राष्ट्रियसभा बैठक आज- नेकपा सांसदको मन विभाजित, दल विभाजन बाँकी – Nepal Press

राष्ट्रियसभा बैठक आज- नेकपा सांसदको मन विभाजित, दल विभाजन बाँकी

काठमाडौं । प्रतिनिधिसभा विघटन भए पनि संघीय संसदमा राष्ट्रियसभा जीवितै छ । दुई कारणले आज बस्ने राष्ट्रियसभाको बैठक धेरैका लागि रुचीकर छ ।

पहिलो, प्रतिनिधिसभा विघटन भएकाले संघीय संसदको एकमात्र जिवित सदनका रुपमा राष्ट्रिय सभाको पहिलो बैठक बस्दैछ ।

दोस्रो, प्रतिनिधिसभा विघटनको घटना पश्चात सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा समेत विभाजन आएकाले सदनमा कसरी प्रस्तुत होला भन्ने प्रश्न छ ।

दलको प्रतिनिधि साझा

राजनीतिक रुपमा ओली र प्रचण्ड-माधव गरी दुई पक्षमा नेकपा औपचारिक रुपमै विभाजन भइसकेको छ ।

प्रचण्ड-माधव नेपाल पक्षले विघटित प्रतिनिधिसभामा दलको नेता चयन गरिसकेको छ । तर, राष्ट्रियसभामा अहिलेसम्म दिनानाथ शर्मा नेकपा संसदीय दलको नेता छन् ।

बैठकमा दुवैपक्ष कसरी प्रस्तुत होलान भन्ने चासो छ । राष्ट्रियसभाको बिहीबार बसेको कार्यव्यवस्था समितिको बैठकले सुरुमा सभाभित्र प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिले सम्बोधन गर्ने कार्यसूची तय गरेको छ ।

हाललाई नेकपाका दुवै पक्षले दलका प्रतिनिधिका रुपमा संसदीय दलका नेता शर्माले नै बोल्ने बताएका छन् ।

राष्ट्रियसभामा प्रमुख सचेतक समेत रहेका ओली पक्षीय सांसद खिमलाल भट्टराईले दलका नेताले नै आजको बैठकमा सम्बोधन गर्ने बताएका छन् ।

‘अहिलेसम्म संसदीय दलका नेताले नै सम्बोधन गर्ने भन्ने छ,’ भट्टराईले नेपाल प्रेससँग भने, ‘त्यो बाहेक अहिले अरु खासै केही कुरा भएको छैन् ।’

प्रचण्ड-माधव पक्षका सांसद वेदुराम भुसालले पनि संसदीय दलको नेताले नै नेकपाको प्रतिनिधित्व गर्ने बताए । ‘हाम्रो दलको नेता दिननाथ शर्मा हो,’ भुसालले नेपाल प्रेससित भने, ‘उहाँले नै हामो प्रतिनिधित्व गर्नुहुन्छ ।’

शर्माले आफू कतैतिर नलागेको बताएका छन् । तर, भुसालले भने उनी आफूहरुको पक्षमा रहेको दावी गरे ।

‘उहाँ हाम्रो पक्षको हो,’ उनको भनाइ छ, ‘उहाँ हाम्रो संदीय दलको नेता हो । केन्द्रीय कमिटी बैठकमा पनि आउनु भएको छ । निर्वाचन आयोगमा पनि उहाँको हस्ताक्षर र नागरिकता गइसकेको छ ।’

यसअघि सदन संचालनअघि दलको बैठक बस्ने प्रचलन थियो । विभाजनको मारमा परेकाले होला, यसपाली नेकपा संसदीय दलको बैठक बसेको छैन् ।

भट्टराई र भुसाल दुवैजनाले संसदीय दलको बैठक बस्नेबारे आफूहरुलाई कुनै जानकारी नभएको बताए ।

‘मान्य सदस्यहरु धेरैजसो बाहिर हुनुहुँदो रहेछ,’ संसदीय दलको बैठक नबसेकोबारे दलको नेता समेत रहेका शर्माले भने, ‘ बैठकपछि त्यसबारे कुरा हुन्छ ।’

मन विभाजित, दल विभाजन बाँकी

कानुनी पृष्ठभूमि समेत रहेका सांसद रामनाराण बिडारी बाहिर आफ्नो पार्टी फुटे पनि अहिलेसम्म दल विभाजन नभएको बताउँछन् ।

‘अहिले पार्टी विभाजन भएर संसदमा दुईटा पार्टी आएको छैन्, नेकपा मात्रै छ,’ बिडारीले भने, ‘राष्ट्रियसभामा नेकपाको संदीय दलको नेता एउटै हुनुहुन्छ । प्रमुख सचेतक एउटै पनि एउटै हुनहुन्छ ।’

शर्मा चाहिं मन विभाजन भए पनि दल विभाजन नभएको बताउँछन् । ‘औपचारिक रुपमा दल विभाजन नभइसकेको सन्दर्भ हो अहिले,’ उनको भनाइ छ, ‘मन बाँडिएका छन् । संगठनमा पनि आआफ्ना गुट अलग–अलग भएका छन् । संसदभित्र त जबसम्म निर्वाचन आयोगले पार्टी दर्ता गरेर चुनाव चिन्ह दिँदैन्, त्यो बेलासम्म हामी एउटै हुन्छौं ।’

यद्यपि उनी आआफ्ना पक्षका विचार राख्न सांसदहरु स्वतन्त्र भएको बताउँछन् । ‘सबै मान्यसदस्यहरुका आफ्नो स्वतन्त्र विचार हुन्छ,’ शर्मा भन्छन्, ‘आआफ्नो पक्षका कुरा राख्न उहाँहरु स्वतन्त्र हुनुहुन्छ ।’

बिडारी राष्ट्रियसभामा अहिलेका सबै समसामयिक विषयमा कुरा उठ्ने बताउँछन् । ‘सबै कुरा उठ्छ,’ उनी भन्छन्, ‘जल्दाबल्दा राजनीतिक, आर्थिक, समाजिक समस्या उठ्छन् । राष्ट्रियसभा पनि संघीय संसद हो ।’

राष्ट्रियसभामा विभाजित नेकपाका दुवै पक्षले आफ्नो स्वतन्त्रत अस्तित्व देखाउन खोजे के गर्ने भन्ने बारेमा भने सदन संचालकहरु प्रष्ट देखिएका छ्रैनन् ।

राष्ट्रियसभाका उपाध्य शशिकला दाहाल त्यस्तो अवस्थाबारे कुनै छलफल नभएको बताउँछिन् । ‘आजको कार्यव्यवस्था समितिको बैठकमा त्यो विषयमा केही कुरा भएको छैन,’ दाहालले भनिन्, ‘त्यो त भोलि नै गएर थाहा हुने कुरा हो ।

मन्त्रीहरुले विषयगत अध्यादेशहरु टेबुल गर्नुहुन्छ । त्यसपछि दलका नेताहरुले बोल्ने र शोकसभा मनाएर बैठक अन्त्य गर्ने कार्यक्रम छ ।’

कार्यसूची र विधेयकको अवस्था

आज दिउँसो चार बजे बस्ने बैठकका कार्यसूची तय गर्न बिहीबार वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

बैकठले अधिवेशनको पहिलो बैठक भएकाले राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट दलका नेताहरुले सुरुमै मन्तव्य राख्ने कार्यसूची तय गरेको छ ।

त्यस्तै अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिको पत्र, मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र र केही अध्यादेशहरु पनि पहिलो बैठकका कार्यसूची छन् ।

त्यस्तै थारु आयोग, मधेशी आयोग, राष्ट्रिय सुरक्षा परिषद्, राज्यका निर्देशक सिद्धान्त नीति र दायित्व सम्बन्धी संवैधानिक आयोगका प्रतिवेदनहरु पनि बैठकमा पेस हुने छन् ।

राष्ट्रियसभा अहिले ९ वटा अध्यादेश विचाराधिन छन् । त्यस्तै विभिन्न समितिमा विधेयक विचाराधिन छन् ।

छैटौं अधिवेशनमा पेस भएका १३ वटा विधेयक पनि पारित हुन बाँकी छन् ।

राष्ट्रियसभाका अध्यक्षले भने यो विधेयक अधिवेशन भए पनि धेरै दिन सभा संचालन नुहने बताएका छन् ।

‘राष्ट्रियसभा बैठक ६ महिना भित्र बस्नुपर्ने एउटा संवैधानिक व्यवस्था हो,’ नेसनल न्यूज एजेन्सीसँगको कुराकानीमा उनले भनेका छन्, ‘त्योअनुसार अहिले हामी बस्न गइरहेका छौं । अब आएका विधेयकहरुमाथि छलफल गर्ने हुन्छ । यो अधिवेशन लामो समय भने जाँदैन ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर