वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ? – Nepal Press
सट्टेबाजी सिरिज-४

वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

कनेक्ट आइपिएस, आइएमई पे, खल्ती र एनआईसी एसिया बैङ्कबाट हुन्छ अवैध कारोबार

काठमाडौं । गैरकानूनी हो भन्ने थाहा हुँदाहुँदै पनि नेपाली युवा र बालबालिकालाई समेत समेटेर व्यापक सञ्जाल विस्तार गरिरहेको अवैध बेटिङ कम्पनी ‘वान् एक्स बेट’को कारोबारलाई पेमेन्ट प्लेटफर्महरूले अनदेखा गरेर अवैध धन्दामा सघाएको पाइएको छ ।

खल्ती, आईएमई पे, कनेक्ट आईपीएस र एनआईसी एशिया बैंकले अवैध रुपमा विदेश पैसा पठाउने धन्दालाई नदेखेझैँ गरेको पाइएको हो । नेपाल प्रेसलाई प्राप्त तथ्य र जानकारी अनुसार अहिले ९५ प्रतिशतभन्दा धेरै वान् एक्स बेटको कारोबार खल्ती डिजिटल वालेटबाट भइरहेको छ ।

“वान् एक्स बेटमा पेमेन्ट प्रोसेस गर्दा आउने एजेन्टका अकाउन्टहरूमा धेरै व्यावसायिक अकाउन्टहरू पाइन्छ,” स्रोतले भन्यो, “पुस्तक पसल, कपडा पसल, मोबाइल पसल र केही व्यक्तिगत मानिसको खल्ती आईडी त्यहाँ आउने गरेको छ ।”

त्यस्तै, युट्युबका कन्टेन्ट क्रिएटरहरूलाई दिने पैसा पनि वान् एक्स बेटका एजेन्टमार्फत खल्तीको प्रयोग गरेर हुने गरेको पाइएको छ ।

पेमेन्ट प्लेटर्फ: कसैलाई थाहै छैन, कोही सम्पर्कविहीन

“मलाई प्रति भिडियो २०० अमेरिकी डलर दिने गरेको छ” एक कन्टेन्ट क्रिएटरलाई उद्धृत गर्दै स्रोतले भन्यो, “यसका लागि खल्तीको अकाउन्ट मागेको छ । र, सोही अकाउन्टमा विभिन्न एजेन्टको माध्यमबाट रकम भुक्तानी हुने गरेको छ।”

तर, यस बारे पटक–पटक एनआईसी एशिया बैंक र खल्तीलाई यसबारे जानकारी दिंदा पनि कसैले ध्यान नदिएको र नदेखेझैं गरेको स्रोतले बताएको छ।

यो गैरकानूनी काम आफ्नो प्लेटफर्मको माध्यमबाट भइरहेको बारे खबर नै नभएको ‘आईएमई पे’का मिडिया तथा जनसम्पर्क प्रमुख राजु पौडेल बताउँछन्।

“हामीलाई यस्तो भइरहेको थाहै थिएन । यद्यपि, मलाई मात्रै थाहा नभएको पनि हुनसक्छ, ” पौडेलले नेपाल प्रेससँग भने, “यसबारे हामी हेरेर थाहा पाउने बित्तिकै एक्सन लिन्छौं । हामी अहिले सबै काठमाडौं बाहिर छौं । काठमाडौं फर्किएर पहिलो काम नै त्यही गर्छौं ।”

यस्तो कार्यका लागि आईएमई पेले प्रोत्साहन नगर्ने उनले बताए । “हामी यस्तो कुनै पनि गैर कानूनी कार्यका लागि हाम्रो प्लेटफर्म प्रयोग गर्न दिंदैनौं ”, उनले नेपाल प्रेससँग भने ।

तर, सर्वाधिक प्रयोग भइरहेको खल्तीले भने यसबारे निगरानी गरेर कारबाहीका लागि राष्ट्र बैंकमा एउटा पत्र पठाइसकेको फाइनान्स हेड अरुण साहले जानकारी दिएका छन् ।

“वान् एक्स बेटले यसरी हाम्रो प्लेटफर्म प्रयोग गरिरहेको हामीले शंका गरेर केही अकाउन्टहरूमाथि निगरानी बढाएका छौं,” साहले नेपाल प्रेससँग भने, “कुनै पनि सम्झौता भएर व्यावसायिक कार्य खल्ती र वान् एक्स बेटबीच भएको होइन । उनीहरूले लुकाएर व्यक्तिगत अकाउन्टबाट मात्रै रकम ट्रान्जेक्सन गरिरहेका छन् ।”

तर, साहले व्यक्तिगत अकाउन्टबाट मात्रै ट्रान्जेक्सन भइरहेको दाबी गरे पनि स्रोतले दिएको जानकारी अनुसार व्यक्तिगतभन्दा व्यावसायिक अकाउन्टबाट धेरै ट्रान्जेक्सन भइरहेको छ ।

“काठमाडौं, वीरगञ्ज, प्युठान, तानसेन जस्ता स्थानमा रहेका विभिन्न मोबाइल पसल, पुस्तक पसल, ईडिभी भर्ने स्टेसनहरूका खल्ती अकाउन्टहरू वान् एक्स बेटमा सर्वाधिक रहेको पाइन्छ,” स्रोतले भन्यो, “काठमाडौं मात्रै नभएर वान् एक्स बेटको बेटिङ नेटवर्कको जालो देशैभर फैलिएको अनुमान गर्न सकिन्छ ।”

तर, व्यावसायिक अकाउन्टबाट धेरै ट्रान्जेक्सन भइरहेको अवस्थाबारे खल्तीका फाइनान्स हेड साहलाई प्रश्न गर्दा त्यस्ता अकाउन्टहरूलाई सस्पेन्ड गर्नेसम्म कार्य भइरहेको बताए । र, अहिले पनि ट्रान्जेक्सनको गतिविधि हेरेर शंकास्पद अकाउन्टप्रतिको निगरानी बढाएको साहले जानकारी दिए ।

यो विषयमा ईसेवाले शंकास्पद ट्रान्जेक्सन भएका अकाउन्टलाई निगरानी गरेर ‘जिरो टोलोरेन्स’ शैली अपनाएर अकाउन्ट नै ब्लक गरिरहेको चिफ अपरेटिङ अफिसर रोशन लामिछाने बताउँछन् ।

“हामीले लकडाउनको सुरुआतदेखि नै यस्तो कारोबार भइरहेको पाएका थियौं, त्यसपछि निगरानी गरेर राष्ट्र बैंकलाई जानकारी गरायौं र केन्द्रीय अनुसन्धान ब्युरोलाई पनि खबर गरेका छौं” उनले भने, “अहिले हामीसँग मोनिटर गर्ने सिस्टम छ, वान् एक्स बेट कसैले ट्रान्जेक्सनमा मेन्सन गर्‍यो भने सिस्टमले ट्रयाक गर्छ र हामी अकाउन्ट ब्लक गर्छौं ।”

ईसेवा पनि यो अवैध सट्टेबाजीका लागि प्रयोग भइरहेको जानकारी पाउने बित्तिकै वान् एक्स बेटलाई पनि यस्तो कार्य रोक्न भनेको र सीआईबीलाई जानकारी दिएको उनले बताए ।

उनले भने– त्यसपछि हामी धमाधम यस्तो कार्यमा संलग्न अकाउन्टलाई ब्लक गरेर पैसा होल्ड गर्ने गरेका छौं । यसबारे हामीले नियमन निकायसँग सल्लाह पनि गरिरहेका छौं ।

पछिल्लो समय बहुचर्चित फन्ड ट्रान्सफर प्लेटफर्म ‘कनेक्ट आईपीएस’को समेत यसमा प्रयोग हुन थालेको छ । तर, यसबारे केही पनि जानकारी नभएको कनेक्ट आईपीएसकी मार्केटिङ हेड नीति जोशी बताउँछिन् ।

“हाम्रो प्लेटफर्मबाट यस्तो गैरकानूनी कार्य पनि भइरहेको छ भन्ने हामीलाई थाहा नै थिएन,” कनेक्ट आईपीएसकी मार्केटिङ हेड नीति जोशीले नेपाल प्रेससँग भनिन्, “थाहा भएको भए हामी यसबारे एक्सन लिइसक्थ्यौं ।”

यसरी सेवा प्रदायकले नै अन्जान भएर बस्दा दैनिक लाखौं रकम विदेशिने क्रमले अझै बढावा पाएको यस क्षेत्रका जानकारले नेपाल प्रेसलाई जानकारी दिए ।

“आफ्नो सर्भिसबाट कसले के प्रयोजनका लागि रकम ट्रान्सफर गरिरहेको छ भन्ने सम्पूर्ण जानकारी सेवा प्रदायकलाई हुन्छ” स्रोतले नेपाल प्रेससँग भन्यो, “रकम ट्रान्सफर गर्ने प्लेटफर्महरूले आफ्नो कम्पनीको गलत प्रयोग र प्रयोगको सम्भावनाबारे सतर्क रहनुपर्छ । के भइरहेको छ थाहा हुनुपर्छ । जानकारी राख्न नसक्नु र अञ्जान बनेर बस्नु उनीहरूको कमजोरी हो ।”

यसै रूपमा प्रयोग भइरहेको एनआईसी एशिया बैंकले यसबारे जानकारी पाएको छ कि छैन भनेर प्रतिक्रिया लिनका लागि प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पटक–पटक फोन र एसएमएस गर्दा पनि सम्पर्कमा आउन चाहेनन् ।

यसबाट आफ्नो बैंकको खाता प्रयोग गरेर भइरहेको अवैध कामको बारेमा मौन बस्ने एनआईसी एशिया बैंकलाई खबर नै नभएको होइन । सामाजिक सञ्जाल फेसबुकको पेज र ह्वाट्सएपमा पनि म्यासेज गर्दा यसबारे जानकारी लिएको तर केही नगरेकोे स्रोतले बताएको छ ।

“मैले फेसबुक पेज र ह्वाट्सएपमार्फत पनि यसरी एनआईसी एशिया बैंककाे प्रयोग भइरहेको भनेर स्क्रिनसट सहित म्यासेज गर्दा पनि केही फलोअप भएन” स्रोतले भन्यो, “गैरकानूनी कार्य भएको थाहा पाएर पनि यसबारे जान्ने र थप बुझ्ने कोशिश नहुनु भनेको देखेर पनि नदेखेझैं गर्नु नै हो ।”

त्यसो त यो विषयमा वान् एक्स बेट निकट स्रोतले पनि एजेन्टलाई बैंक तथा पेमेन्ट प्लेटफर्मको केही पनि डर नहुने बताएको छ ।

“२०१८ देखि नेपालमा वान् एक्स बेटको कारोबार भइरहेको छ । २०१९ को मध्यदेखि ईसेवा खल्ती जस्ता डिजिटल वालेट प्रयोग हुन थाले” स्रोतले भन्यो, “तर, यसबारे खासै कुरा बाहिरै आउँदैन । कसैसँग निजी दुश्मनी भए मात्रै पेमेन्ट प्लेटफर्मले आफूविरुद्ध कारबाही गर्छ ।”

यसरी राष्ट्र बैंककाे प्रत्यक्ष निगरानीमा रहेका डिजिटल वालेट र बैंकले नै खुलेआम गैरकानूनी भइरहेको देखेर पनि नदेखेझैं गर्नुले वान् एक्स बेटलाई मौन समर्थन गरेको इङ्गित गर्छ ।


प्रतिक्रिया

One thought on “वान् एक्स बेटको सट्टेबाजीमा कुन बैंक र डिजिटल वालेटको साथ ?

  1. waha bidesh ma ads garera nai legal service deko Bela hamra batuwa haru lai chahi k commission chaheko hola ni ta.

Leave a Reply to bahadur bayalkoti Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर