महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने – Nepal Press

महामारीमा बक्सअफिस : पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी, क्यूएफएक्सले थप हल खुलाउने

महामारीकै बीचमा पनि नेपाली फिल्मले उत्साहजनक कमब्याक गरेको छ । नौ महिना बन्द रहेका नेपाली फिल्महरु शुक्रबार खुलेका थिए र दर्शकीय उपस्थिती सन्तोषजनक पाइयो ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले कोभिड–मापदण्ड पालना गर्दै सिभिल, लाबिम र छायाँ मलस्थित आफ्ना आउटलेट संचालनमा ल्याएको थियो । क्यूएफएक्स संचालन संस्था क्वेस्ट इन्टरटेनमेन्टका कार्यकारी अधिकृत रोशन अडिगाका अनुसार शुक्रबार ३० प्रतिशत अकुपेन्सी प्राप्त भयो ।

‘यो उत्साहजनक कमब्याक हो हाम्रा लागि । दर्शकहरु फिल्म हेर्न आतुर भएको संकेत मिल्छ’ नेपाल प्रेससँग उनले भने, ‘पहिलो दिनमै ३० प्रतिशत अकुपेन्सी हुनु भनेको धेरै राम्रो कुरा हो ।’ द इन्भिजिबल म्यान र ब्लडसटमा दर्शक धेरै पाइए ।

प्रशासनको हस्तक्षेप र दबाबबिनै पहिलो दिन फिल्म हल चले । काठमाडौं उपत्यकाबाहिर हल खुलेनन् । पोखराको मुख्य मल्टिप्लेक्स मिडटाउन सिनेमाज्ले शनिबारदेखि हल संचालन तयारी गरेको छ । प्रमुख निकेश द्धाले चलचित्र संघ र सरकारबीचको शुक्रबारे वार्तालाई कुरेकाले शनिबारदेखि चलाइने बताए ।

दर्शकीय फुटफल बढ्दै गएमा आफ्ना अन्य आउलेट खुलाउने तयारीमा छ क्यूएफएक्स । भक्तपुर, कुमारी, जयनेपाल र मोफसलका हल अहिलेसम्म बन्दै छन् । नौ महिनासम्म जिरोमा बसेको बक्सअफिस प्रदर्शन क्रमशः उकालो लाग्ने अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर