हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ? – Nepal Press
चीनको चिन्ता

हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

‘फुटेर गल्ती गर्‍यौ, अझै मिल्न सक्ने ठाउँ भए जस्तोसुकै सहयोग दिन्छौं’

काठमाडौं । आइतबार साँझ शीतलनिवास पुगेको चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई चीनका राष्ट्रपति सी जिनपिङले पठाएको नयाँ वर्षको शुभकामना सन्देश सुनायो । नेकपा विभाजनबाट चीन निराश भएको प्रष्ट संकेत पनि शीतलनिवासमा प्रकट भयो ।

आधिकारिक रुपमा आधा घण्टा भनिए पनि करीब एक घण्टाको छलफलमा शिष्टाचार र शुभकामना आदानप्रदान मात्र भयो होला ? सेरेमोनियल राष्ट्रपति भए पनि विद्या भण्डारी नेकपाको राजनीतिमा एक निर्णायक पात्र हुन् भन्ने बुझेको चिनियाँ पक्षले पार्टी विभाजनका बारेमा चासोे र चिन्ता राख्ने नै भयो ।

राष्ट्रपतिबाट भेटघाट शुरु गरेको चिनियाँ टोलीको मुख्य चिन्ता नेकपा फुटेपछि नेपालमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्ने हो कि भन्नेमा देखिएको नेकपाका एक नेताले बताए । नेकपाका दुवै पक्ष एकै ठाउँमा फर्किने सम्भावना छ कि छैन भनेर उनीहरुले चासो राखेका छन् ।

चार दिनका लागि आएको विदेश विभागका उपमन्त्री नेतृत्वको विशेष टोलीले राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई भेट्यो । जो तीनैजना नेकपाको राजनीतिसँग जोडिएका छन् । त्यसबाहेक विभाजित नेकपाका दुवै अध्यक्ष प्रचण्डमाधव नेपाल सहित झलनाथ खनाललाई पनि भेट्यो ।

यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो ।

चिनियाँ नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईसँग पनि भेट गरेको छ भने कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट्दैछ । चिनियाँ टोली नेकपा मिलाउनका लागि मात्र आएको होइन भन्ने सन्देश दिनका लागि पनि काठमाडौंस्थित चिनियाँ दूतावासले यसरी सबैसँग भेटवार्ताको चाँजाेपाँजो मिलाएको बताइन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको एक सय वर्ष पुग्न लागेको सन्दर्भमा नेकपासँग उसको घनिष्ठता पनि बढेको थियो । यसबीचमा संयुक्त पार्टी स्कूल संचालनलगायतका भाइचाराका सम्बन्ध घनिष्ठ हुँदै थियो । चीनले नेपालमा नेकपाको बलियो एकता र सरकारको स्थायित्वका लागि पछिल्लो समयमा देखिने गरी आफ्नो साथ दिएको थियो ।

चिनियाँ टोलीसँगको भेटवार्तामा सहभागी भएका एकजनाले नेपालप्रेससँग भने–‘पार्टी विभाजनबाट चिनियाँहरु निकै नै दुखित देखिए, जति दुखी हामी पनि छैनौं । उनीहरुले फुटेर गल्ती गर्‍यौ, अझै पनि मिल्ने ठाउँ भए मिल, चीनले जस्तोसुकै सहयोग गर्नुपरे पनि गर्छ भने । तर अब परिस्थिति धेरै अघि बढिसकेको कुरा उनीहरुले सबैसँगको भेटपछि बुझे होलान् ।’

यसपटक नेपाल आएको चीनको टोली सामान्य शिष्टाचार वा औपचारिक भ्रमणका लागि होइन । विमान चार्टर गरेर आएको यो प्रतिनिधिमण्डल विश्वकै सबैभन्दा ठूलो र शक्तिशाली कम्युनिष्ट पार्टीका महासचिव तथा महाशक्ति चीनका राष्ट्रपति सीको प्रत्यक्ष सन्देश लिएर आएको हो । स्रोतहरुका अनुसार उनीहरु ‘ननपेपर’ सन्देश नै लिएर आएका छन् ।

चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएको विषय भारतीय मिडियामा मात्र होइन संसारभर चर्चामा छ । जसको स्पष्टीकरण चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले पत्रकार सम्मेलनबाटै दिनुपरेको छ । चीनले नेपालमा कुनै राजनीतिक दल विभाजन रोक्न यो तहमा उत्रिएर प्रयास गर्नुले नेपाल मामिलासँग उसको भू–राजनीतिक रणनीति जोडिएको बुझ्न सकिन्छ ।

जसरी २०७२ असोज २ गते संविधानसभाबाट संविधान जारी हुनबाट रोक्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विदेश सचिव एस जयशंकरलाई विशेष दूतका रुपमा हठात् पठाएका थिए । अहिले चिनियाँ विशेष प्रतिनिधिमण्डलको आगमनलाई त्यही ढंगले बुझ्न सकिन्छ । तर त्यसबेला पनि जयशंकर संविधान रोक्न असफल भएका थिए भने यसपटक पनि चीन नेकपा विभाजन रोक्न असफल भएको छ ।

नेपाली कांग्रेससँग बीपी कोइरालाको पालादेखि बनेको चीनको राम्रो सम्बन्ध यसपटक हुम्लाको सीमा विवादलगायतका प्रकरणमा नराम्ररी बिग्रेको छ । उसले पछिल्ला वर्षहरुमा देखिने गरी नेपालमा नेकपालाई साथ दिएको थियो ।

राजनीतिक स्थायित्वका लागि बलियो नेकपाका लागि उसले जस्तोसुकै सहयोग गरिरहेको थियो र अझै पनि गर्न तयार रहेको सन्देश पठाएको छ ।

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को कार्यान्वयनमा नेपालको सुस्त गतिप्रति पनि चीनले आशंका जनाइरहेका बेला नवनियुक्त उर्जामन्त्री टोपबहादुर रायमाझीले पदभार ग्रहण गर्दै एमसीसी पारित नभए नेपालको उर्जाक्षेत्र डिप्रेसनमा जाने अभिव्यक्ति दिएको विषयलाई अवश्य पनि चीनले ‘नोट’ गरेको हुनुपर्छ ।

यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ ।

यद्यपि बीआरआई कार्यान्वयन अघि बढाउन चीनकै तर्फबाट परियोजना तथा लगानीको प्रष्ट खाका आउन ढिला भएकाले सोेचे जसरी काम नभएको नेपाल पक्षको भनाइ छ । प्रधानमन्त्रीसँगको करीब दुई घण्टा लामो छलफलमा नेकपा विभाजन मात्र होइन द्विपक्षीय हितका यी सबै विषयमा खुलस्त कुराकानी भएको स्रोतले जनाएको छ ।

यसबीचमा राजदूत होउ यान्छीले प्रधानमन्त्रीसँग भेट्न प्रयास गर्दा भेट नपाएको प्रसंग समेत चलिरहेका बेला चीनले उच्चस्तरकोे प्रतिनिधिमण्डल पठाएर नेकपाका दुवै पक्षसँग चीन समदूरीमा रहँदै पार्टी एकता कायम गराउन सक्दो प्रयासमा रहने सन्देश चाहिं दिएको छ । प्रचण्ड र माधव नेपालसँगको भेटमा पनि उनीहरुले केपी ओलीसँग मिलेर पार्टी र मुलुकको स्थायित्वमा जान जोड दिएको छ ।

तर प्रचण्ड पक्षले प्रतिनिधिसभा पुनर्स्थापना भएर केपी ओलीले गल्ती स्वीकार गरे मात्र पार्टी एकता कायम हुनसक्ने बताएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावनबारे पनि चीनले चासो राखेको छ । दुवै पक्ष ‘विन विन’ हुने गरी नेकपाको विभाजन रोक्ने कुनै सूत्र हुनसक्छ कि भन्ने जिज्ञासा पनि चिनियाँहरुले राखेको भेटमा सहभागीहरु बताउँछन् ।

चिनियाँ टोलीसँगको भेटमा सहभागी एकजनाले भने– ‘मुख्य कुरा नेकपा विभाजनपछि यहाँ अमेरिका र भारतको संयुक्त प्रभाव बढ्न सक्ने आकलनबाट उनीहरु असाध्यै चिन्तित देखिए । यो क्षेत्रको स्थायित्व र हिमालय क्षेत्रको सुरक्षामा उनीहरुको चासो छ । आफ्ना जिज्ञासा राख्ने बाहेक धेरै कुरा उनीहरुले यतैबाट सुन्न र बुझ्न चाहेको देखियो ।’

सबै भेटघाटहरुलाई गोप्य राख्न खोजेको चिनियाँ पक्ष विमानस्थलबाट पीपीई लगाएर आफ्नै सुरक्षामा दूतावास पुगेको थियो । उनीहरुले त्यहाँ सबैभन्दा पहिले आफ्नै राजदूतबाट ब्रिफिङ लिए । टोली आउने जानकारी राजदूत यान्छीले गत साता नै राष्ट्रपतिसहितका नेताहरुलाई भेटेरै गराइसकेकी थिइन् ।

स्रोतका अनुसार राजदूतलाई भेटेपछि चिनियाँ टोलीसँग पूर्व सभामुख कृष्णबहादुर महरासँग गोप्य भेट गराइएको थियो । महरासँग उनीहरुले नेकपा फेरि एक हुन सक्ने नसक्ने र विभाजनका कारणहरुबारे जान्न चाहेका थिए । महराले तत्काल दुवै पक्ष निषेधको अवस्थामा पुगे पनि आफू मिलाउने भूमिकामै रहेको बताएका थिए ।

महरासँग चिनियाँहरुको सम्बन्ध निकै घनिष्ठ छ र एमसीसी रोक्न कहीं न कहीं बेइजिङले महरालाई ‘ब्याक’ दिएको थियो भन्ने जानकारहरुको बुझाइ छ । नेकपाको निर्णायक स्थानमा नरहेका महरालाई चिनियाँ राजदूतले समेत विशेष प्रतिनिधिमण्डल आउने पूर्वसन्ध्यामा भेटेकी थिइन् ।

चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ ।

उनीहरुको चासो मुख्य जिज्ञासा चाहिं नेकपाको एकतामा सबै बिग्रिसकेको हो कि केही ठाउँ बाँकी छ ? फेरि एकता हुनलाई के–के आवश्यक पर्छ ? विभाजन किन भयो ? यस्तै यस्तै थिए । राष्ट्रपतिसँग चाहिं खुलेर यस्ता विषयमा कुराकानी नभएको स्रोत बताउँछ । नेताहरुलाई चाहिं फुटेर गल्ती गर्‍यौ भन्ने प्रष्ट सन्देश दिएका छन् ।

चिनियाँहरु विभिन्न नेतासँगको भेटपछि दूतावासमा बसेर विश्लेषण गर्ने र त्यसपछि अर्को भेटमा जाने गरेका छन् । सबै परिस्थितिको सूचना, विश्लेषण र सम्भावित सहयोगसहितको प्रतिवेदन उनीहरुले बेइजिङमा बुझाउनुपर्ने भएकाले सबै पक्षसँग संवादमा छन् ।

चीनले नेकपा विभाजन हुन नदिन राजदूतमार्फत पटक पटक प्रयास गरेको हो । अचानक विभाजनकै अवस्था आएपछि सी जिनपिङकै अग्रसरतामा विशेष टोली पठाइएको बुझ्न कुनै समस्या छैन ।

चिनियाँहरुलाई भेटेका नेताहरु र उनीहरुसँग वार्तामा बसेकाहरुसँगको कुराकानीका आधारमा यति भन्न सकिन्छ, नेकपा विभाजनले चीन दुःखी छ र नेपालमा राजनीतिक अस्थिरता भई हिमालय क्षेत्रमा भारत र अमेरिकाको संयुक्त प्रभाव बढ्न सक्नेमा चीन चिन्तित छ । र नेकपाका नेताहरुलाई एकतामा फर्काउन आफ्नोतर्फबाट जस्तोसुकै सहयोग गर्न तयार छ ।


प्रतिक्रिया

2 thoughts on “हिमालय क्षेत्रमा भारत-अमेरिका गठबन्धन बन्ने हो कि ?

  1. मात्रिकाजीको लेख र तपाईको टिमबाट प्रकाशित समाचार र लेख सन्तुलित लाग्यो । कृपया यसलाई कायम राख्नु होला, अन्यले झै समाचारमा विचार नमिसाइदिनु होला, धन्यवाद । सबैले प्रिय बनोस् ‘नेपालप्रेस’ शुभकामना!

  2. आजकलको पत्रकारमा पत्रकारिता भन्दा राजनिति बढी दैख्छु तर यो लेख एकदम मन पर्यो। यस प्रकारको पत्रकारीता कम पढ्न पाइन्छ आजकल।धन्यबाद पत्रकार साथीलाई।

Leave a Reply to अनुश खड्का Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर