चेल्सीमाथि आर्सनलको जित, शेफिल्डलाई हराएर एभर्टन दोस्रोमा – Nepal Press

चेल्सीमाथि आर्सनलको जित, शेफिल्डलाई हराएर एभर्टन दोस्रोमा

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले चेल्सीमाथि ३–१ गोलअन्तरको जित हासिल गरेको । पछिल्लो २ महिनायता आर्सनलले प्रिमियर लिगामा पहिलो जित हासिल गरेको हो ।

घरेलु मैदान इमिरेट्स रंगशालामा अलेक्जान्द्रे लाकाजेट्टेले पेनाल्टीमार्फत ३४ औं मिनेटमा आर्सनललाई अग्रता दिलाएका थिए । पहिलो हाफको एक मिनेटअघि ग्रानित जाकाले गोल गरेपछि आर्सनलले अग्रता दोब्बर बनायो ।

बाकायो साकाले ५६ औं मिनेटमा आर्सनलका लागि तेस्रो गोल गरेका हुन् । चेल्सीका ट्यामी अब्राहमले ८५ औं मिनेटमा सान्त्वना गोल फर्काए पनि जितका लागि पर्याप्त भएन ।

गएको नोभेम्बर १ मा म्यानचेस्टर युनाइटेडमाथि जित हासिल गरेयता आर्सनलले प्रिमियर लिगमा लगातार ७ खेल जित्न सकेको थिएन । जितपछि १७ अंकसहित आर्सनल १४ औं स्थानमा उक्लिएको छ ।

यता जिल्फी सिगर्डसनको निर्णायक गोलका कारण एभर्टनले रेलिगेसन जोनमा संघर्षरत शेफिल्ड युनाइटेडमाथि जित हासिल गर्दै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

शेफिल्डले घरेलु मैदानमा बहादुरीपूर्ण प्रदर्शन गरेको थियो । लिगका सुरुआती १५ खेलमा २ अंकमात्र जोडेको शेफिल्डमाथि ८० औं मिनेटमा सिगर्डसनले गोल गरेका हुन् ।

जितपछि १५ खेलबाट २९ अंकसहित एभर्टन अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको शीर्ष स्थानको लिभरपुलको २ अंक बढी छ ।

शनिबार म्यानचेस्टर युनाइटेड र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका कारण अंकतालिकाको तेस्रो र चौथो स्थानमा क्रमसः लेस्टर (२८) र युनाइटेड (२७) छन् ।

गएराति न्युकाशल युनाइटेडलाई २–० गोलले पराजित गरी म्यानचेस्टर सिटी पाँचौं स्थानमा पुगेको छ । घरेलु मैदान इथिहाड रंगशालामा सिटीका लागि १४ औं मिनेटमा गुन्डोगान र ५५ औं मिनेटमा फरान टोरेसले गोल गरेका थिए ।

जितपछि १४ खेलबाट २६ अंकसहित सिटी पाँचौं स्थानमा पुगेको हो । शनिबार फुलह्याम र साउथह्याम्प्टनले गोलरहित बराबरी खेले भने एस्टोन भिल्लाले क्रिष्टल प्यालेसलाई ३–० ले हरायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर