प्रचण्ड–माधव र झलनाथलाई ओलीको एकमुष्ट जवाफ (भिडियोसहित) – Nepal Press

प्रचण्ड–माधव र झलनाथलाई ओलीको एकमुष्ट जवाफ (भिडियोसहित)

छोरी जिताउन नसकेपछि मतपत्र धुजा-धुजा पारे जस्तो हुन दिइन्न

काठमाडौं । प्रायः बिहे भोजका पाहुनाले भरिभराउ हुने बबरमहलस्थित कार्की पार्टी प्यालेस अहिले विभाजित नेकपाका दुवै समूहको अघोषित कार्यालय जस्तो बनेको छ ।

जुन ठाउँबाट बैठक बसेर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले आफ्नै दलका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएको घोषणा गरेका थिए, त्यही ठाउँमा पुगेर ओलीले पुग्ने गरी जवाफ दिए ।

पार्टी विभाजनपछि प्रचण्ड–माधवले आफूमाथि गरेका टीकाटिप्पणी र आरोपको एकमुष्ट जवाफ दिनका लागि बुधबार ओलीले त्यही ठाउँलाई नै रोजे । उपत्यकामा उपलब्ध सुदूरपश्चिम प्रदेशका ओली पक्षीय नेता कार्यकर्ताको भेला थियो त्यो ।

पार्टी विभाजनपछि पहिलो पटक बालुवाटार बाहिरको सार्वजनिक कार्यक्रममा उपस्थित भएका ओलीले आफूलाई ‘कारबाही गरिएको आसन’बाटै प्रचण्ड, नेपाल र नेता झलनाथ खनालले लगाएका आरोप र गरेका टिप्पणीको जमेर जवाफ फर्काए ।

प्रचण्डलाई जवाफ

आफूलाई तानाशाही भनेको भन्दै ओलीले प्रचण्ड लामो समय विना निर्वाचन अध्यक्ष भएको, निर्वाचनमा जान नमानेको र निर्वाचनमा जाँदा पनि मतपत्र च्यातेको बताए । र, आफू सधैं निर्वाचनका माध्यमबाट मात्रै नेतृत्वमा आएको र पछिल्लो पटक पनि निर्वाचनबाट अध्यक्ष भएको सन्दर्भ झिक्दै आफू तानाशाही नभएको जवाफ फर्काए ।

‘छोरी जिताउन नसकेपछि मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा बनाउनुभयो’ प्रचण्ड लक्षित उनको भनाइ थियो, ‘छोरी जिताउनकै लागि कांग्रेससँग मिल्नुभयो तर खासै उपलब्धि भएन ।’

प्रचण्डसँग सम्झौता गर्दा–गर्दा आफू थकित भएको बताएका ओलीले विम्बात्मक रुपमा सम्झौताले ‘ब्रिफकेस’ नै भरिएको टिप्पणी गरे । ‘आज एउटा सम्झौता गरेर पठायो, भोलि फेरि अर्को माग लिएर आउने’ओलीको टिप्पणी थियो, ‘प्रधानमन्त्री तपाईं नै हुनुहाेस्, जनताले तपाईंलाई नै चाहेका छन् भनेर आउनुभयो । मलाई कार्यकारी अध्यक्ष दिनुस् भनेपछि दिएँ । भोलिपल्ट त मैले गल्ती पनि गरें कि कमरेड भन्दै आउनुभयो ।’

ओलीले तीन वर्षसम्म प्रचण्डसँगको सहकार्य कठिन भएको भाव व्यक्त गरे र त्यसलाई ठट्यौली पारामा भने, ‘तीन वर्षमा साबुनका धेरै डल्ला खेर गए, ड्रमका-ड्रम पानी खत्तम भयो । उहाँलाई धुनका लागि साबुन लायो, पखाल्यो फेरि जस्ताको तस्तै।’

प्रचण्डले ओलीलाई ‘बाहिर मीठो कुरा गर्ने तर भित्र छुरा हान्ने खाले भएको’ भनी टिप्पणी गरेका थिए । ओलीले त्यसको जवाफ पनि दिए । ‘मैले मित्रताको अँगालो हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने’ ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षिणपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नुपर्ने होइन ?’

माधवकुमार नेपालबारे

आफ्नो सम्बोधनमा ओली आफ्ना पूर्व सहकर्मी माधवकुमार नेपालप्रति पनि निकै कडा रुपमा प्रस्तुत भए । उनले नेता नेपाल प्रचण्डको कार्यकर्ता बन्न गएको टिप्पणी गरे ।

‘माधव नेपाल प्रचण्डका कार्यकर्ता हुन् । मलाई केही पनि भन्नु छैन’ उनले भने,‘ उहाँ (माधव नेपाल) सधैं उधारो सम्झौता हुँदैन भन्नुहुन्थ्यो। उहाँको बारेमा केही कमेन्ट गर्दिनँ, उहाँ दुःखी हुनुहुनेछ।’ नेता नेपालको क्यारिकेचर समेत गर्दै ओलीले भनेका थिए, ‘अपमान ! मान पाइनँ मैले !’

ओलीले एउटा पुरानो सन्दर्भ सम्झिएर नेता नेपालको चरित्र चित्रण समेत गर्न भ्याए । पहिले माधव नेपाल इमानदार भए पनि अहिले बिग्रेको ओलीको भनाइ थियो । यस्तो थियो ओलीले स्मरण गरेको त्यो पुरानो सन्दर्भ :

म जेलमा हुँदा एउटा कलिलो केटो पनि समाएर ल्याएछन्। मैले भेटाएको थिएँ । सम्झाएर, बुझाएर, राजनीतीकरण गरेर, वामपन्थी बनाएर अलिअलि काममा लगाइदिएँ । म पूर्णकालीन भएको पाँच वर्ष भएको थियो, भूमिगत भएको तीन वर्ष भएको थियो । मोरङ जाँदा विराटनगरको महेन्द्र मोरङ कलेजमा पढ्दै गरेको इमानदार विद्यार्थी थियो । राम्रो, सहयोगी भावनाको थियो । उसलाई मैले राजनीतिमा लाग, राम्ररी काम गर्नुपर्छ, देशमा परिवर्तन ल्याउनुपर्छ भनेर सम्झाएँ । उत्साहित गराएँ । प्रेरित गराएँ । त्यो मान्छे, त्यसको एक/डेढ वर्षपछि राजनीतिमा सामेल भयो । पहिले इमानदार थियो, सोझो थियो त्यो मान्छे । पछि बैंकमा काम गरेको मान्छे । आदत के परेछ भने, उदारो हुन्न। पछि कपट पसेछ । पहिले यस्तो थिएन त्यो मान्छे ।

ओलीले नेता खनाललाई पनि जवाफ फर्काउन छुटाएनन् । नेता खनालले मंगलबार भृकुटीमण्डपमा आयोजित विरोध सभामा ‘धरहरा ओलीले नभई इन्जिनियरले बनाएको’ टिप्पणी गरेका थिए ।

ओलीले त्यसको ठ्याक्कै यस्तो जवाफ दिए–

‘हिजो झलनाथ खनालजीले भाषण गर्नुभयो नि, धरहरा केपी ओलीले बनायो भन्छन् । नचाहिने कुरा, केपी ओलीले बनाएको हो र ? इन्जिनियरले बनाएको हो । उहाँलाई के थाहा रैनछ भने इन्जिनियरले डकर्मीको काम गर्दैन । त्यो त नाप्ने मात्रै हो । डकर्मीले बनाएको हो धरहरा । इन्जिनियरले बनाउँछ, इँटा लगाउँछ भन्ने परेको रहेछ उहाँलाई । कहिले नजिकै गएर हेरेको भए पो । त्यो कसले काम गर्छ भन्ने हेर्नुपर्‍यो नि । थाहा पाउनुपर्‍यो नि ।’

चुनावबारे

ओलीले चुनावलाई लिएर आफूप्रति गरिएका टीकाटिप्पणीको जवाफ पनि त्यही मञ्चबाट फर्काए । चुनाव आफूले शान्तिपूर्ण र निष्पक्ष रुपमा गराउने बताए । ‘यसपटकको निर्वाचनमा बत्ती निभ्दैन, मतपत्र च्यातिने छैन’ ओलीको भनाइ थियो, ‘मतपत्र च्यातेर बत्ती निभाउने भन्ने ठान्नुभएको छ भने त्यो हुन दिइँदैन ।’

ओलीको थप भनाइ थियो, ‘अहिलेको निर्वाचन शान्तिपूर्ण हुन्छ, बक्सा साट्न पाइँदैन, मतपत्र च्यात्न पाइँदैन स्वच्छ निर्वाचन हुन्छ ।’

ओलीले चुनाव हुने र त्यसमा प्रचण्ड–माधव पक्ष पत्तासाफ हुने आकलन समेत गरे । उनले चुनावको तयारी थाल्न भनी सुझाए । ‘चुनाव हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ’ ओलीको सुझाव थियो, ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर