्यक्रमको तयारीको परीक्षण स्वरुप शनिबार भारतभरि खोप अभियानको ‘ड्राई रन’ गरिएको थियो ।

नेपालमा हालसम्म खोप कहिले ल्याउने भन्ने समेत टुंगो छैन । बेलायतमा पहिलोपल्ट खोपको प्रयोगभए यता नै नेपालले पनि खोप ल्याउने प्रयास गरिरहेको बताएको छ । खोपको भण्डारण र व्यवस्थापनका लागि सबै प्रदेशमा गरी ८ करोड रुपैयाँ विनियोजन पनि गरिएको छ । पूर्वाधार निर्माण भने सुरु भएको छैन ।

खोप ल्याएपछि पहिलो चरणमा को लाभान्वित हुने भन्ने स्पष्ट कार्ययोजना अझै बनेको छैन । कतिपय देशले उत्पादन कम्पनीलाई अग्रिम भुक्तानी गरी आफूलाई आवश्यक खोप उपलब्ध गराउन पहल गरिरहेका छन् । नेपाल भने उत्पादक देशसँग अनुदान माग्ने रणनीतिमा छ ।

भारतले प्रयोग अनुमति दिएको अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाद्वारा विकास गरिएको सेरम कम्पनीले उत्पादन गरिरहेको ‘कोभिसिल्ड’ नामक खोप नेपालको लागि उपयुक्त हुने खोप विज्ञ डा. श्याम उप्रेती बताउँछन् ।

उनका अनुसार उक्त खोप २ देखि ८ डिग्री तापक्रममा भण्डारण गर्न सकिने हुँदा नेपालमा अहिले भएकै खोप भण्डारण पूर्वाधार प्रयोगमा ल्याउन सकिन्छ र मूल्यको हिसाबमा पनि सुलभ छ ।

कोभिसिल्ड खोप दुई डोजको नेपाली मूल्य ४०० देखि ६०० मा कम्पनीले सरकारलाई उपलब्ध गराउन सक्नेछ । नेपालसँग खोप एक ठाउँबाट अर्को ठाउँमा लैजाने दुईवटा मात्रै खोप रेफ्रिजेरेटर भ्यान छ । रेफ्रिजेरेटर भ्यान थप्नेतर्फ पनि स्वास्थ्य मन्त्रालयले अहिलेसम्म ध्यान दिएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर