कांग्रेस बैठकमा फेरि बाझाबाझ, देउवा–प्रकाशमान झोक्काझोक्की – Nepal Press
कांग्रेसमा किचलो

कांग्रेस बैठकमा फेरि बाझाबाझ, देउवा–प्रकाशमान झोक्काझोक्की

काठमाडौं । नेकपाको आपसी विवादले प्रतिनिधिसभा नै विघटन भएपछि त्यसको विरोधका योजना बनाउन बसेको नेपाली कांग्रेसको बैठकमा दिनहुँ नेताहरुबीच भनाभनका श्रृंखला थपिन थालेका छन् ।

आन्दोलनमा जाने कि सर्वाेच्च अदालतको फैसला पर्खिने भन्नेमै विवादित कांग्रेसका शीर्ष नेताबीच बैठकमै घोचपेच र भनाभन हुन थालेको हो ।

बुधवार सभापति शेरवहादुर देउवा र रामचन्द्र पौडेलबीचको भनाभनमा शंकर भण्डारी तथा गुरु घिमिरे मिसिंदा भएको चर्काचर्की विहीबार झनै माथिल्लो तहमा सर्‍यो । कांग्रेसका एक नेताका अनुसार बैठकमा सभापति देउवा र पूर्व महामन्त्री प्रकाशमान सिंहबीच ‘भनाभन’ भएको छ ।

केन्द्रीय समितिको बैठकमा धारणा राख्ने क्रममा सिंहले ‘विगतमा देउवाको असफलताकै कारण पार्टीले हार व्यहोरेको’ प्रसंग उठाएपछि सभापति देउवाले ‘हिम्मत भए आफूलाई हटाउन’ चुनौती दिएका हुन् ।

केन्द्रीय समितिमा बोल्दै सिंहले संसद विघटनको कदमलाई असंवैधानिक भनेर विज्ञप्तिमात्रै जारी गरेर बस्न नमिल्ने भन्दै कडा आन्दोलनको तयारी गर्नुपर्ने बताए । सिंहलाई रोक्दै सभापति देउवाले ‘काठमाडौंकै सभापतिले आन्दोलन गरेन’ भनेका थिए ।

आफूनिकट काठमाडौं सभापति कृष्ण सबुज बानियाँले आन्दोलन नगरेको भन्ने देउवाको भनाइको सिंहले लगत्तै खण्डन गरे । ‘किन गरेन ? अस्ति शान्तिवाटिकामा त्यत्रो सभा गरेको होइन ?’ सिंहले प्रश्न गरे ।

बैठकमा सिंहले महाधिवेशनको प्रसंग ल्याएपछि देउवा आक्रोशित बनेका थिए । सिंहले महाधिवेशनका लागि व्यावहारिक हुनेगरी क्रियाशील सदस्यताको काम टुंग्याउनुपर्ने बताएका थिए । ‘अहिले महाधिवेशनबारे छलफल हुँदैन’, लगत्तै देउवाले भने ।

देउवाले महाधिवेशनबारे छलफल गर्न पछि अर्को बैठक बस्ने भन्दै प्रतिनिधिसभा विघटनबारे मात्रै बोल्न निर्देशन दिएका थिए । धारणा राख्ने क्रममा सिंहले कांग्रेसले पार्टीको नेतृत्व फेर्नुपर्ने जनमत रहेको बताए ।

‘कांग्रेसको नेतृत्व पनि असफल भयो । प्रतिपक्षमा पनि काम गर्न सकेन भन्ने छ । अब महाधिवेशन गरेर नेतृत्व फेरेर मात्रै जनतामा जानुपर्छ’, सिंहको भनाइ थियो ।

सिंहका हरेक भनाइलगत्तै जवाफ फर्काएका देउवा आफ्नो नेतृत्व फेर्ने कुरा आएपछि झन् आवेगमा आए । ‘हिम्मत भए हटाए हुन्छ । महाधिवेशनबाट म भाग्नेवाला छैन । महाधिवेशन गरेर फेस गर्छु’, देउवाले भने । दुई नेताबीच लगातारजसो भनाभन भएको बैठकमा सहभागी एक नेताले बताए ।

नेता सिंहले बैठकमा आन्दोलनमा जाँदा कांग्रेस एक्लैले सरकारको भण्डाफोर गरेर अगुवाई लिनुपर्ने बताएका थिए ।

विशेष महाधिवेशनको प्रस्ताव
बैठकमा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले विशेष महाधिवेशन गर्नुपर्ने मत व्यक्त गरे । आफ्नो लिखित धारणा बैठकमा पेश गरेका केसीले ‘२०१४ सालमा पनि विशेष महाधिवेशन भएको थियो । अहिले पनि विशेष महाधिवेशन गरेर अगाडि बढ्नुपर्छ’ भनेका थिए ।

केसीले महाधिवेशनको प्रसंग ल्याएपछि देउवाले त्यसबारेमा छलफल नहुने बताए । ‘अहिले महाधिवेशनको बारेमा कुनै छलफल हुँदैन’, देउवाले केसीसँग भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर