नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया – Nepal Press

नेकपा विभाजन चीनका लागि ठूलो झट्का : भारतीय र अमेरिकी मिडिया

संसद विघटन र नेकपा विभाजन चीनका लागि ठूलो झट्का भएको टिप्पणी भारत र अमेरिकी मिडिया तथा थिंकट्यांकले गरेका छन् । नेकपा विभाजनपछि चिनियाँ राजदूत होउ यान्छीको दौडधुपलाई उनीहरुले आउँदो चुनावमा चीनले दुई कम्युनिष्ट शक्तिलाई सँगै देख्न चाहेको रुपमा टिप्पणी गरेका छन् ।

टाइम्स अफ इन्डियाले हेडलाइनमै लेखेको छ : नेपालको गहिरिंदो राजनीतिक संकट चीनको लागि महँगो पर्नेछ ।’ उसले नेकपा विभाजनपछि चिनियाँ प्रभाव कम हुने विश्लेषण समेत गरेको छ । ‘पार्टी टुक्रिए पनि आउँदो चुनावमा दुई कम्युनिष्ट शक्तिले मिलेर अघि बढून् भन्ने चिनियाँ चाहना छ’ उक्त अखबारले लेखेको छ ।

नेपालका लागि पूर्व भारतीय राजदूत रञ्जित रोय, भारतीय सेनाका पूर्व मेजर जनरल अशोक मेहताले पनि चीनको प्रभाव घटेको र भारतलाई फाइदा भएको टिप्पणी गरेका छन् । इकोनोमिक टाइम्समा प्रकाशित आलेखमा पूर्वराजदूत रोयले नेकपा मिलाउने चिनियाँ प्रयास असफल भएको लेखेका छन् ।

‘चीनले ओलीको नेतृत्वको निरन्तरताभन्दा नेकपा एक हुने विषयमा बढी चासो दिएपछि ओलीले आफ्नो रणनीति बदलेका हुन्’ रोयको विश्लेषण छ, ‘त्यसपछि प्रधानमन्त्री ओली भारतसँग नजिक भएका हुन् ।’

अमेरिकी अग्रणी अखबार वालस्ट्रिट जर्नलले संसद विघटन र नेकपा विभाजनले चिनियाँ उद्देश्यमा गम्भीर धक्का लागेको हेडलाइन लेखेको छ । ‘हिमालय देशमा अब चीनप्रति कम झुकाव भएको दलले शासनलाई नियन्त्रण गर्न सक्छ’ जर्नलको विश्लेषण छ, ‘नेकपा विभाजन हुँदा आउँदो वैशाखमा हुने चुनाव भारतप्रति झुकाव राख्ने दल नेपाली कांग्रेसले जित्न सक्छ ।’

अर्कोतर्फ भारतका केही विज्ञले चाहिं नेपाली प्रधानमन्त्रीको कदमले हिमालय क्षेत्रमा अस्थिरताको बीउ रोपेको तर्क गर्छन् । भारतीय रक्षा मन्त्रालय अन्तर्गतको थिंकट्यांक एमपीआइडीएसएका नेपाल विज्ञ निहार नायकले नेपालको अहिलेको अवस्था भारतका लागि पनि सहज नभएको बताउँछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *