कोरोनापछिको फिल्म : के दर्शक हलमा फर्किएलान् ? – Nepal Press

कोरोनापछिको फिल्म : के दर्शक हलमा फर्किएलान् ?

लिट्रेचर फेस्टिभल

पोखरामा जारी नेपाल साहित्य मेलामा बुधबार ‘कोरोनापछिको सिनेमा’ शीर्षक विषयमा छलफल सत्र भयो । चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले मोडरेट गरेको छलफलमा प्रदर्शक भाष्कर ढुंगाना, निर्देशक मीनबहादुर भाम र अभिनेत्री प्रियंका कार्कीले भाग लिए । कोभिड–१९ पछि नेपाली फिल्मको मूल्य, कला, बजार र शैलीबारे गरिएको अन्तक्रियाको सम्पादित अंश यहाँ प्रस्तुत छ ।

भाष्कर ढुंगाना
कोरोनाले गर्दा फिल्म बिजनेसमा ठूलो क्षति पुगेको छ । सबैभन्दा प्रभावित क्षेत्र सिनेमा क्षेत्र नै हो । सबैभन्दा पहिले बन्द भएको र सबैभन्दा अन्तिममा खुल्ने पनि यही नै हो । तर, रोचक कुरा के भने, सिनेमा क्षेत्रलाई सरकारले अति प्रभावित क्षेत्र भनेर घोषणा पनि गरेको छैन । व्यापार हेर्ने हो भने अरु क्षेत्रमा ६० प्रतिशत घटेको छ होला तर हाम्रोमा चाहिँ ९५ प्रतिशत घटेको छ ।

मीन भाम
हामीले प्रोजेक्ट सुरु गर्नै लागेका थियौं । त्यो चाहिँ घाटा हो । तर, व्यक्तिगतरुपमा मलाई फाइदा पुग्यो । स्क्रिप्टमा मैले फेरि वर्कआउट गर्न पाएँ । मेरो फिल्मको लगानीकर्ता सुरुमा जसरी खोज्नुपर्ने दबाब थियो । लकडाउनमा टाइम लिएर मजाले खोज्न पाएँ । मलाई नीजिरुपमा फाइदा पुग्यो तर, समग्रमा उद्योगलाई धेरै पछाडि धकेल्दियो । पहिले घुम्न छुटाएका हिमालका सबै डाँडाहरु घुम्न पाएँ । नौ चोटी मनाङ, हुम्ला, डोल्पा घुम्न पाएँ ।

भाष्कर ढुंगाना
हरेक बादलमा चाँदीको घेरा हुन्छ भनेर हेर्ने हो भने फिल्म जगतमा भएको पात्र र साथीभाइमा हामी यति धेरै कनेक्टेड रैछौं भन्ने सोच पलायो । नेपाली फिल्मका निर्माताले पनि के कुरा महसुस गरे भने कोरोनाले सबै कुरालाई छ्याङ्ग बनाइदिएको छ । हिन्दी फिल्म आएन भने पनि त डुब्ने रैछ भन्ने कुरा । बजार कसरी चलेको छ भन्ने कुरालाई प्रष्ट बनाइदिएको छ । यो एउटा सिल्भर लाइनिङ हो । हामीले यसलाई अवसरको रुपमा परिणत गर्छौं कि गर्दैैनौं भन्ने कुरामा प्रश्न छ ।

प्रियंका कार्की
सबैकुरा सामान्य हुन थालिसक्या छ तर हाम्रो फिल्म उद्योगको हल संचालन एवं फिल्म छायांकन हुने कुरामा समय लाग्छ । यो कुरामा धेरैजनालाई आर्थिकरुपमा क्षति पुगेको छ । सामाजिक संजालमा आधारित डिजिटल प्लेटफर्मलाई प्रयोग गर्न सकियो भने हामीले काम गर्न सक्छौं । लकडाउन खुलिसकेपछि मैले एउटा कथा लेखेँ । सानो कथा, सानो क्रिउ र धेरै ट्राभल गर्न नपर्ने गरि ४५ मिनेटको छोटो फिल्म सुट पनि गरेँ । लेख्नलाई त आठ महिनै थियो हामीसँग । अर्को एउटा फिचर लेङ्थ फिल्ममा पनि लेख्न थालेँ ।

डिजिटल प्लेटफर्मलाई पनि मैले एक्सप्लोर गरेँ । गतवर्ष डिजिटल प्लेटफर्मको प्रयोगबारे प्रयोगमूलक सिरिजमा काम गरेको थिएँ । त्यसलाई पनि अगाडि बढाएँ । आफूलाई व्यस्त राख्ने प्रयास गरेँ । सबैको लागि अनुत्पादक वर्ष बन्यो तर, आफ्नै सीमित स्रोधसाधनलाई प्रयोग गरेर काम गर्न सकिन्छ भन्ने चाहिँ लाग्यो । खाली चाहिँ बसिन न । केही काम गरेँ ।

मीन भाम
कोभिड नभएको भए हामीले अर्को कुनै छलाङ मार्ने कुरामा म चाहिँ विश्वास गर्दिन । यसले गर्दा धेरै चीजलाई ब्रेक त ग¥यो । कोभिड नआउँदा पनि ९५ प्रतिशत सिनेमा त असफल नै हुन्थे बिजनेसको हिसाबले । त्यो राम्रो थियो र अब चौपट भयो भन्ने पनि हैन । एस्थेटिक र विश्वमा बजारमा हामी कहाँ थियौं भन्ने कुरा त हामी एकदमै फेलियर थियौं । हामी स्वीच भएर अर्को फड्को मार्ने यो मौका हुन सक्छ । दक्षिण कोरिया, ताइवान र जापान गृहयुद्धले ध्वस्त भैसकेपछि त्यहाँका फिल्मले जसरी छलाङ मारे र प्यार्टन, बजेट, स्टोरी टेलिङ र प्यार्टनमै चेन्ज भयो । यो किसिमले हेर्दा नेपाली फिल्म उद्योगका लागि उत्तम मौका पनि हुनसक्छ ।

नेपाली फिल्मको व्यापार हेर्दा सिनेमा उद्योगका इन्भेस्टरले पूर्णरुपमा लगानी नगरेको व्यापारको रुपमा हेर्छु म चाहिँ । कहिले होटेल व्यवसायीले सिनेमा निर्माण गरिदिनुपर्ने । कहिले म्यानपावरका मालिकले फिल्ममा पैसा हाल्दिनुपर्ने । इन्डष्ट्रिभित्रै लगानी नभएको उद्योग हो हाम्रो । यो हाम्रा लागि गतिलो मौका हो कि पूर्णरुपमा इन्डिपेन्डेन्ट हुने उद्योगको रुपमा विकसित हुने मौका हो । होटल खुलाउनको लागि सिनेमाको मान्छे गएर लगानी गर्ने भन्ने होइन । हाम्रो व्यापार चाहिँ पूर्णरुपमा विपरित दिशामा छ । यसको प्रत्यक्ष वा अप्रत्यक्ष असर चाहिँ फिल्म उद्योगमा पर्छ । टेक्निसियन जसले यो समयलाई सदुपयोग गर्न पाउनु भएन, उहाँहरुलाई अबको समय झन् कठिन हो । लगानी र व्यवसाय एउटा कुरा हो । अन्तरिकरुपमा उद्योगभित्र भएका मान्छेको पलायन डरलाग्दो कुरा हो । लेखक, निर्देशक र अभिनेतालाई त्यति गहिरोरुपमा असर गरेको छ जस्तो लाग्दैन । एस्थेटिकरुपमा फड्को मार्ने मौका हुनसक्छ ।

भाष्कर ढुंगाना
हामी नेपालीहरु फड्को मार्ने, छलाङ मार्ने भन्ने कुरा गर्छौैं । नेताहरुले पनि आशा ठूलो देखाइदिनुहुन्छ । हामीले राजनीतिक बाहेक केही पनि छलाङ मारेका छैनौं । फिल्म उद्योगमा विकास भएको छ हेर्दा, म बीस वर्ष अगाडि आउँदा एउटा नेपाली फिल्मले ३० देखि ४० लाख ग्रसको कूल आम्दानी गथ्र्यो । आजको दिनमा बीस करोडभन्दा बढी गर्ने क्षमता छ । यसलाई छलाङ नै मान्नुपर्छ जस्तो लाग्छ मलाई । हाम्रो कन्टेन्टको गुणस्तर सोचेजस्तो भएन होला तर, यो खासमा विकास नै हो । कोभिड नभएको भए हामी एउटा गतिमा गइसकेको हुन्थ्यौं । फिल्म मनोरञ्जन र कला पनि हो ।

हल त एउटा माध्यम मात्र हो । हलमा मान्छे आउँदैन भन्छ तर सिनेमा अनुभव भनेको गृहयुद्ध र महामारी र प्रविधिको परिवर्तन गरेको फम्र्याट हो । यसलाई यत्तिकै एउटा महामारीले हल्लाउन सक्छ जस्तो लाग्दैन । सिनेमा मानवीय कनेक्सनको एउटा पुँजी हो । यसले तोड्न सक्दैन । ओटीटी प्लेटफर्म सिनेमाको प्रतिस्पर्धी पनि हो । ओटीटीले फिल्म हेर्ने संस्कृति पनि बढाइरहेको छ । विश्वव्यापी तथ्यांक हेर्दा पनि हन्ड्रेड विलियनले मात्र सिनेमा हेर्छ । प्रतिस्पर्धी हैन, एकअर्कोलाई सहयोग पनि गर्छन् ।

मीन भाम
ओटीटीले खासै परिवर्तन ल्याउँदैन । फिल्मका दर्शक बढाउने कुरा त फाइदैको कुरा हो । नेपालमा उपलब्ध नेपाली सिनेमाको कन्टेन्टले कति रिभेन्यु पाउँछ त्यो महत्वपूर्ण कुरा हो । हामीले जुन जुन अनलाइनमा सिनेमा राख्छौं, न कसैले पैसा तिरेर क्रेडिट कार्डबाट नेपाली सिनेमा हेर्छ भन्ने लाग्दैन । यसले दर्शक बढाउन मद्दत गर्छ राम्रै कुरा । अन्ततः यसले रिभेन्यु सिर्जना गर्छ वा गर्दैन, मुख्य कुरा त्यो हो । व्यक्तिगतरुपमा मेरो धेरै चासो केमा हो भने, हामीले कुनै ग्राहकलाई रेष्टुरेन्ट आउने बानी बसाल्यौं भने पनि भोलि उसले अनलाइन अर्डर गरेर खानसक्छ ।

बिजनेस पर्सपेक्टिभबाट त्यो राम्रो कुरा हो तर ओटीटीको नाममा हामीले नेपाली सिनेमालाई सित्तैमा उपलब्ध गराउन थाल्यौं । यसको एउटा ठूलो क्षति भोलि दर्शक थिएटरमा नआउने पो हुन् कि भन्ने ठूलो डर हो । म के कुरामा सहमत छु भने, मेनस्ट्रिम फिल्मकै बुइ चढेर हामीले काम गर्ने हो । हामीले सिनेम्याटोग्राफर हलिउडबाट ल्याउन सकौंला, तर लाइटम्यान ल्याउन सक्दैनौं । मेनस्ट्रिम फिल्म सर्भाइभ भयो भनेमात्र हाम्रो पनि अस्तित्वको कुरा आउँछ ।

भाष्कर ढुंगाना
बौद्धिक सम्पत्ति अर्थात सिर्जनाको भ्यालु गर्ने कि नगर्ने ? यसका लागि पैसा तिर्ने कि नतिर्ने भन्ने सबैभन्दा ठूलो कुरा भएर आउँछ । हाम्रो समाजमा संगीतको लागि कसैले पैसा तिर्दैन, डाउनलोड गरेर पाइरेटेड रुपमा हेर्छ सुन्छ । टोरेन्टबाट डाउनलोड गर्ने बानी भएकाले युट्युवमा निःशुल्क हेर्छ । हाम्रो समाजले नै सिर्जनाको मूल्यलाई सम्मान गर्ने संस्कार सिकाउँदैन ।

कला र अभिनय गर्ने कुराले राम्रो पैसा पाउनुपर्छ भन्ने कुरै सिकाएको छैन । डाक्टर इन्जिनियर भएपछि पैसा पाउनुपर्छ तर कलाकार भए पैसा पाउनुहुँदैन भन्ने कुरा छ । समाजको सोच नै बदलिनुपर्छ । हाम्रो जग नै गलत छ कि सिर्जनात्मक कुरालाई पाइरेट गर्नुपर्छ भन्ने सोच छ । हाम्रो राष्ट्रिय चरित्रको खाडल नै त्यहीँ छ । यसलाई पुर्नुपर्छ ।

हामीले चोर्न दिएको भएर नै नेपाली फिल्म इन्डष्ट्रि बिग्रेको हो । बजारमा हलिउडको फिल्म ३० रुपैयाँमा पर्छ अनि म २०० रुपैयाँ तिरेर नेपाली फिल्म हेर्न जाने ? खासमा ३० रुपैयाँमा आउने फिल्म हैन, खासमा चोरेर त्यति पैसामा आएको हो नि त । विदेशीको क्षति हुन्छ, नेपालीको हुँदैन भनेर सरकार र हामीले चोर्न दियौं । यसै त हाम्रो कमजोर उत्पादन र महंगोमा बेच्नुपर्ने भएकाले समस्या भएको हो । धेरै कुराहरु बिग्रिएको छ । अहिले बनेको कुरालाई बिगार्ने चाहिँ नगरौं । त्यसलाई मात्र संरक्षण गरौं भन्ने हो ।

मीन भाम
मान्नूस या नमान्नूस, ज–जसलाई जे –जे आउँछ, त्यही रुपमा फिल्म उद्योग अगाडि बढ्छ । मेरो इच्छा चाहिँ क्राफ्टम्यानसिपमा हामीले मिहेनत गर्नुपर्छ । स्क्रिप्ट राइटर नभएकाले हामी आफैले लेख्नुपरेको छ । सिनेमाले साहित्य जोड्न चाहेन कि सकेन कि ? दुईटा फरक–फरक पाटोतर्फ उछिट्टयो । फिल्मभन्दा नाटकले नेपाली साहित्यलाई छिटो समात्यो ।

त्यसको फाइदा पनि थिएटरले छिटो पायो । हामीले सिनेमा के को लागि बनाउने भन्ने प्रश्न छ । हामीले सिनेमा लिट्रेसीलाई पछ्याउने कि नाइँ ? लकडाउनले बढाइदिएको सबैभन्दा ठूलो चुनौति भनेको लकडाउनले धेरैजनाको भिजुअल लिट्रेसी धेरै बढाइदियो । मेरो आन्टीहरु जीवनमा इरानी फिल्म हेर्नुभएन, लकडाउनमा हेर्नुभयो । भिजुअल लिट्रेसी ह्वात्तै बढेको छ । यो फाइदा पनि हो र चुनौति पनि । प्राविधिकरुपमा त हामीले धेरै फड्को मारिसक्यौं ।

भाष्कर ढुंगाना
यो समस्या फिल्म उद्योगको मात्र हैन । साहित्यको समेत हो । जुनसुकै उद्योगको कुरा गर्दा पनि समस्या छ । हाम्रो समाजको मुख्य कुरा के हो भने, हामीले भ्यालुजलाई चेन्ज गर्नुपर्छ । चेन्ज गर्नुभनेको सहकार्य भन्ने हो । सहकार्य कसरी गर्ने ? ब्यापारमा पनि निर्माता, प्रदर्शक र वितरकले आफूलाई टापु मात्र नबनाएर पुल कसरी बनाउने भन्ने हो । हामी संघसंस्था बनाउन माहिर छौं । तर, लिडरसिपको जग नेपालीलाई विभाजन गर्ने भन्ने छ । अहिलेको लिडरसिप आफ्नो कुर्सी र पदमात्र स्थापित गर्न खोज्छ । सहकार्य र सहमति भन्ने छैन । मान्छेहरुले उद्योगलाई जोड्ने काम चाहिँ गरेको छैन । जबसम्म लिडरसिपमा जोड्ने मान्छेहरु आउँदैन, तबसम्म चुनौति रहिरहन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *