संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा – Nepal Press

संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनःस्थापनाको एजेण्डा पार्टीले नबोक्ने स्पष्ट पारेका छन् ।

केन्द्रीय समितिको शुक्रबारको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेपछि आन्दोलनको एजेण्डा संसद पुनःस्थापना हुनुपर्ने बताएका थिए ।

पौडेललाई जवाफ दिने क्रममा देउवाले संसद पुनःस्थापना एजेण्डा बन्न नसक्ने बताएका हुन् । ‘संसदको विषय अदालतमा छ । अहिले त्यसबारेमा कुरै हुँदैन’, देउवाले भने ।

कांग्रेसले पुस १३ गते सरकारको कदमको विरुद्धमा देशव्यापी प्रदर्शन गर्दैछ । प्रदर्शनको तयारी र मेलमिलाप दिवस मनाउन कांग्रेसले पुस १९ गतेसम्म केन्द्रीय समितिको बैठक स्थगित समेत गरेको छ ।

बैठक सकिनुअघि केही बोल्नुछ भन्दै पौडेलले समय मागेका थिए । सभापतिले समय उपलब्ध गराएपछि पौडेलले आन्दोलनको एजेण्डाबारे पार्टी प्रष्ट हुनुपर्ने बताए ।

‘आन्दोलनमा जाँदा पार्टीको बटमलाइन पनि त भन्नुपर्‍यो । संसद विघटन अवैधानिक हो भने पुनःस्थापना गर् भन्नु त पर्‍यो । झारा टार्ने गरी आन्दोलन तुहाउन खोजियो’, पौडेलले भनेका थिए । पौडेलको भनाइलाई कटाक्ष गर्ने क्रममा देउवाले अदालतमा विचाराधीन विषयमा सडकमा जान नसकिने बताएका हुन् ।

लेखकले बोल्दा पौडेलको आपत्ति
बैठकमा बोल्ने क्रममा केन्द्रीय सदस्य रमेश लेखकले संसद पुनःस्थापनाको विषय अदालतमा विचाराधीन रहेकोले त्यसबारे धेरै छलफल र आन्दोलन गर्न नहुने बताएका थिए । लेखकले त्यसो भन्नासाथ वरिष्ठ नेता पौडेलले ‘नियमापत्ति’ गरे ।

पौडेलले संविधान मिचिएको र लोकतन्त्र मासिएको विषयमा बोल्न मिल्दैन भन्नु गलत भएको बताए । नेता पौडेलले लेखकलाई ‘सभापतिको फ्रेण्ड भएर त्यस्तो कुरा नगर्नुस्’ भनेका थिए ।

केन्द्रीय समितिको बैठकमा पौडेल अन्य दिनभन्दा आक्रोशित देखिन्थे । बैठकबाट बाहिरिने क्रममा पनि पौडेल र सहमहामन्त्री डा. प्रकाशशरण महतबीच ‘चर्को स्वरमै’ कुरा भएको थियो । सो क्रममा महतले ‘लोकतन्त्र कसैले मास्दैन चिन्ता नगर्नुस्’ भनेका थिए ।

यसैबीच कांग्रेस केन्द्रीय समितिको बैठकले सञ्चारमाध्यममा आएजस्तो पार्टीभित्रको छलफल अमर्यादित नभएको स्पष्टीकरण दिएको छ । बिहीबारको बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंह तथा बुधबारको बैठकमा शंकर भण्डारी र गुरुराज घिमिरेबीच चर्काचर्की परेको थियो । तर सञ्चारमाध्यममा आएजस्तो ‘समस्या’ पार्टीभित्र नभएको दाबी गरिएको छ ।


प्रतिक्रिया

One thought on “संसद पुनःस्थापनाको कुरै नगरौं–देउवा

  1. ईतिहास बोकेको party लाई धमिलोमा माछा मार्ने बनाए|

Leave a Reply to Rajendra Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर