नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ? – Nepal Press

नेकपा मिलाउन असफल चिनियाँ टोली, कांग्रेस मनाउन कति सफल ?

‘भारत परस्त’ आरोप लगाएको डेढ महिनामै कांग्रेससंग सम्बन्ध सुधार्ने चीनको प्रयास

काठमाडौं । गत नोभेम्बर १० मा चीनको ग्लोबल टाइम्सले ‘नेपालमा चीनविरोधी भावना फैलाउन भारतपरस्त नेपाली कांग्रेसको हात रहेको’ आशयको सामाग्री प्रकाशित गर्‍यो ।

आधा दशकभन्दा लामो समयदेखि विश्वलाई चिनियाँ दृष्टिकोण पस्किरहेको ग्लोबल टाइम्सलाई चीन सरकारको मुखपत्र सरह मानिन्छ । ग्लोबल टाइम्सको यस्तो टिप्पणीको कांग्रेसले तत्काल प्रतिवाद गर्‍यो ।

कात्तिक २८ गतेको केन्द्रीय समितिको बैठकबाट औपचारीक निर्णय गर्दै कांग्रेसले भन्यो– ग्लोबल टाइम्सको आधारहीन र आपत्तिजनक टिप्पणीको नेपाली कांग्रेस निन्दा गर्दछ । नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता र सुरक्षा हाम्रो सर्वोच्च स्वार्थ हो । नेपाली कांग्रेस छिमेकी देशहरु लगायत सबै मित्रराष्ट्रहरुसँग सार्वभौम बराबरीको आधारमा सम्बन्ध राख्ने कुरामा विश्वास गर्दछ । नेपाली कांग्रेस नेपाल बाहेक कुनै पनि देशको परस्त पार्टी हुन सक्दैन ।

कांग्रेसले जुनदिन ग्लोबल टाइम्सको आलेखको खण्डन गरेको थियो त्यसै दिन नेपालस्थित चिनियाँ दूतावासले कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीले हुम्लामा सीमा मिचेको भनी आधारहीन आरोप लगाएको भन्दै कांग्रेसलाई पत्र पठाएको थियो ।

सो प्रसंगमा पनि कांग्रेसको कात्तिक २८ कै बैठकले प्रष्ट पार्दै शाहीको दावी प्रमाणमा आधारित भएको र नेपाल सरकारको ध्यानाकर्षको विषय भएको उल्लेख गरेको थियो ।

माथि उल्लेखित प्रसंग हेर्दा चीन र नेपाली कांग्रेसबीच सम्बन्धमा ‘दरार’ उत्पन्न भएको बुझ्न गाह्राे छैन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रियामा चीनको सहयोग रहेको तथ्य छिपेको थिएन । त्यसैले पनि कांग्रेस र चीनका बीचमा दूरी बढ्दो थियो । नेकपा औपचारीक विभाजनको संघारमा पुगेसँगै चीनले कांग्रेससँगको सम्बन्ध सुधार्ने प्रयास थालेको छ ।

यही प्रयासको निरन्तरता थियो चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको मंगलबारको भेटवार्ता । भेटका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले देउवालाई चीन भ्रमणको औपचारीक निमन्त्रणमात्रै दिएन, चीन र नेपाली कांग्रेसबीचको सम्बन्ध इतिहासदेखि नै प्रगाढ रहेको समेत बतायो । आफ्नै मुखपत्र मार्फत् कांग्रेसलाई ‘भारत परस्त’ दावी गरेको चीनले यत्ति छिट्टै कांग्रेससंग सद्भावको हात किन बढायो ? राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

कांग्रेस र चीनबीचको समकालीन सम्बन्ध कस्तो छ भनी केलाउन अघिल्लो वर्ष भएको चिनियाँ राष्ट्रपति सी चिन पिङको भ्रमणको स्मरण गर्नुपर्छ । नेपाल भ्रमणका दौराना राष्ट्रपतिले सीले पहिलो राजनीतिक भेट देउवाबाटै सुरु गरेका थिए ।

नेपाल आएकै साँझ २५ असोज २०७६ मा सी र देउवाबीच सोल्टी होटलमा १५ मिनेट भेटवार्ता भएको थियो । भेटमा दुई नेपाल–चीन सम्बन्धका बारेमा छलफल भएको औपचारीक प्रेस नोटमार्फत जनाइएको थियो । सीले देउवालाई त्यतिबेलै चीन भ्रमणमा आउन निम्तो दिएको बताइएको थियो ।

यसयता देउवालाई पटक–पटक चीन भ्रमणको निम्तो आइसकेको छ । कांग्रेस स्रोतका अनुसार नेपाल भ्रमणमा आएर देउवालाई भेट्ने सबैजसो प्रतिनिधि मण्डलले चीन भ्रमणको निम्तो दिएका छन् । देउवा भने चीन भ्रमणमा जान ईच्छुक देखिदैनन् ।

भ्रमणमात्रै होइन गत अक्टुबर १६ र १७ तारिखमा चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागले भर्चुअल रुपमा आयोजना गरेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बारेको वेविनारमा वक्ता बन्न चीनबाट गरिएको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका थिए ।

खासगरी नेपालका कम्युनिष्टहरुलाई चीनले विशेष महत्व दिएको देउवालाई मन परेको छैन । यो प्रसंग उपमन्त्री येचौसँगको मंगलबारको भेटमा पनि चलेको थियो । यद्यपि येचौले ‘नेकपासँग चीनको विशेष सम्बन्ध नरहेको र सबै पार्टीसँग समान सम्बन्ध राख्न चाहेको’ प्रष्टीकरण दिएका थिए ।

येचौले आफ्नो भ्रमणलाई नेकपाको विभाजनसँग जोडेर नेपाली मिडियाले लेखेकोमा गुनासो गरेका थिए । त्यति नै बेला छलफलमा सहभागी कांग्रेस नेता डा.नारायण खड्काले ‘ग्लोबल टाइम्सले पनि त कांग्रेसका बारे जथाभावी लेख्यो नि !’ भन्ने प्रसंग निकालेका थिए । जवाफमा उपमन्त्री येचौले कहिलेकाहीँ आपसी सम्बन्धमा उत्पन्न हुने असमझदारी सुल्झाउन चीन इच्छुक रहेको बताए ।

काठमाडाै‌ंस्थित चिनियाँ दूताबासले नेपाली कांग्रेसलाई लेखेकाे पत्र ।

कांग्रेस नेता डा.नारायण खड्का चीनका तर्फबाट कांग्रेससंगको सम्बन्ध सुधार्न पहल भएको स्वीकार्छन् । ‘नेपाली कांग्रेस हाम्रा सबै मित्र राष्ट्रहरुलाई समान दृष्टिले हेर्छ तर हामीलाई हेर्ने चीनको दृष्टिकोण पूर्वाग्रही भयो कि भन्ने सबैलाई लागेको थियो । चीनले यसमा प्रष्टीकरण दिन खोजेको देखिन्छ’, खड्काले नेपालप्रेससँग भने । नेपालमा कम्युनिष्ट पार्टीसँग मात्रै विशेष सम्बन्ध राख्दा कुटनीतिक सन्तुलन कायम नहुने निष्कर्षमा चीन पुगेको हुनसक्ने खड्काको भनाई छ ।

नेपाल–चीन सम्बन्धको हार्दिकता जोगाउन वीपी कोइरालाको पालादेखि भएको कामलाई चीनले स्मरण गराउनु सम्बन्ध सुधारको संकेत हो । नेपालमा कम्युनिष्ट पार्टीको विभाजन निश्चित भएपछि सम्भावित प्रमुख शक्तिका रुपमा पनि चीनले कांग्रेससँगको सम्बन्ध सुधार्न चाहेको हुनसक्छ ।

चीनका तर्फबाट सम्बन्ध सुधारको पहल हुनुलाई सकरात्मक रुपमा लिएपनि कांग्रेसले यसमा थप अग्रसरता लिन खोजेको छैन । चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी समारोहमा पनि देउवाको उपस्थिति निश्चित भइसकेको छैन ।

कोरोनाका कारण सो समारोह नै भर्चुअल रुपमा हुनेसक्ने सम्भावना बढ्दै गएको छ । समारोह भौतिक रुपमा भएमा देउवाले प्रतिनिधि पठाउने र भर्चुअल भएमा भिडियो सन्देशबाट शुभकामनासम्म दिनसक्ने सम्भावना छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर