अदालतबाट प्रतिकूल फैसला आयो भने जुधेर अघि बढ्छौं – Nepal Press
नेपाल टक

अदालतबाट प्रतिकूल फैसला आयो भने जुधेर अघि बढ्छौं

‘प्रतिगमन भएको छ, जनतालाई सडकमा ओराल्छौं’

साबिक नेकपा एमालेको उपाध्यक्ष रहेका युवराज ज्ञवाली पार्टी एकतापछिको अवधिमा लगभग छायाँमा परे । संसदीय राजनीतिमा जननिर्वाचित नभएपछि नेताहरु छायाँमा पर्नु स्वाभाविक हो । तत्कालीन एमालेका १६ जना पदाधिकारीमध्ये २०७४ को संसदीय निर्वाचनमा चुनाव नलडेका वा टिकट नपाएका नेता ज्ञवाली मात्र थिए ।

उनी पार्टीभित्र माधव नेपाल पक्षका भएकाले केपी ओलीबाट पेलिएको गुनासो गर्दै नै आएका थिए । राष्ट्रियसभाको टिकट अपेक्षा गरेको ज्ञवालीले त्यो मात्र होइन प्रदेश कमिटी गठनमा इन्चार्जको भूमिका समेत नपाएपछि ओलीविरुद्ध खरो बोल्दै आएका थिए ।

नेकपा स्थायी कमिटी सदस्य ज्ञवाली अहिले प्रचण्ड–माधव नेपाल समूहमा छन् । उनै ज्ञवालीसँग नेकपा विभाजनपछिको अवस्थाबारे गरिएको कुराकानी प्रस्तुत छ, नेपाल टक ।

आरामदायी बहुमत पाएर सरकारमा पुग्दा पनि संसद विघटन गर्नुपर्ने र पार्टी फुट्ने अवस्था कसरी आयो ?

नेपालको राजनीतिमा कम्युनिष्ट आन्दोलनले जनताबाट झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेर सरकार बनाउने जुन परिस्थिति आयो यो नेपालमा मात्रै होइन, विश्व कम्युनिष्ट आन्दोलनमै पनि विशिष्ट घटना थियो । लोकतान्त्रिक प्रक्रियाबाट बहुदलीय प्रतिस्पर्धाका आधारमा स्थानीय तहदेखि केन्द्रसम्म सरकार बनेको चाहिं शायद संसारमै पहिलो घटना हो ।
यस्तो अनुकूलता बीपी कोइरालालाई पनि थिएन । किनकि त्यतिबेला राजाको तरबार झुन्डिएकै थियो । तर, अहिले पार्टी भित्र र बाहिर पनि कुनै अवरोध थिएन ।
यस्तो बेलामा पनि पार्टीभित्र छलफल भयो, बहस भयो, कतिपय कुुरामा आलोचना भयो भन्ने नाउँमा मलाई काम गर्न दिएनन् भन्ने बहाना बनाएर संसदै विघटन गर्ने कुरा अक्षम्य र गम्भीर अपराध हो ।
विभिन्न मान्छे, पार्टी, नेताहरूलाई दोष देखाएर, कसैका कमजोरीलाई दोष देखाएर यो कुराबाट पन्छिन मिल्दैन । कमि–कमजोरी जो–कसैका पनि हुनसक्छन् तर त्यसो भयो भन्दैमा मुलुकलाई आघात पुग्ने, कम्युनिष्ट आन्दोलनमा आघात पुग्ने काम गर्न मिल्दै मिल्दैन । यो चाहिं कुनै न कुनै ढंगले कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्ने ‘डिजाइन’ मा केपी ओली लाग्नुभयो ।

उहाँ नै कम्युनिष्ट आन्दोलन सिध्याउनलाई आफैं लाग्नुभयो ?

हो, उहाँ आफैं लाग्नुभयो । उहाँलाई भलिभाँती थाहा छ कि यो पार्टी विभाजित हुँदा, संसद विघटन गरेर चुनावमा जाँदा कम्युनिष्टहरूले बहुमत प्राप्त गर्न सक्दैनन् । त्यो थाहा हुँदाहुँदै पनि उहाँले त्यो किन गर्नुभएको होला त ? कम्युनिष्टहरूको प्रचण्ड बहुमतको सरकार बनेको छ र कम्युनिष्ट पार्टीको प्रभाव जुन छ, त्यसलाई चकनाचुर पार्ने, ‘ग्य्राण्ड डिजाइन’ अन्तर्गत नै यो गर्नुभएको छ । उहाँले यो जानी–जानी गर्नुभएको छ ।

जतिसुकै राष्ट्रवाद, क्रान्तिकारी कुरा गरे पनि केपी ओली कम्युनिष्ट हुँदै होइन । कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने योजना अन्तर्गत उहाँले काम गर्नुभएको हो । यस हिसाबले केपी ओलीलाई नेपालको ‘यल्तसिन’ भन्न मिल्छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि क्षत–विक्षत पार्नुभएको छ ।

बाहिर उहाँले जतिसुकै राष्ट्रवाद, क्रान्तिकारी कुरा गरे पनि उहाँ कम्युनिष्ट हुँदै होइन । कम्युनिष्ट आन्दोलनलाई समाप्त गर्ने योजना अन्तर्गत उहाँले काम गर्नुभएको हो । यस हिसाबले केपी ओलीलाई नेपालको ‘यल्तसिन’ भन्न मिल्छ । उहाँले कम्युनिष्ट आन्दोलनलाई मात्रै होइन, नेपालको लोकतान्त्रिक आन्दोलनलाई पनि क्षत–विक्षत पार्नुभएको छ ।
हाम्रो अत्यधिक बहुमतको सरकार थियो । यसले अझै दुई वर्ष काम गर्न बाँकी थियो । दुई वर्ष राम्रोसँग काम गरेको भए फेरि पनि बहुमत आउने सम्भावना छँदै थियो । तर, उहाँले आउँदो चुनावमा कसैको पनि बहुमत नहुने, सकभर चुनाव नै नहुने अवस्था सिर्जना गर्नुभयो । अहिले उहाँले चुनावको मिति घोषणा गर्नुभएको छ, त्यो पनि कोभिड–१९ को महामारी भएका बेला । यो चुनाव पनि नगर्ने, देखावटी मात्रै हो । यो चुनाव नगराएर लोकतन्त्र मास्ने कोशिश हो ।

उहाँ चुनाव विनै अनन्तकालसम्म शासन गर्न चाहनुहुन्छ भन्न खोज्नुभएको हो ?

हो । चुनाव नगराउने, आफ्नो आयु लम्ब्याउँदै जाने उहाँले सोच्नुभएको होला । तर, त्यस्तो स्थिति नभएर नेपालमा अरू नै कुनै घटना घट्न पनि सक्छ ।

अरू के–के हुन सक्छ ?

हामीले नसोचेको लोकतन्त्रविरोधी घटना घट्न सक्छ । जुन डिजाइनबाट संसद विघटन भएको छ, यो त्यसको पहिलो चरण हो । संसद विघटन हुनु त पहिलो घटना हो । त्यो डिजाइनअन्तर्गत नेपाललाई के–के गर्नुपर्नेछ, त्यसका दीर्घकालीन योजना चाहिं निरन्तर जारी छन् ।

नेपालमा अस्थिरता सिर्जना गर्ने, नेपालको अस्थिरताबाट फाइदा लिने विदेशी शक्तिहरूले खेलिरहेका छन् र खेलिरहने छन् । यो घटनाले विदेशी शक्तिलाई खेल्नका लागि अनुकूल अवस्था सिर्जना गरेको छ । त्यो केपी ओलीको माध्यमबाट भएको छ ।

नेपालमा अस्थिरता सिर्जना गर्ने, नेपालको अस्थिरताबाट फाइदा लिने विदेशी शक्तिहरूले खेलिरहेका छन् र खेलिरहने छन् । अहिलेको घटनाले विदेशी शक्तिलाई खेल्नका लागि अनुकूल अवस्था सिर्जना गरेको छ । त्यो केपी ओलीको माध्यमबाट भएको छ ।

तपाईंले भनेको त्यो योजनाअन्तर्गत राजतन्त्र फर्काउने पनि हुनसक्छ ? पृष्ठभूमिमा राजतन्त्र पुनस्र्थापनाका लागि आन्दोलन भइरहेको पनि देखिरहनुभएको होला ?

अत्यधिक ठूलो बहुमत यो घटनाको विरुद्धमा छ । त्यसले अहिले एउटा शुभ संकेत दिएको छ । मुलुकलाई अप्ठ्यारो अवस्थाबाट जोगाउने, लोकतान्त्रिक प्रणालीलाई समाप्त पार्ने जुन डिजाइन छ, त्यसबाट यसले मुलुकलाई जोगाउने छ ।
मुलुकको राष्ट्रियतालाई पनि कमजोर बनाउने जुन प्रयास छ, त्यसलाई जोगाउने छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर पार्ने जुन योजना छ, त्यसलाई पनि यसले रोक्ने छ । त्यो तागत, नेतृत्व अहिले हामीसँग छ । अहिले हामीसँग हजारौं हजार नेता/कार्यकर्ता छन् । हामीसँग देशव्यापी रूपमा संगठनको सञ्जाल छ । त्यसलाई हामी संगठित र व्यवस्थित गर्छौं । हामीले देशका विभिन्न लोकतान्त्रिक पार्टीहरूसँग कुराकानी पनि गरिरहेका छौं । वार्ता पनि गरिरहेका छौं ।
हामी लोकतन्त्र जोगाउनका लागि हामी सबै लोकतन्त्रवादी शक्तिसँग आवद्ध हुन्छौं । अर्कोतिर हाम्रो पार्टीलाई व्यवस्थित र नयाँ क्रियाशीलता, आत्मविश्वासका साथ अगाडि बढाउने काम हामी गर्छौं ।

तपाईंले यसो भनिरहँदा ३० महिनाअघि दुइटा पार्टी मिलेर नेकपा बन्दा जुन उत्साह थियो, एकता प्रक्रिया नटुङ्गिदै विघटनतिर गएपछि अहिले त चरम निराशा छ ! यस्तो चरम निराशाबीच तपाईंहरू फेरि कसरी उठ्नुहोला ?

विगतमा धेरै ठूलो निराशा, धेरै ठूलो दमन, अप्ठ्यारो अवस्थाबाट अगाडि बढेर हामी यहाँसम्म आएका हौं । अहिले एउटा धक्का हामीलाई लागेको अवश्य हो । एउटा ठूलो चुनौती आएको यथार्थता हो । सजिलो छैन, यो पनि यथार्थ हो । तर, अर्को कुरा जस्तोसुकै चुनौतीलाई पनि सामना गर्ने त्यो हिम्मत, साहस हामीसँग छ ।
अहिले पार्टी कमिटीमा एउटा खालको निराशा छ । तर, पनि पार्टीभित्रको एउटा सचेत पंक्ति अझ त्यसप्रति क्रियाशील भएर लागेको छ । हिजो सुतेका मान्छेहरू, निष्क्रिय भएका यो देश जोगाउन, पार्टी जोगाउन फेरि एकपटक उठ्नुपर्ने अवस्था छ । देश जोगाउन उनीहरू उठ्छन् । एक छिनको निराशा हो । त्यो सधैंभरि रहन्न । यसलाई हामी हटाउँछौं । फेरि, उत्साहका साथ मुलुकका लागि जुन जिम्मेवारी बोध छ, त्यो अनुसार अब फेरि उठाउन सक्छौं ।

सग्लो नेकपामा कहीं न कहीं नेतृत्वको महत्वाकांक्षा र व्यवस्थापनमा पनि एउटा समस्या थियो । अहिले तपाईंहरूको पक्षमा पनि दुइटा अध्यक्ष बन्नुभएको छ । यहाँ त्यो समस्या आउँदैन भन्ने आधार चाहिं के ?

हामी समस्या व्यवस्थापन गर्छौं । सर्वसम्मतिले हामीले अर्को अध्यक्ष चयन गरेका छौं । हामीले एक नम्बर/दुई नम्बर नभनेर बराबरी अध्यक्ष बनाएका छौं । आलोपालो अध्यक्षता गर्ने भनेका छौं । हामी दुई जनाले निरन्तर रूपमा आपसमा समन्वय, सहकार्य गरेर मिलेर जाने वातावरण निर्माण गर्न सक्छौं । त्यो सम्भावना पर्याप्त छ ।
हिजो फरक पार्टीमा भए पनि माधव नेपाल र प्रचण्ड भनेको पञ्चायतकालदेखि नै संयुक्त जनआन्दोलनदेखि संयुक्त काममा उहाँहरूले सहकार्य गर्दै आउनुभएको छ । शान्ति प्रक्रियाको सन्दर्भमा पनि माधव नेपाल र प्रचण्डका बीचमा सबभन्दा बढी घनिष्ठता र सबैभन्दा बढी सहकार्य भएर त्यो टुङ्गिएको धेरै घटनाक्रम छन् ।

धेरैले उहाँहरूबीच कार्यशैली नै मिल्दैन भन्छन् नि ?
कुनै पनि मान्छेको सबै कुरा मिल्दैन । हरेक फरक मान्छेमा फरक विशेषता हुन्छ । तर, मिलाएर जान सक्छौं । उहाँहरू आपसमा मिलेर जान सक्नुहुन्छ ।

दुई अध्यक्ष रहने त संक्रमणकालीन व्यवस्था हो । पछि पनि को अध्यक्ष हुने भन्ने प्रतिस्पर्धा होला नि ?

महाधिवेशनपछि दुइटा अध्यक्ष रहन्न । त्यसलाई हामी व्यवस्थापन गर्छौं । त्यसमा प्रष्ट छौं । महाधिवेशनपछि पनि को अध्यक्ष हुने भन्ने कुरा हामी सल्लाहले गर्छौं ।

त्यो सल्लाह त तपाईंहरूले ओलीसँग पनि त गर्ने भन्नुभएको थियो नि ?

सकिएन उहाँसँग । किनकि उहाँको नियत नै खराब थियो– आफैं प्रधानमन्त्री भएको संसद जबर्जस्ती संविधानलाई नै मिचेर विघटन गर्नुभयो । दल विभाजन सम्बन्धी विधेयक ल्याउनुभयो । अरू–अरू पनि उहाँले यस्ता थुप्रै गलत काम गर्नुभएको छ ।
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनुभयो । यसले के देखाउँछ भने उहाँ लोकतन्त्रको पक्षमा होइन, त्यसलाई सिध्याउन लागि नै पर्नुभएको थियो । कम्युनिष्ट आन्दोलनलाई असफल पार्न लागिरहनुभएको थियो । त्यस कारणले गर्दा उहाँसँग हाम्रो अन्तरविरोध हो ।
उहाँमा देखा परेको घनघोर दक्षिणपन्थी, संघीयता विरोधी, कम्युनिष्ट विरोधी, आत्मकेन्द्रित, व्यक्तिवादी, स्वेच्छाचारी र निरंकुश चिन्तनका विरुद्ध हामी भित्र लडिरहेका थियौं । हामी पूर्व एमालेहरू त तीसौं वर्षदेखि उहाँसँग लड्दै आएका छौं ।

अहिले ओलीलाई तपाइँहरू जुन आरोप लगाइरहनुभा’छ तर, यत्रो समय उहाँसँगै कसरी सहकार्य गर्नुभयो त ?

उहाँ जस्तोसँग पनि सहकार्य गरेर त यहाँसम्म आउन सकिंदोरहेछ भने उहाँभन्दा इमानदार मान्छेसँग त जति कमजोरी भए पनि सहकार्य गरेरै हामी धेरै लामो समय जान सक्छौं । सबै कुरा सबैसँग नमिल्न सक्छ, तर मिलाएर जान सक्छौं । लक्ष्य, उद्देश्य र सिद्धान्त एउटै भएपछि हामी मिलेर जान्छौं, जान सक्छौं ।

अहिले को वैधानिक भन्ने दाबी, प्रतिदाबी भइरहेको छ । खास वैधानिक चाहिं को हो ?

वैधानिक हामी नै हो । हामीसँग बकाइदा बहुमत छ । त्यो हामीले निर्वाचन आयोगमा हस्ताक्षर गरेर पठाएका छौं । विगतमा निर्वाचन आयोगमा हाम्रो नाम दर्ता भएको छ । हाम्रा सबैका हस्ताक्षर सुरक्षित छन् । अहिले केपी ओलीको तर्फबाट बुझाएका नाम र हामीले बुझाएको नामहरूको प्रमाणीकरण हुन्छ । उतातिर प्रष्ट रूपमा अल्पमत छ ।
११०० जनाको बनाए पनि ११ हजारको केन्द्रीय कमिटी बनाए पनि त्यसको कुनै अर्थ छैन । त्यो नौटंकी हो । त्यो धेरै दिन टिक्दैन । अत्यधिक बहुमत हाम्रो पक्षमा भएको हुनाले त्यो आधिकारिकता हामीलाई नै प्राप्त हुन्छ ।

प्रतिनिधिसभा विघटनको विषय अहिले अदालतमा पुगेको छ । त्यहाँबाट संसद पुनस्र्थापित होला त ?

अदालतले संविधानबमोजिम गर्नुपर्छ । संविधान भन्दा बाहिर अदालत जान पाउँदैन । अदालतले संविधान बमोजिम नै गर्छ, गर्नुपर्छ । हामीले सोचे भन्दा प्रतिकूल भयो भने पनि हामी लडेर, जुधेर अगाडि बढ्छौं ।

संविधान भन्दा बाहिर अदालत जान पाउँदैन । अदालतले संविधान बमोजिम नै गर्छ, गर्नुपर्छ । हामीले सोचेभन्दा प्रतिकूल भयो भने पनि हामी लडेर, जुधेर अगाडि बढ्छौं ।

तपाईंहरूले भने अनुसार प्रतिनिधिसभाको पुनस्र्थापन भएन भने चुनावमा जानुहुन्छ ?

त्यसबारे हामी पछि निर्णय गर्छौं । अहिले नै हामी जाँदैनौं, जान्छौं भनेर भन्दैनौं । अदालतको निर्णयपछि के गर्ने भनेर हामी विश्लेषण गर्छौं । कस्तो परिस्थिति तयार हुन्छ त्यो हेरेर हामी निर्णय गर्छौं । हामी अहिले चुनावमा भाग लिन्छौं, लिंदैनौं भनेर भन्दैनौं ।

आन्दोलन चाहिं कस्तो खालको गर्नुहुन्छ ?

हामी आन्दोलन पनि गर्छौं । जुन प्रतिगमन भएको छ त्यसविरुद्ध सडक आन्दोलन गर्छौं । त्यसविरुद्ध जनतालाई सडकमा उठाउँछौं । पार्टीलाई परिचालन गर्छौं ।

तपाईंहरूले मिलेर संघर्ष गर्ने भनेर कांग्रेस केन्द्रीय कार्यालयमा सर्वदलीय बैठक गर्नुभएको थियो । तर, त्यसले त मूर्तरुप लिएन नि ?
हरेक पार्टीका आआफ्ना नीति हुन्छन् । हामीले जे नीति लिन्छौं, कांग्रेस र अरू दलले पनि त्यही लिन्छन् भन्ने छैन । नेपाल मजदूर किसान पार्टी बाहेक हरेक पार्टीले त्यसको विरोध गरेका छन् । सम्पूर्ण लोकतान्त्रिक, वामपन्थी पार्टीहरूले यो घटनाको तीव्र विरोध गरेका छन् । आलोचना गरेका छन् । भ्रत्र्सना गरेका छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर