गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद छैटाैं पटक थपिंदै – Nepal Press

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको म्याद छैटाैं पटक थपिंदै

रुपेन्देही । पाँच पटक म्याद थप गरिसकेकाे भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको म्याद बिहीबार सकिएकाे छ । विमानस्थल निर्माण कम्पनीले म्याद सकिए पनि निरन्तर कामलाई जारी राख्ने जनाएको छ ।

निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै विमानस्थल आयोजनाले छैटाैं पटक म्याद थपका लागि प्रक्रिया अगाडि बढाइसकेको छ । गौतमबुद्ध विमानस्थल स्तरोन्नति आयोजनाले निर्माण कम्पनीको म्याद थपको निवेदन आएपछि अहिलेसम्मको प्रगति र बाँकी काम सम्पन्न गर्न लाग्ने समयावधिलाई आकलन गरेर म्याद अवधि थप गर्ने वा ठेक्का रद्द गर्ने भन्ने विषयमा निर्णय गरेको छैन ।

आइसीबी –१ को २०१५ जनवरीमा शिलान्यास भएको विमानस्थल १८ जुन २०१८ मा सम्पन्न हुन नसकेपछि म्याद थपिंदै काम अघि बढेको थियो ।

निर्माण कम्पनी नर्थ वेस्ट सिभिल एभिएशनले २०२० डिसेम्बर ३१ सम्मका लागि निर्माणको लागि समयावधि पाए पनि निर्माण सम्पन्न नहुने देखिएपछि अघिल्लो साता नै म्याद थपका लागि आयोजनालाई निवेदन दिएको हो । चिनियाँ कम्पनी नर्थवेष्ट सिभिल एभिएसन कन्स्ट्रक्सन ग्रुपले पाँचौं पटक थपिएको म्याद अवधिमा समेत काम सम्पन्न गर्न नसकेपछि छैटाैं पटक म्याद थप्ने तयारी भइरहेको छ ।

दुई सञ्चार उपकरणको जिम्मा पाएको एरोथाई कम्पनीले पनि काम सम्पन्न गर्ने गरी म्याद थपका लागि निवेदन दिएको छ । आयोजना प्रमुख इन्जिनियर प्रवेश अधिकारीले म्याद थप कहिलेसम्म हुन्छ भन्ने कागजी प्रक्रियामा रहे पनि केही टुङगो नलागेको बताए । ‘विमानस्थलको काम रोकिन्न, काम निरन्तर भइरहेको छ, निर्माण कम्पनीले काम सम्पन्न गर्न नसकेपछि म्याद थप गर्नु नियमित प्रक्रिया हो,’ उनले भने ।

विमानस्थलको निर्माण कार्य पछिल्लो तीन वर्षमा २५ प्रतिशतबाट ९३ प्रतिशतभन्दा बढी भौतिक प्रगति हासिल भएको र अहिले ९५ प्रतिशत उपकरणहरू अधिकांश फिल्डमा आइसकेको विमानस्थल आयोजनाले जानकारी दिएको छ ।

पहिलो चरणको अर्थात् आइसीबी–१ को काम मध्येको भौतिक निर्माणको सबै काम सम्पन्न भइसकेको छ । उपकरण जडान यहाँका प्राविधिकहरूले जडान गर्न नसक्ने भएर उपकरण जडान पूर्वका काम भएको छ ।

विदेशी प्राविधिक जनशक्ति आउने प्रतीक्षामा रहेको बताउँदै अधिकारीले जनशक्ति व्यवस्थापन भएमा करीब सय दिनमा निर्माण सम्पन्न हुने जानकारी दिएका छन् ।

‘आइसीबी १ का लागि तत्काललाई १० जना चिनियाँ कामदार आन्तरिक उडानबाट चिनियाँ अन्तर्राष्ट्रिय विमानस्थल आएको भन्ने सूचना आएको छ । अहिलेको मुख्य चुनौती दक्ष प्राविधिक ल्याउनु नै हो नआएसम्म केही भन्न सकिने अवस्था छैन,’अधिकारीले भने ।

सबै उपकरण आइसके पनि फ्रर्ड लाइट, एक्सरे मेसिन, कन्भियर बेल्ट, धावनमार्गका लाइट, भिएमआर/डीएमई सञ्चार उपकरण, एयर ट्राफिक कन्ट्रोल तथा मौसम पूर्वानुमान व्यवस्थापनका लागि आवश्यक उपकरण जडानको लागि चिनियाँ, अमेरिका, अष्ट्रिया, थाइल्याण्डका प्राविधिक आउनुपर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *