गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो – Nepal Press

गृहजिल्ला पुगेर कमल थापाले भने–कम्युनिष्ट,कांग्रेस असफल भए, अब राप्रपाको पालो

हेटौंडा । ताजा जनादेशको पक्षमा उभिएका राप्रपा अध्यक्ष कमल थापा सोमबार दिनभर गृहजिल्ला मकवानपुरमा कार्यकर्ता भेलामा सहभागी भएका छन् ।

हिन्दू, राजसंस्था पुनःस्थापनाको पक्षमा पुस १७ गते हुन लागेको बृहत् प्रदर्शनको तयारीका लागि उनी हेटौंडा पुगेका हुन् । मकवानपुरको वागमती गाउँपालिकामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले २०६२/६३ को परिवर्तन पछि मुलुकले लिएको बाटो र मार्गचित्र नै त्रुटिपूर्ण भएको भन्दै थापाले त्यो मार्ग सच्याउन जरुरी भएको बताए ।

उनले अब कांग्रेस र कम्युनिष्टको विकल्प राप्रपा भएको दाबी गरे । राईगाउँ र फापरबारीमा आयोजित छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्दै थापाले आफूले चुनाव के कारणले हारेको बुझ्न नसकेको समेत बताए । थापाले आफूले मकवानपुरे जनताको थप माया खोजेको बताए। क्रान्ति र परिवर्तनको गफ दिने शक्तिहरु स्वार्थ, शक्ति र पदको भागबण्डामा रुमलिएर देशलाई बर्बाद गराउन उद्यत रहेको भन्दै थापाले आफूलाई ठूला भन्ने शक्ति कांग्रेस, कम्युनिष्ट असफल भएको बताए ।

कार्यक्रममा बोल्दै पार्टीका कार्य सम्पादन समिति सदस्य राजाराम बर्तौलाले इमानदारिता, निष्ठा र सिद्धान्तप्रतिको प्रतिबद्धताको जगमा टेकेर राप्रपालाई मुलुकको बलियो र स्थायी शक्ति बनाउनुपर्ने आवश्यकतामा जोड दिए। भ्रष्ट र अक्षमलाई विस्थापित गरी राप्रपालाई स्थापित गर्न उनको आग्रह थियो ।

कार्यक्रममा राप्रपा मकवानपुर अध्यक्ष रामहरि न्यौपाने, जिल्ला सचिव सागर थापा,  दिलबहादुर बल, शरणकाजी श्रेष्ठ, जोसेफ राई,  मदन रानालगायतले बोलेका थिए। थापाले विभिन्न पार्टी परित्याग गरेकालाई राप्रपामा स्वागत गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर