ओलीलाई सरकार चलाउने अधिकार छैनः नेता सिंह – Nepal Press

ओलीलाई सरकार चलाउने अधिकार छैनः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता संचालनको नैतिक र राजनीतिक हैसियत गुमाएको बताएका छन् । काठमाडौं क्षेत्र नम्बर १ अन्तर्गत नेपाली कांग्रेसले नयाँबानेश्वरमा गरेको विरोधसभालाई सम्बोधन गर्दै नेता सिंहले प्रधानमन्त्री ओली इतिहासकै असफल भएको दाबी गरे ।

प्रतिपक्षमा बसेर नेपाली कांग्रेसले बारम्बार खबरदारी गरेपनि सरकार नसुध्रिएको भन्दै नेता सिंहले पार्टीको विवाद मिलाउन नसकेर जनतालाई दुःख दिन खोजेको आरोप लगाए । ‘जनताले त पाँच वर्षलाई म्याण्डेट दिएको हो । कम्युनिष्टहरु आफ्नो पार्टीको विवाद मिलाउन नसकेर फेरि जनतालाई दुःख दिन खोज्दैछन्’, सिंहको आरोप थियो । नेता सिंहले सरकारविरुद्ध कांग्रेस यसअघि नै सडकमा उत्रिएको स्मरण गराउँदै गैरसंवैधानिक कदमविरुद्ध आम जनता सडकमा उत्रिनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले ताजा जनादेशको कुरा गरेर आफूलाई लोकतन्त्रवादी देखाउन खोज्नु हास्यास्पद भएको सिंहको तर्क छ । ‘जुन प्रधानमन्त्रीले जनमतअनुसार सरकार चलाउन नसकेर पार्टीभित्र झगडा गर्यो उसले लोकतन्त्रको पाठ नसिकाए हुन्छ’, सिंहले भने । नेता सिंहले नेपालका लागि कम्युनिष्ट नेतृत्वको सरकार उपयुक्त नभएको भन्दै जनताले विचार गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री हुनासाथ भ्रष्टाचारीको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्री ओलीको वरपर भ्रष्टहरुको घेरा रहेको आरोप समेत सिंहले लगाए । ‘भ्रष्टाचारको मुख हेर्दिनँ भन्ने प्रधानमन्त्रीले दायाँ बायाँ भ्रष्टहरुलाई च्यापेर हिंडेको पनि देखियो’, सिंहले भने ।

प्रतिनिधिसभा विघटन विरुद्ध कांग्रेसले सोमबार देशैभरि प्रदर्शन गरेको हो । बानेश्वरमा पुगेर सभामा परिणत हुनुअघि काठमाडौं क्षेत्र नम्बर १ ले विभिन्न स्थानबाट र्‍याली प्रदर्शन गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर