कर्ण थापाको आरोप–भीम रावल भित्रभित्रै उपप्रधानमन्त्रीको भीख माग्दै थिए – Nepal Press

कर्ण थापाको आरोप–भीम रावल भित्रभित्रै उपप्रधानमन्त्रीको भीख माग्दै थिए

काठमाडौं । नेकपा विभाजनपछि अन्य प्रदेशको तुलनामा ओली पक्ष कमजोर मानिएको सुदूरपश्चिमका नेताहरुले प्रदेश पार्टीमा आफूहरु नै बलियो र आधिकारिक भएको दावी गरेका छन् ।

काठमाडौंको कार्की पार्टी प्यालेसमा अध्यक्ष केपी ओलीलाई बोलाएर गरिएको भेलामा नवनियुक्त मन्त्रीहरुसहित प्रदेश अध्यक्ष कर्णबहादुर थापाले प्रचण्ड–माधव नेपाल पक्षका नेता भीम रावलको चर्को आलोचना गरे ।

रावल विभाजनअघिसम्म नेकपाका प्रदेश इन्चार्ज थिए । अहिले ओली पक्षले लेखराज भट्टलाई प्रदेश कमाण्डर तोकेको छ । लेखराज भट्ट बाहेक अन्य पूर्व एमाले नेताहरुले भीम रावलको निरंकुश शैली र पदलोलुप प्रवृति रहेको भन्दै आलोचना गरेका थिए ।

नवनियुक्त वनमन्त्री समेत रहेका डोटी जिल्ला इन्चार्ज प्रेम आलेले रावल ‘नेताहरुको पैतला चाटेर’ ५ पटक मन्त्री भएको आरोप लगाए । माधव नेपाल प्यानलबाट महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका आले भीम रावलसँगको विमतिकै कारण ओली पक्षमा लागेका थिए ।

त्यस्तै ओली पक्षीय नेकपाका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण थापाले पनि रावलविरुद्ध तिखो टिप्पणी गरे ।

बाहिर विरोध गरे पनि ओलीसँग ‘उपप्रधानमन्त्रीको भिख’ मागेको उनको भनाइ थियो । ‘भीम रावलले बाहिर ओलीको विरोध गरे पनि भित्र–भित्र ओलीसँग उपप्रधानमन्त्रीको भिख माग्दै आएका थिए’ थापाको दावी थियो, ‘जति गरे पनि अहिले असफल भएपछि बाहिर विरोध गरिरहेका छन् ।’

सुदूरपश्चिमकै नेताहरु गणेश ठगुन्ना, हालै श्रम मन्त्री भएका गौरीशंकर चौधरीलगायतले पनि रावलविरुद्ध अभिव्यक्ति दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *