नेकपा विभाजन जनविरोधी अपराध हो, तत्काल मिल – Nepal Press
नेपाल चिन्तन

नेकपा विभाजन जनविरोधी अपराध हो, तत्काल मिल

धेरैले शुरूदेखि नै शंका गरेको तर आठ महीनादेखिको अर्घेलो नेकपाको फुटमा परिणत होला भन्ने कमैले सोचेका थिए । अहिले फुट वास्तविकतामा परिणत भएको छ ।

बाहिर जे–जे भनिए तापनि एकता केपी ओली र प्रचण्डको व्यक्तिगत राजनीतिक जोडघटाउलाई ख्याल गरेर भएको थियो भने अहिले फुट पनि दुई जनाको व्यक्तिगत टकरावकै कारण भएको छ । यो फुटको कारण न कुनै राजनीतिक कार्यक्रममा फरकपना आएर हो न कुनै सैद्धान्तिक मतभेदको नै कुरा हो ।

तर नेकपाको एकताले एउटा नयाँ परिवेश र अवस्थाको सिर्जना गरिदिएको थियो । चुनाव जित्ने अथवा सरकार बनाउने अवसर मात्रै थिएन, देशमा राजनीतिक स्थिरता दिने, जनमुखी आर्थिक उन्नतिका संरचनाहरू निर्माण गर्ने, भूराजनीतिक रूपमा देशलाई स्वाधीन र बलियो बनाउने, लामो समयदेखि द्वन्द्वको अवस्थाबाट गुज्रिएको नेपाली समाजलाई शान्ति र समृद्धिको अवसर दिने खालका सम्भावनाहरू निक्लिएका थिए । नेकपाको एकताले मात्रै यी सम्भावनाहरू निकालेको थिएन बरु नेपाली जनताले यो अवसर सिर्जना गरिदिएका थिए ।

यो फुट मूलतः तत्कालीन एमाले र माओवादीबीचमै भएको हो । तत्कालीन एमालेमा पहिलेदेखि नै विद्यमान गुटहरूलाई समेत फुटाएको छ र त्यो पनि व्यक्तिगत इख र स्वार्थ नै हावी भएको कारण फुटको अवस्थामा पुगेको देखिन्छ । फुटको कारणको बारेमा कसैले पनि राजनैतिक र सैद्धान्तिक व्याख्या गर्न सकेका छैनन् ।

आन्तरिक रूपमा एमालेभित्रको शक्ति–संघर्षमा खेल्दै जसरी पनि पार्टीको मुख्य व्यक्ति हुने र प्रधानमन्त्री नभई नछाड्ने प्रचण्डको खेल, केपी ओलीलाई आफ्नो नेता मान्न तयार नभएका माधव नेपाल र झलनाथ खनालको जसरी पनि आफू पदमा पुग्ने चाहना, केपी ओलीलाई दबाबमा राखेर आफ्नो भूमिकालाई दरिलो बनाउने वामदेव गौतमहरूको योजनाका कारण धेरैलाई अप्रत्यासित लाग्ने पार्टी फुटको अवस्था आएको हो ।

विगत तीस वर्षदेखिको गुट र फुटको इतिहासलाई अध्ययन गर्ने हो भने हरेक घटनामा व्यक्तिगत कारण नै मुख्य देखिएको छ । साथै, पद र शक्ति–संघर्षलाई प्राथमिकता दिने गरेको कारण फुट हुने गरेको पनि प्रष्ट छ ।

विश्वभरि नै कम्युनिष्ट पार्टीहरू व्यक्तिगत शक्ति–संघर्षलाई राजनीतिक आवरण दिएर फुट्ने गरेका छन् । तर यसचोटि नेपालमा शक्ति–संघर्षलाई नै मुख्य आधार बनाएर फुटेका छन् र यसबाट नेकपा जस्ता दलहरू झनै बढी बुर्जुवाकरणको सिकार हुँदै गएका छन्; जनताबाट अझ धेरै टाढिंदै छन् भन्ने प्रष्ट देखिन्छ ।

आर्थिक रूपमा दलाल पूँजीवादको कब्जामा पुग्नु र राजनीतिक रूपमा व्यक्ति–प्रधानतालाई प्रश्रय दिनु नै नेपालमा पार्टीहरूको बुर्जुवाकरण हुनु हो । नेपालका अन्य सबै राजनीतिक शक्तिहरू यसको शिकार भइसकेका छन् ।

अहिलेको फुटमा आ–आफ्ना गुटगत समूहका पक्षमा नारा जुलुस गर्ने कार्यकर्ता तयार गरिएका भए पनि समग्रमा कोही पनि खुशी छैनन् । कुनै उत्साह छैन र धेरैमा लाज भएको प्रष्ट देखिन्छ । अब फेरि अस्थिरताको शुरुआत भयो भन्ने डर जनता बीचमा बढेको छ भने राजनीतिक दलालहरू एकाएक पुनः हावी हुने अवस्था सिर्जना भएको छ । दल फेरबदल, चुनावी टिकटको किनबेच जस्ता कुरा फेरि सामान्यीकरण हुँदै जाने खतरा देखिन्छ । नेपाली जनताले यो अवस्थाबाट मुक्ति खोजेका थिए ।

देशभित्र आवरणमा जातीय राज्यलाई बढावा दिने तर समग्रमा नेपाललाई कुनै ढंगको भारतीय छत्रछायाँमा रहनु ठीकै हो भन्ने मान्यता राख्नेहरू केही खुशी भएका देखिन्छन् । अहिले फुटेको एउटा शक्ति र जसपा जस्ता अन्य साना दलहरू बीचमा कुनै ढंगको गठबन्धन भयो भने आश्चर्य नमान्दा हुन्छ । तर भित्री कुराहरू छरपस्ट हुन थालेपछि र भारतीय हैकमवादले फेरि आन्तरिक राजनीतिमा चलखेल गरेको नेपाली जनताले देख्न थालेपछि नयाँ खालको राष्ट्रवादी राजनीतिक धारको सिर्जना हुने सम्भावना बढी छ । यो अवस्थामा केपी ओली पक्षीय धार बढी निर्णायक हुनेछ ।

नेपालको युवा पुस्ता भारतीय हस्तक्षेपको विरोध गर्दै हुर्केको पुस्ता हो र राजनीतिक सिद्धान्त भन्दा राष्ट्रवादी भावनाले यो पुस्तालाई बढी आकर्षण गर्छ ।

नेपाली कांग्रेस केही हदसम्म खुशी नै भएको हुनुपर्छ जुन स्वाभाविकै हो । आउने चुनावमा अलि बढी ठाउँमा जित हात पार्न सक्ने सम्भावनालाई मध्यनजर गरेर चुनावमा होमिने पक्षमा नेपाली कांग्रेस छ । तर देशमा उत्पन्न हुने राजनीतिक अस्थिरताले कांग्रेसलाई फाइदा गर्दैन । विगत तीस वर्षदेखिको राजनीतिक अस्थिरताको सबैभन्दा ठूलो भागिदार नेपाली कांग्रेस हो भन्ने जनताले ठानेका छन् र यो कुरा अहिलेको पुस्ता र युवा पुस्ताले समेत सजिलै बिर्सने अवस्था छैन ।

तत्कालीन रूपमा केही सिटहरू बढाए पनि गुट र शक्ति–संघर्षमा डुबेको, राजनीतिक, आर्थिक र भूराजनीतिक हिसाबले नेपाललाई कुनै नयाँ आयाम दिन नसक्ने अवस्थामा पुगेको नेपाली कांग्रेसले अब बढ्न सक्ने अस्थिरताका बीचमा कुनै राजनीतिक फड्को मार्ने अवस्था छैन ।

भारतीय मिडिया र थिङ्कट्यांकहरूले त अब नेपालमा भारत हावी हुन्छ र चीनलाई हिमालय क्षेत्रमा रोक्न सकिन्छ भनेर खुशियाली नै मनाइरहेका छन्, तर यो खालको भारतीय सोच पनि अदूरदर्शी र अपरिपक्व नै छ

जातीय, क्षेत्रीय र अन्य पपुलिस्ट नारा बोकेर हिंडेका समूहहरूलाई नेपाली जनताले स्वीकार गर्ने अवस्था छैन । यस्ता समूहहरूले न राजनीतिक परिपक्वता देखाउन सक्ने क्षमता राख्छन् न देशव्यापी संगठन र संरचना निर्माण गर्ने कौशलता नै छ । आउने चुनाव र त्यसपछिको लामो समयसम्म केही भोटको तल–माथि त पार्लान् तर समग्रमा खिचातानी र अस्थिरताबीच अहिलेकै राजनीतिक शक्तिहरू हावी हुने निश्चितप्रायः छ ।

भूराजनीतिक रूपमा एमाले र माओवादी मिलेर ठूलो शक्ति बन्नुलाई भारतीय पक्षले ठूलो असफलता ठानेको थियो भने अहिलेको यो फुटलाई सफलता मान्नु स्वाभाविकै हो । भारतीय मिडिया र थिङ्कट्यांकहरूले त अब नेपालमा भारत हावी हुन्छ र चीनलाई हिमालय क्षेत्रमा रोक्न सकिन्छ भनेर खुशियाली नै मनाइरहेका छन् । तर यो खालको भारतीय सोच पनि अदूरदर्शी र अपरिपक्व नै छ । नेपाली जनताले भारतीय हैकमवादको विकल्प खोजेका हुन् भन्ने कुरा भारतले कहिल्यै बुझ्न सकेन ।

तर राजनीतिक मुद्दाहरूलाई क्रमशः स्थिर राखेर आर्थिक समृद्धिको लागि अघि बढ्न खोजेको नेपालको लागि अति आवश्यक राजनीतिक ध्रुवीकरण भने कमजोर हुने अवस्थामा पुगेको छ । राजनीतिक अस्थिरतामै देशको स्रोत र साधन खर्च हुने, वैदेशिक लगानी र व्यापारमा नेपालको पराधीनता बढेर जाने र नेपालीको आन्तरिक राजनीतिमा विदेशी हस्तक्षेप बढेर जाने भएकोले नयाँ नयाँ खाले संकटहरू देखा पर्न थाल्नेछन् ।

यो हिसाबले हेर्दा अहिले नेकपा फुटाउने काम समग्रमा जनविरोधी अपराध नै हो । यो कामले देशको समृद्धिको यात्रालाई धेरैपछि मात्रै धकेल्दैन बरु लामो समयका लागि नेपाललाई पराधीन बनाउने खेलले मूर्तरूप लिने अवस्थामा पुर्‍याउँछ ।
नेकपा फुटाउने र अहिलेकै अवस्थामा सरकारलाई विस्थापित गर्ने कामले कम्तीमा तलका ६ वटा कुराहरू तत्कालै देखा परेका छन् जसले नेपाललाई ठुलो घाटा पुर्‍याउने अवस्था छ र यसको असर लामो समय रहनेछ ।

पहिलो, राजनीतिक मुद्दालाई एउटा टुंगोमा पुर्‍याएपछिको अहिलेको अवस्थामा आर्थिक समृद्धि र जीविकोपार्जनको सवाल सबैभन्दा महत्वपूर्ण थियो । लगातारको नेकपाभित्रको आन्तरिक द्वन्द्वको कारण समृद्धिको अभियानले मूर्तरूप लिन सकेन । केही आशलाग्दा कामहरू शुरू भएका थिए तर समग्र समृद्धिको राष्ट्रिय योजना निर्माणमा सम्पूर्ण पार्टी संरचना र नेतृत्वलाई परिचालन गर्ने काम भएन । नेकपाको फुटले राष्ट्रिय अर्थतन्त्र निर्माण र स्वाधीन खालको समृद्धिको अभियान चलाउने कुरामा ठूलो अवरोध सिर्जना भएको छ । राजनीतिक अस्थिरताका बीच समृद्धिको अभियानले ठोस रूप लिन सक्दैन ।

अहिलेको फुटमा आ–आफ्ना गुटगत समूहका पक्षमा नारा जुलुस गर्ने कार्यकर्ता तयार गरिएका भए पनि समग्रमा कोही पनि खुशी छैनन् । कुनै उत्साह छैन र धेरैमा लाज भएको प्रष्ट देखिन्छ । अब फेरि अस्थिरताको शुरुआत भयो भन्ने डर जनता बीचमा बढेको छ भने राजनीतिक दलालहरू एकाएक पुनः हावी हुने अवस्था सिर्जना भएको छ । दल फेरबदल, चुनावी टिकटको किनबेच जस्ता कुरा फेरि सामान्यीकरण हुँदै जाने खतरा देखिन्छ ।

दोस्रो, अहिले विकसित घटनाक्रमले बीआरआईका माध्यमबाट नेपाल र चीनलाई जोड्ने र नेपाललाई भारत पराधीन अवस्थाबाट मुक्त गरी स्वतन्त्र अर्थतन्त्र निर्माण गर्नेतर्फ उन्मुख हुने यो महत्वपूर्ण अवसरलाई नेपाली जनताले गुमाउने अवस्था आएको छ । भूराजनीतिक हिसाबले नेकपा फुटाउन लागिपरेका शक्तिहरूको उद्देश्य नै बीआरआईमा नेपालको भूमिकालाई रोक्ने नै हो । हिमालय क्षेत्रमा कनेक्टिभिटी संजाल निर्माण गरी आर्थिक उन्नतिको अवसर सिर्जना गर्ने काममा बाधा सिर्जना गर्नु नेपाली जनतामाथिको अपराध नै हो ।

तेस्रो, नेपाली जनताले राजनीतिक अस्थिरतालाई सबैभन्दा ठूलो शत्रुको रूपमा हेरेका थिए । पछिल्लो समय देखिएको स्थिरताले केही आशावादी पनि भएका थिए । अहिलेको नेकपा फुटले नेपालमा राजनीतिक स्थिरता कहिल्यै हुँदैन भन्ने सन्देश दिने र अस्थिरतामा खेल खेल्नेहरूलाई फाइदा पुग्ने गरी नयाँ पुस्तालाई राजनीतिबाट विकर्षण उन्मुख बनाउन चाहनेहरूको जित भएको छ । यो अवस्था सिर्जना गर्नु राजनीतिक अपराध हो ।

चौथो, संविधान निर्माण र नाकाबन्दीलाई डटेर सामना गरेपछिको अवस्थामा नेपाल भूराजनीतिक हिसाबले बलियो हुँदै आएको थियो । एक हिसाबले दिल्लीमा पुगेको राजनीतिक शक्ति नेपालमा पुनर्स्थापित गर्न सफल भएको थियो । यो खालको स्वतन्त्र पहिचान राख्न सफल र राजनीतिक हस्तक्षेपलाई कमजोर बनाएको अवस्थालाई तल–माथि हुने गरी राजनीतिक रूपमा कमजोर बनाउनु देशको साख गिराउनु हो ।

पाँचौं, ठूलो साहस र राष्ट्रिय एकताका साथ नेपालले चुच्चे नक्शा जारी गरेको थियो । यो नक्शाले नेपाली जनताबीचमा नयाँ आत्मविश्वास र उत्साह भरेको थियो भने भूराजनीतिक हिसाबले तरंग नै ल्याइदिएको थियो । तर नक्शामा समेटिएको भूभाग नेपालकै बनाउन धेरै र कठिन कामहरू गर्न बाँकी छन् । भारत वार्ताका लागि तयार भएको र सकारात्मक रूपमा अघि बढेको अहिलेको अवस्थामा नेपालको सरकार र प्रस्तुति कमजोर देखिने गरी नेकपालाई फुटाउनु आत्मघाती नै हो । नेपाललाई लामो समयपछि प्राप्त यो अवसरमा नेपालको राष्ट्रिय एकता झन् मजबूत भएको देखाउनु आवश्यक थियो ।

छैटाैं, पार्टी फुटले अब प्रदेश सरकारहरू खल्बलिने अवस्था छ । प्रदेश सरकार र अन्य संघीयता सम्बन्धी संरचनाहरूप्रति जनताको खासै सकारात्मक भावना छैन । यो अनावश्यक खर्च हो भन्ने नै आम बुझाइ छ । अब प्रदेश सरकारहरू परिवर्तन हुने र प्रदेश संसदहरू नै भंग हुने अवस्था आएको खण्डमा जनतामा झनै ठूलो नकारात्मकता बढेर जान्छ । संविधान नै संशोधन गर्नुपर्नेसम्मका मागहरू निस्कन थाल्नेछन् र संघीयता माथि नै जनभरोसा टुट्नेतर्फ जानेछ । स्थानीय सरकारहरू मार्फत जनस्तरमै विकास र प्रजातन्त्रको जग स्थापना गर्ने अवसरलाई कमजोर बनाउनेछ ।

यस्ता अनेकौं सबाल छन् जसले नेपाललाई ठूलो नोक्सानी पुर्‍याउने अवस्था छ । देशको अस्तित्वमा नै खेलबाड हुने र जनताको चाहनालाई कुठाराघात हुने गरी अस्थिरताको सिर्जना गर्नु कुनै हालतमा क्षम्य हुनुहुँदैन । के कारणले यहाँ आइपुग्यो भन्ने समीक्षा गर्दै पुनः एकता गर्दै अघि बढ्नु नै समग्रमा हितकर हुनेछ ।

सर्वोच्च अदालतले कुनै हिसाबले रोक्यो भने मात्रै अन्यथा अब चुनाव रोकिने अवस्था छैन । फेरि एकता गर्दै चुनावमा जाने र नयाँ स्थिरता कायम गर्नेतर्फ लाग्नु नै दुवै पक्षको हितमा छ । केपी ओलीले अर्को पटक सरकार र पार्टीतर्फ कुनै नेतृत्व नलिने बताइसकेको हुनाले अर्को पक्षका प्रचण्डलगायतका नेताहरूलाई सक्रिय राजनीतिबाट विदा गर्नु नै यी सबै समस्याको समाधान हो ।

जहाँ राजनीतिक र सैद्धान्तिक भन्दा व्यक्तिगत टकरावले समस्या आएका छन् त्यहाँ टकरावमा सामेल भएका व्यक्तिहरूलाई विश्राम दिने हो भने संस्था जोगाउन सकिन्छ । विना पूर्वाग्रह दोस्रो पुस्ताका नेताहरू एकजुट हुने हो र नयाँ शिराबाट सोच्ने हो भने यो फुटबाट जोगाउन सकिन्छ र अस्थिरताबाट फेरि नेपाललाई मुक्ति दिनेतर्फ एक कदम थप्न सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाल अपडेट ट्रेन्डिङ