फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ – Nepal Press

फिल्म सिटीको स्वामित्व प्रदेश सरकारलाई, संचारमन्त्रीले भने : काम चाँडै पुरा हुन्छ

दोलखा फिल्म सिटीको स्वामित्व बागमती प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । संचार मन्त्रालयमा आयोजित छलफलमा मन्त्री पार्वत गुरुङले केन्द्र, प्रदेश र चलचित्र विकास बोर्डको स्वामित्व हुने गरि निर्माण अघि बढाउने जानकारी दिएका हुन् ।

विहिबार मन्त्रालयमा मन्त्री, प्रदेश सरकारका सांसद, रजिस्टार र फिल्मकर्मीबीच फिल्म सिटीबारे छलफल चलेको थियो । दोलखा भीमेश्वर नगरपालिका–९ मा रहेको दुई हजार रोपनी क्षेत्रफलमा फैलिएको सिटीको काम अघि बढाउन संघिय सरकारले कानुनहरु निर्माण गरिरहेको बताए ।

बागमती प्रदेश सरकारले अहिले साढे तीन करोड रुपैया विनियोजन गर्दै सिटीको प्रवेशद्धार र सूचना केन्द्र बनाइरहेको छ । छलफलमा बरिष्ठ फिल्मकर्मी मदनदास श्रेष्ठले संघिय सरकारले बजेट विनियोजन नगर्दा सिटीमा पूर्वाधार बनाउने काममा ढिलाइ भएको बताए ।

‘सिटी बनाउने दातृ निकायले चासो देखाएका छन् तर सरकारले बजेट विनियोजनमा रुचि देखाएन’ उनले भने, ‘यसले गर्दा काममा ढिलाइ भएको छ ।’ प्रदेश सरकारले उक्त साढे तीन करोड रुपैयाँ भीमेश्वर नगरपालिकालाई प्रदान गर्ने भएको छ ।

अहिले उक्त फिल्म सिटीसम्म पुग्ने सडक कालोपत्रे भएको छ भने बिजुली प्रसारण पनि भएको छ । प्राकृतिक सौन्दर्यले समेत महत्वपूर्ण लाकुरीडाँडामा अहिले इन्डोर र आउटडोर स्टुडियो बनाउने काम भैरहेको छ । काठमाडौंदेखि ८० किमी टाढा रहेको सिटीलाई सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *