‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन – Nepal Press
लिटरेचर फेस्टिभल

‘महारानी’ का लेखक भन्छन्: पुस्तक बिक्रीबाट एक छाक पनि खाएको छैन

काठमाडौं । ‘मदन पुरस्कारको चर्चाअनुसार पुस्तकबाट तपाईंले कति अर्थ आर्जन गर्नुभयो ?’ आईएमई लिटरेचर फेस्टिभलको दोस्रो दिनको पहिलो सेसनमा २०७६ को मदन पुरस्कार विजेता ‘महारानी’ उपन्यासका लेखक चन्द्रप्रकाश बानियाँलाई सोधियो । प्रश्नकर्ता थिए, पत्रकार राजकुमार बानियाँ । यस वर्ष बेस्ट सेलरको रुपमा बिक्री भइरहेको पुस्तकका लेखकको रोयल्टीबारे आमपाठकलाई चासो थियो । तर, लेखकको जवाफ थियो– मैले किताब लेखेर पुरस्कार रकमबाहेक छापेबापतको एक छाक भात पनि खाएको छैन ।

उनले भने, ‘अहिलेसम्म लेखेर कोही धनी त परै जाओस् बाँच्न पनि मुस्किल छ । म त स्थापित लेखक होइन । कसले पो किताब छाप्ला भनेर खोज्दै हिंड्ने मान्छे ।’

संवादको अन्तिमतिर प्रस्तोताले राखेको जिज्ञासा मात्र थियो यो । ‘महारानीको राजनीति’ नाम दिएको सेसनमा महत्वपूर्ण कुरा अर्को पनि थियो । म्याग्दीमा जन्मेका चन्द्रप्रकाश पोखराका बासिन्दा । पोखरामा निकै समयदेखि गुप्तवास बसेका उनलाई पोखराले नै चिन्दैनथ्यो । प्रस्तोता राजकुमार बानियाँले प्रश्न तेर्स्याए, ‘मदन पुरस्कार पाएपछि पोखरालाई सरप्राइज भयो होला नि ?’

तर, चन्द्रप्रकाशको ठम्याइमा पोखरालाई हर्ष न विस्मात थियो । दुई चार ठाउँमा कार्यक्रम गरिए पनि अझै आफू पोखराको लागि गुमनाम रहेको उनले प्रष्ट पारे ।

मदन पुरस्कारलाई ठूलो पुरस्कारको रुपमा लिइने नेपालमा चन्द्रप्रकाश अचम्मित छन् । ‘मलाई थाहा छैन, यो पुरस्कार मलाई किन दिइयो ?’ उनी भन्छन् ।

उनी आफू लेखक हुँ भनेर पनि स्वीकार गरिहाल्दैनन् । फाट्टफुट्ट पढ्ने र लेख्ने पात्रको रुपमा आफूलाई चित्रण गर्छन् । यसो भनिरहनुमा उनीसँग तर्क छ । भन्छन्, ‘मान्छेलाई धेरै कुराले प्रेरित गर्न सक्छ । त्यसमध्ये पनि एउटा कुराले मान्छेलाई कुदाउँछ । त्यो हो रहर । रहरले मान्छेले लेख्न थाल्छ । त्यो रहर बानीमा परिणत हुन्छ । अर्कोचाहिं मान्छेले प्रशस्त अध्ययन गर्छ र अनुभव सँगाल्छ । त्यसको ज्ञानरुपी मस्तिष्कको सागर भरिन्छ । जब ज्ञानले निकास खोज्छ अनि लेखिन्छ ।’

उनी आफूलाई दुवैको कित्तामा पार्दैनन् । पुरस्कार पाउँदा चन्द्रप्रकाश खुशी त भए । तर, उनको मत छ, ‘सम्मान पुरस्कार भनेको गौरव गर्ने कुरा हो गर्व गर्ने कुरा हैन ।’

महारानीले निकै चर्चा र परिचर्चा बटुल्यो । हरेक दिनजसो समीक्षा समेत लेखिए । ‘महारानी’ लगत्तै उनको निबन्ध संग्रह प्रकाशित भयो, ‘भौंज्याहा’ । तर, त्यसको चर्चा कतै सुनिएन । प्रस्तोताको प्रश्न थियो, ‘पुरस्कार पाएपछि मात्र चर्चा गर्ने कस्तो मानसिकता हो नेपाली साहित्यको ?

‘भौंज्याहा’ प्रकाशित गर्ने बेलामा अनुकूलता मिलेन कि भन्ने चन्द्रप्रकाशको आशय थियो ।

को हुन् महारानी ?

चन्द्रप्रकाशले म्याग्दीको इतिहासमा हात हाले । बाइसे चौबिसे राज्यमध्येको एउटा राज्य हो पर्वत राज्य । चन्द्रप्रकाश भन्छन्, ‘कसैले नलेखेको सामग्री मसँग थिए । मसँग थुप्रै कथा छन् । त्यसलाई मैले समाजलाई सुनाउनुपर्छ भन्ने लाग्यो ।’

त्यही कथा समाज र नयाँ पुस्तालाई भन्नका लागि नै चन्द्रप्रकाश आफूले उपन्यास लेखेको बताउँछन् । महारानीको रहस्यबारे उनले भने, ‘म्याग्दीमा चर्चित महारानीको पूजास्थल छ । त्यहाँ दिनहुँ मान्छेहरूको भीड लाग्छ । पूजास्थललाई धेरैले देवी ठान्छन् । तर, हैन । ती कुनै राजाको रानी थिइन् । त्यो जानकारी दिनको लागि उपन्यास लेखें ।’

राजनीतिमा संन्यासपछि साहित्य

२०५० सालमा चन्द्रप्रकाशलाई ब्रेन ट्युमर नभएको थियो भने उनी सक्रिय राजनीतिमै हुन्थे यतिबेला । सांसद समेत बनेका चन्द्रप्रकाशले राजनीति छाडेर साहित्यमा लागे । राजनीति छाडेकोमा चन्द्रप्रकाशलाई पछुतो छैन । उनी भन्छन्, ‘मलाई पश्चाताप छैन । बाँचिएको छ । अर्को क्षेत्रमा लागेर प्रतिष्ठा आर्जन गरिएको छ । मन्त्री भएको भए दुनियाँको सराप खाने न हो । मलाई अर्को बाटो हिंड्न परेकोमा खुसी छु ।’

महारानीमाथि सिनेमा र टेलिसिरियल बनाउने प्रस्ताव चन्द्रप्रकाशलाई आइरहेका छन् । प्रस्तोताको प्रश्नलाई जोड्दै उनले भने, ‘सिनेमा बनाउने कि भन्नेबारे टुंगोमा पुगेको छैन । सायद राम्रो निर्माता पाएँ भने बनाउन दिन्छु होला ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर