प्रधानमन्त्री ढुक्क- प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, सूर्य चिह्न अन्त जाँदैन – Nepal Press

प्रधानमन्त्री ढुक्क- प्रतिनिधिसभा पुन:स्थापना हुँदैन, सूर्य चिह्न अन्त जाँदैन

काठमाडौं । पार्टी विभाजनपछि प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियता एकाएक ह्वात्तै बढेको छ । बालुवाटारबाट सिंहदरबारसमेत नजाने प्रधानमन्त्री अचेल दिनहुँ पार्टी कार्यकर्तालाई उत्साह भर्न मैदानमा उत्रिन थालेका छन् ।

प्रधानमन्त्रीले कार्यक्रमहरुबाट स्पष्ट रुपमा दुई सन्देश दिन खोजेका छन्- पहिलो कुरा प्रतिनिधिसभा पुन:स्थापना हुँदैन । दोस्रो चाहिं नेकपाको आधिकारिकता र सूर्य चिन्ह आफ्नै नेतृत्वको पार्टीले पाउँछ ।

शनिबार ओली काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलामा अझ प्रष्ट रुपमा प्रस्तुत भए । उनले प्रतिनिधिसभा विघटन संविधान अनुसार नै गरेको भन्दै पुन:स्थापना हुन्छ कि भन्ने भ्रम कत्ति पनि नपाल्न कार्यकर्तालाई निर्देशन दिए ।

ओलीले भने–कतिपय साथीहरुमा प्रतिनिधिसभा पुन:स्थापना हुन्छ कि भन्ने अन्याेल पनि रहेछ । दुई चारजनालाई झुक्याउन अरुले भन्दैछन् । तर देश चुनावमा गइसक्यो । ६४ प्रतिशत बहुमत प्राप्त दलको नेताले म सरकार चलाउँदिन, ताजा जनादेशमा जान्छु भनेपछि पुन:स्थापना गरेर कहाँ पठाउने ? ३६ प्रतिशतले सरकार बनाउन सक्छ ? त्यसैले यो भ्रममा कोही नबसौं ।

ओलीले संविधानको धारा ७६ को उपधारा ७ अनुसार प्रतिनिधिसभा विघटन भएको भन्दै बहुमतको सरकारले विघटनको सिफारिश गरिसकेपछि अर्को सरकार बन्ने अवस्था थियो भन्ने कुरालाई संविधानले नचिन्ने दाबी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षले सरकार र पार्टी विघटन गरेर प्रतिगमन गर्न लागेपछि राष्ट्रको बाँकी अवधि खेर जान नदिन चुनाव गर्नुपरेको बताए ।

ओलीले भने– घरवाला भन्दैछ छानो चुहियो अर्को बनाउँछु, पुरानै छानो चाहियो भनेर छिमेकी कराउँछ भने त्यसको कुनै अर्थ छैन । छिमेकीले पुरानै छानो चाहियो भन्नु खरका टुक्रा खोजे जस्तै हो प्रतिनिधिसभा पुन:स्थापना ।

ओली र रामबहादुर थापा बादलले प्रचण्ड–माधव नेपालको नेतृत्वमा हुन लागेको प्रतिगमन तथा प्रतिक्रान्तिलाई रोक्न प्रतिनिधिसभा विघटनको विकल्प थिएन भन्ने तर्क गरेका छन् । आफ्नो सरकार ढालेर पार्टी फुटाएर बाह्य तत्वसँग साँठगाँठ गरेपछि उनीहरुको योजना असफल पारिएको दुवै नेताले बताए ।

प्रतिनिधिसभा पुन:स्थापनाको माग राखेर प्रचण्ड–माधव नेपाल पक्षले दोस्रो चरणको सडक आन्दोलनका कार्यक्रम घोषणा गरिरहँदा ओलीले प्रश्न गरे– कसले भन्यो पुन:स्थापना हुन्छ भनेर ? दुई चारजनालाई झुक्याउन त पाइयो । मुद्दा मामिला गर्न पनि पाइयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर