पूर्वराष्ट्रपतिको चिन्ताः संसद विघटनले देशलाई अनिश्चिततातिर धकेल्यो – Nepal Press

पूर्वराष्ट्रपतिको चिन्ताः संसद विघटनले देशलाई अनिश्चिततातिर धकेल्यो

काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले प्रतिनिधिसभा विघटनले देशलाई अनिश्चिततातिर धकेलेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

बिहीबार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले प्रतिनिधिसभा विघटनको कदमले लोकतन्त्र, संविधान, राष्ट्रियतालाई दूरगामी असर पार्ने र देश अनिश्चिततातिर धकेलेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

उनले असंवैधानिक कदमलाई सच्याउन सबै देशवासीको जिम्मेवारी रहेको पनि बताए । पूर्व राष्ट्रपति यादवले अदालत नेपाली जनताको आशा र भरोसाको संस्था भएकोले अदालतबाट न्याय हुनेमा सबै लोकतन्त्रवादीको विश्वास भएको बताए ।

यादवले २०३३ सालमा वीपी कोइराला र गणेशमान सिंह क्षेत्रीय राजनीतिको जटिलताका कारण देशमा प्रजातन्त्र, राष्ट्रियता र शान्तिको निम्ति मेलमिलापको नीति लिएर नेपाल फर्किएको स्मरण गर्दै अहिलेको परिस्थितिमा क्षेत्रीय राजनीति झनै जटिल बनेको बताए ।

नेपालको अहिलेको राजनीतिक अवस्थामा अन्तर्राष्ट्रिय ध्यान पनि केन्द्रित रहेको भन्दै पूर्वराष्ट्रपति यादवले यस्तो अवस्थामा लोकतान्त्रिक संस्थाहरुले आफ्नो कर्तव्य निर्वाह नगरे राष्ट्रलाई भलो नहुने तर्क गरे । भू–राजनीतिक, समसामयिक अवस्थालाई चिन्तन गरी स्वस्थ विदेश नीति नल्याए राष्ट्रको जगेर्ना गर्न अप्ठ्यारो पर्ने पनि उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर