मनहरीकी उपाध्यक्ष भन्छिन्ः राजीनामा दिएको छैन, कर्मचारीले फसाए – Nepal Press
नेपाल टक

मनहरीकी उपाध्यक्ष भन्छिन्ः राजीनामा दिएको छैन, कर्मचारीले फसाए

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा विभाजन आएसँगै त्यसको विवाद स्थानीय सरकारमा पनि देखिन थालेको छ । त्यसको एउटा सानो झिल्को मकवानपुरको मनहरी गाउँपालिकामा देखिएको छ । गाउँपालिकाकी उपाध्यक्ष मनिला बिष्टले राजीनामा दिएपछि अध्यक्ष एकराज उप्रेतीले त्यसलाई स्वीकृत गरेको भन्ने खबरहरु आए पनि त्यो यथार्थ नभएको उपाध्यक्षले बताएकी छिन् । उपाध्यक्ष बिष्ट आफूले राजीनामा नै नदिएको बताउँछिन् ।

विवादबारे बुझ्न नेपाल प्रेसले विष्टसँग गरेको संक्षिप्त कुराकानीः

तपाईंले राजीनामा दिएको भन्ने आइरहेको छ । खास कुरा के हो ?

मैले राजीनामा दिएको छैन । नदिएको कुरालाई दिएको छु भनेर म हिंड्न सक्दिनँ ।

तपाईंले नै राजीनामा नदिई अध्यक्षले स्वीकृत गरेको भन्ने कुरा कसरी आयो ?

एउटा कर्मचारीको कुरा जोडेर अध्यक्षसँग एक वर्षदेखि विवाद भइरहेको थियो। यद्यपि, यही कुरालाई लिएर अध्यक्ष र मबीच भनाभन भएको छैन । उहाँको छोरा र एकजना कर्मचारीले एक वर्षदेखि ममाथि षड्यन्त्रमूलक काम गर्दैै आइरहनुभएको थियो।

विवादको विषय के थियो ?

कार्यालयमा अनियमितता हुने, तोकिएको समयमा काम नहुने । महिलालक्षित कार्यक्रमलाई धरापमा राख्ने । न्यायिक इजलास चलाउन नदिने जस्ता काम हुँदै आएको थियो । त्यही विवादका कारण यसअघि पनि मलाई एउटा कर्मचारीले गलत कागजमा सही गराएर फसाइरहेको थियो।

कतिपय विधि/विधान हामी अक्षरशः पढ्न पनि भ्याउँदैनौं । तर, त्यो कुरा मैले तुरुन्तै थाहा पाएर त्यो कर्मचारीले मेरै अगाडि च्यातेका थिए । अहिले पनि यिनीहरुले त्यस्तै षड्यन्त्र कतै गरेको हो कि भन्ने मलाई लागेको छ । मलाई एउटा कर्मचारीमाथि शंका छ ।

पहिले त तपाईंहरु एउटै पार्टीको हुनुहुन्थ्यो । त्यति हुँदाहुँदै पनि विवाद चाहिं किन हुन्थ्यो ?

अहिले विवाद भएकै छैन । पहिले न्यायिक इजलासको काम सम्पादन गर्ने क्रममा धेरै कुरामा बन्देज गर्दै आएकाले विवाद भएको थियो । एउटा कर्मचारी आउनुभन्दा अगाडि असाध्यै सौहार्दपूर्ण वातावरण थियो । त्यो कर्मचारी आएपछि उसले गरेका गलत गतिविधिहरु फेला पारेको छु ।

म जनताको अभिमतबाट आएकी जनप्रतिनिधि हुँ । लामो समयदेखि महिला र बालबालिकाको क्षेत्रमा काम गर्दैै आएकी छु । मैले यस्ता थुप्रै संघर्ष गर्दैै आएकी छु, रुपान्तरणका लागि ।

तपाईंको राजीनामा स्वीकृत भयो भनेर कार्यालयबाट कुनै जानकारी आएको छ ?

केही जानकारी आएको छैन। मैले त्यहाँका कार्यकारी प्रमुख अधिकृतलगायतका कर्मचारीलाई के छ त प्रमाण ? यो कुरा कसरी आयो ? भन्दा उहाँहरुले कुनै प्रमाण दिन सक्नुुभएको छैन । उहाँहरुले कुनै पनि कुरा मलाई दिन सक्नुभएको छैन ।

यदि अध्यक्षबाट तपाईंको राजीनामा नभएरै पनि स्वीकृत भएको रहेछ भने के गर्नुहुन्छ ?

म कानूनी उपचार खोज्छु । यदि न्याय मरेको रहेनछ यो देशमा भने मैले न्याय पाउँला । म त कानूनी उपचारमै जान्छु ।

अहिले तपाईंको पार्टी विभाजित भएको छ । यो कुराले पनि केही भूमिका खेलेको हो कि ?

म अहिले कुनै पक्षमा पनि छैन । म खुलेर कसैको गुटमा गएको पनि छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर