‘फोन ट्यापिङ’ भइरहेको हो भने यो गम्भीर फौजदारी अपराध हो’ – Nepal Press

‘फोन ट्यापिङ’ भइरहेको हो भने यो गम्भीर फौजदारी अपराध हो’

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देवले सरकारले ‘फोन ट्यापिङ’ गरिरहेको कुरा आएको भन्दै त्यो गम्भीर फौजदारी अपराध भएको बताएका छन् ।

शुक्रबार राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘भर्खरै परिषद् बाट निस्कनुभएका एकजना नेताले भन्नुभएको छ–केही दिनदेखि सरकार नेपालका आफ्ना विरोधी नेताहरुको फोन ट्यापिङमा लागेको छ’ उनको भनाइ थियो, ‘यदि यो हो भने गैरकानूनी, असंवैधानिक र फौजदारी अपराध अन्तर्गत जाने कुरा हो ।’

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव पक्ष)ले १४ पुसमा देशभर आयोजना गरेको विरोधसभा कार्यक्रम अन्तर्गत रोल्पाको सभालाई सम्बोधन गर्दै नेता वर्षमान पुनले यो विषय उठाएका थिए । उनले विपक्षी नेताहरुको सरकारले फोन ट्यापिक गरिरहेको आरोप लगाएका थिए।

देवले सरकारले ४० करोडमा फोन ट्यापिङ गर्ने मेसिन किनिसकेको कुरा आएको पनि बताए । उनले भने, ‘दुई/तीन दिनदेखि मिडियामा व्यापक आइरहेको छ। भर्खरै मन्त्रिपरिषद्बाट बाहिरिनुभएका एकजना साथीले यो कुरा उठाउनुभएको छ। एउटा पेपरले त लेखिसक्यो ४० करोडमा नेपाल सरकारले फोन ट्यापिङ गर्ने मेशिन खरिद गरेको छ ।’

उनले यसबारे सरकारसँग जवाफ समेत मागेका छन्। ‘होइन भने राम्रो हो’ उनको भनाइ छ, ‘यो के हो ? मिडियामा आइसकेको छ । एउटा पूर्व मन्त्रीले भन्नुभएको छ, सत्ता पक्षका नेताले भन्नुभएको छ– फोन ट्यापिङ भइरहेको छ । यसबारेमा म नेपाल सरकारसँग जवाफ माग गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर