ओली पक्षले पेरिसडाँडा दाबी नगर्ने, धुम्बाराही र बल्खु नछाड्ने – Nepal Press

ओली पक्षले पेरिसडाँडा दाबी नगर्ने, धुम्बाराही र बल्खु नछाड्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले पेरिसडाँडाको केन्द्रीय कार्यालयमा दाबी नगर्ने भएको छ । तर धुम्बाराही, मदननगर बल्खुलगायत देशभरका तत्कालीन एमालेका कार्यालय र सम्पत्तिमा भने प्रचण्ड–माधव नेपाल समूहले दाबी गर्न नपाउने ओली पक्षले जनाएको छ ।

ओली निकट नेकपा नेता महेश बस्नेतले आज पोखरा र ललितपुरका अलग अलग कार्यक्रममा सूर्य चिन्हमाथि प्रचण्डको दाबी हास्यास्पद रहेको बताए । उनले भने–प्रचण्ड कमरेडलाई आफू लोकप्रिय छु भन्ने लाग्छ भने आफ्नै गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा चुनाव लडेर जित्न म चुनौती दिन्छु, तपाईं सूर्यमा आँखा नलाउनुस् ।

बस्नेतले नेपाल प्रेससँग कुरा गर्दै आफूहरुले विगतमा प्रचण्ड नेतृत्वको पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा दाबी नगर्ने र तत्कालीन माओवादीको चल अचल सम्पत्तिमा पनि ओली नेतृत्वको नेकपाको दाबी नरहने बताए । तर तत्कालीन एमालेको पार्टी कार्यालयहरु भने प्रचण्ड पक्षले नपाउने उनले बताए ।

बस्नेतले भने–हामीलाई प्रचण्डको पार्टी कार्यालय चाहिएको छैन, उहाँहरु नै लिनुहोस् तर तत्कालीन एमालेका हरेक सम्पत्तिमा हाम्रो मात्र हक छ र हामी छाड्दैनौं । पार्टी विभाजन गरेर जानेहरुले पार्टीको सम्पत्तिमा दाबी गर्न मिल्दैन । शुक्रवार मात्र पत्रकार सम्मेलनमा अर्को नेकपाका अध्यक्ष माधवकुमार नेपालले पार्टी कार्यालय र सम्पत्तिहरुमा आफ्नो समूहको हक लाग्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर