भिडियो र तस्बिरमा हेर्नुस् नयाँ मन्त्रीको पदभार ग्रहण – Nepal Press

भिडियो र तस्बिरमा हेर्नुस् नयाँ मन्त्रीको पदभार ग्रहण

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि केही मन्त्री बहिर्गमन भए । उनीहरुले छाडेपछि रिक्त रहेका मन्त्रालयमा प्रधानमन्त्रीले तत्कालै नयाँ मन्त्री नियुक्त मात्र गरेनन्, कतिपय मन्त्रीको मन्त्रालय परिवर्तन समेत गरे ।

शुक्रबार नियुक्त भएका मन्त्रीहरुले आइतबार आ-आफ्नो पदभार ग्रहण गर्दै सरकारको मुख्य काम प्रतिनिधिसभाको निर्वाचन गर्ने रहेको बताए ।

टोपबहादुर रायमाझी

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउनको निम्ति आफू सरकारमा आउनुपरेको बताए । उनले देशमा स्थिरताका लागि मध्यावधि निर्वाचनमा जानु अनिवार्य आवश्यकता रहेको प्रष्ट पारे ।

प्रभु साह

शहरी विकास मन्त्री प्रभु साहले पनि सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा निर्वाचन गर्नु रहेको भन्दै मन्त्रालयले निर्वाचन केन्द्रित काम गर्ने बताए ।

मणिचन्द्र थापा

खानेपानी मन्त्री मणिचन्द्र थापाले देशको समृद्धि, स्थायित्व तथा स्थायी सरकारको विषय मुख्य भएकाले देशलाई स्थिरतातर्फ लैजान कोसिस गरिरहेको बताए । उनले स्थिरता र समृद्धिको बाहकको रुपमा स्थायी सरकार बनाउन जरुरी रहेको धारणा राखे ।

भानुभक्त ढकाल

स्वास्थ्यबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताए ।

दावा लामा

युवा तथा खेलकुद मन्त्री दावा तामाङले खेल क्षेत्रका विज्ञ व्यक्तित्व र खेल क्षेत्रमा जीवन बिताएका खेलाडी र विज्ञसँग परामर्श गरेर खेलकुद क्षेत्रमा परिणाममुखी योजनाका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

हृदयेश त्रिपाठी

संघीय मामिलाबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका हृदयेश त्रिपाठीले सबै नागरिकलाई निःशुल्क कोरोना भ्याक्सिन उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । उनले कुनैपनि स्वास्थ्य सामग्री खरिदमा आफ्नो कार्यकालमा अपारदर्शी काम हुन नदिने प्रतिबद्धता पनि जनाए ।

पद्मा अर्याल

भूमि व्यवस्था मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्री बनेकी पद्मा कुमारी अर्यालले कोभिडका कारण विदेशबाट फर्किएका उर्जाशील जनशक्तिलाई कृषि क्षेत्रमा आकर्षित गर्न विभिन्न कार्यक्रमहरु ल्याउने दायित्व मन्त्रालयको भएको बताइन् । मन्त्री अर्यालले सात वटै प्रदेशमा २५ हजार मेट्रिक टन क्षमताको रासायनिक मल भण्डारको स्थापना गर्ने समेत बताइन् ।

प्रेम आले

नवनियुक्त वनमन्त्री प्रेम आलेले आफू निर्वाचन गराउने प्रधानमन्त्रीको संकल्प पूरा गर्न आएको भन्दै मन्त्रालयका दैनिक काममा हस्तक्षेप नगर्ने बताए । तर वन तथा वातावरणको क्षेत्रमा दीर्घकालीन रुपमा मुलुकले फाइदा लिने खालका नीतिगत काम अघि बढाउने प्रष्ट पारे ।

जुलीकुमारी महतो

नवनियुक्त महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले प्रतिनिधिसभा विघटन बाध्यात्मक परिस्थितिमा भएकाले अब त्यसको पुनर्स्थापना नहुने बताइन् । उनले महिला बालबालिका र ज्येष्ठ नागरिकको हितमा आफूले नीतिगत काम गर्ने बताइन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर