‘महेन्द्रपछिका राष्ट्रवादी नेता ओली हुन्, त्यसैले प्रचण्डलाई छाडें’ – Nepal Press
नेपाल टक

‘महेन्द्रपछिका राष्ट्रवादी नेता ओली हुन्, त्यसैले प्रचण्डलाई छाडें’

‘युद्ध लडेको र परिवर्तनको एजेण्डा बोकेको सर्टिफिकेट एकजनाको मात्र होइन’

नेपाल कम्युनिष्ट पार्टी नेकपा अहिले दुई चिरा भएको छ । केन्द्रमा आएको पार्टी विभाजनको असर वडा तहसम्मै पुगेको छ भने प्रदेश तह अछुतो रहने कुरै भएन । यसबीचमा पूर्व एमाले र पूर्व माओवादीका कतिपय नेताहरुले आफ्नो विरासत छाडेर अर्को समूहका नेतालाई साथ दिइरहेका बेला कर्णालीमा प्रचण्ड पक्षले नसोचेको दृश्य देखिएको छ ।

सबै पूर्व माओवादी एक ठाउँमा रहन्छन् भन्ने मान्यताविपरित प्रदेशसभाका सदस्य तथा केन्द्रीय नेता ठम्मर बिष्ट र धर्मराज रेग्मीले केपी ओलीलाई साथ दिएका छन् ।

युद्धकालदेखि नै तत्कालीन नेकपा माओवादीमा सक्रिय रहेका सुर्खेत निर्वाचन क्षेत्र नं. १  ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद ठम्मर विष्ट अहिले केपी ओली समूहमा प्रवेश गरेका छन् ।

उनले गत असोज २५ गते नै तत्कालीन माओवादीको भागमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध गरिएको अविश्वास प्रस्तावमा सही गरेपछि ओली पक्षमा लागेको अनुमान गरिएको थियो ।

पछिल्लो समयमा आएर उनलाई ओली समूहले केन्द्रीय समिति सदस्यमा मनोनीत गरेपछि त्यो पुष्टि भएको छ । हाल काठमाडौंमा रहेका विष्टसँग ओली पक्षमा जानुको कारणलगायतका विषयमा टेलिफोनमार्फत नेपाल प्रेससँग गरिएको कुराकानीको सम्पादित अंशः

तपाई ओली पक्षमा लागेको हो ?

हो ।

ओली पक्षमा लाग्नुको कारण के हो ?

कारण भन्ने हो भने प्रचण्ड र केपीलाई नै सोध्नुपर्छ होला । उहाँहरुले पार्टी सम्हाल्न सक्नुभएन के रे । अब सम्हाल्न नसकेपछि, पार्टी हाँडी फुटेझैं फूटिसकेपछि, पार्टी कार्यकर्ता, जनता यताउता लाग्ने कुरा स्वाभाविक हुन्छ । त्यही हिसाबले हामीले पनि यो बाटो छानेको हो ।

तपाईंले आफ्नो धरातल बिर्सेको जस्तो लाग्दैन ? के ओलीबाट सर्वहारा वर्गको उत्थान सम्भव देख्नुभयो ?

कम्युनिष्ट पार्टी इतिहासमै एक बनायौं । दुई तिहाइको बहुमत पनि ल्यायौं । जसलाई मुख्य बनाउँदा ‘झाँडमा हाम्फाल्यो’ भन्या जस्तै भो । अब दोषी को छ, के छ समयक्रमसँगै पुष्टि होला ।

नेता हामीले हिजो मानेका जानेका प्रचण्ड केपीलाई नै देश बनाउने कार्यभार सुम्पेको हो । पार्टीको, राजनीतिको र सत्ताको बागडोर उनकै हातमा आमजनताले दिएका थिए ।

अब यो हिसाबले पार्टी दुई फ्याक भइसकेपछि माओवादी या एमाले फुटेको होइन नेकपा फुटेको हो । हिजोको मूल्य मान्यता कसले कसरी समाएर जान्छ भन्ने कुरा हेर्न बाँकी छ ।

हिजोको विरासतमा तपाईं हामी, गणतन्त्र, संघीयताका लागि लडेका हौं । म पनि जनयुद्ध लडेको एक सिपाही हुँ । जनयुद्धको र परिवर्तनको लागि छुट्टै एउटाले सर्टिफिकेट लिएको र अरुले गर्नै नसक्ने भन्ने होइन ।

साझा धाराणामा लडेर सबै आएका हौं । सर्वहारा वर्गका लागि सबै लडेका हौं । भावी दिनमा कसले के गर्न सक्छ भन्ने कुरा त इतिहासले नै देखाउला । अहिले त्यो विषयमा बोल्दा हतार होला, प्रमाणित गरेर देखाउने कुरा हो ।

कर्णाली सरकारको विरुद्धमा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने फेरि सामाजिक सञ्जालबाट फिर्ता लिएको वा माफी मागेको कुरा लेख्नुभएको थियो । दबाब र प्रभावमा परेर उक्त कुरा सञ्जालमा लेख्नुभएको थियो त्यति बेला ?

अविश्वास प्रस्तावमा मैले सही गरेकै हो । कर्णालीमा गुटको कुरा भन्दा पनि सरकारको पर्फमेन्स राम्रो नभएको कारण उहाँहरुले सच्याउनुपर्छ र पार्टीलाई माथि पुर्याउनुपर्छ भन्ने नै हाम्रो इमानदार प्रयास थियो ।

उहाँहरुले त्यसलाई गलत ढंगले बुझ्नु भो, व्याख्या गर्नु भो । दोस्रो कुरा मैले माफी मागेर सामाजिक सञ्जालमा लेखेको होइन । बरु त्यो बेला प्रचण्ड र केपीले काठमाडौंमा बोलाइसकेपछि अविश्वास प्रस्तावको कुरा टुंगिसकेको थियो ।

अब कार्यकर्तामा पार्टी फुट्ने भो भनेर चिन्ता बढेपछि अहिले नआत्तिन, त्यसरी पार्टी फुटाउने कुरा होइन सरकारको पर्फमेन्सको कुरा हो । त्यो विषयमा संसदमा उठाउँदै जानेछौं भनेर मैले समग्र पार्टी एकताको पक्षमा कुरा उल्लेख गरेको हो ।

नेताहरुलाई सहयोग गरेर जाने भन्ने कुरा उल्लेख गरेको हो । मैले हिजो गल्ती गरें भनेर कतै लेखेको छैन । कसैको खेतीपाती हुन सक्छ, त्यो उनीहरुको कुरा हो । मैले माफी मागेको वा एजेन्डा नै छोडेको भन्ने होइन ।

महेन्द्र शाहीलाई मुख्यमन्त्री बनाउन तपाईले मतदान गर्नुभएको थियो । यो सरकार धरापमा परेको भन्ने कुरा सर्वत्र चर्चाको विषय बनेको छ । यो सरकार जोगाउने कि फाल्ने ?

त्यो त महेन्द्र शाहीलाई नै सोध्नुपर्ने हुन्छ । यो सरकार जोगाउने र फाल्ने कुरा उनकै हातमा छ । अब हामीले त स्थिरताको पक्षमा हिजो मतदान गरेर नै मुख्यमन्त्री बनाएका हौं ।

मुद्दाहरु अहिले पनि हाम्रा बाँकी नै छन् । त्यो कुरा प्रदेश सभामा उठ्ने नै छन् । जनताको पक्षमा कसरी काम गर्न सकिन्छ भन्ने सवालमा कुनै पनि अप्सनलाई खुला राखेर छलफलहरु अगाडि बढछन् । त्यो हिसाबले कहाँ कहाँ के पुग्छ, के हुन्छ ? भावी दिनमा तपाईं हामीले हेरेर जाने कुरा हो ।

तत्कालीन एमाले त्यसमा पनि ओली पक्षका कार्यकर्ताले आफूलाई चुनाव जिताएकोले गुन तिर्न ओली पक्षमा लागेको भन्ने आरोप तपाईंलाई लागेको छ नि ?

मैले भोट ओली पक्षको मात्रै लिएको होइन । माधव पक्षकाले पनि दिए । प्रचण्ड पक्षकाले पनि दिए । कांग्रेसले पनि दिए । हिजोको हाम्रो पार्टी एकताबद्ध भएर नै मैले चुनाव जितेको हुँ त्यसमा कुनै शंका छैन ।

नुन तिर्नुपर्ने, गुन तिर्नुपर्ने, हिजोको कुनै असुल उपर गर्नुपर्ने वा त्यस्ता कुनै कारणले म ओली समूहमा लागेको होइन । म अहिले पनि जनप्रतिनिधि हुँ । जनतामा समर्पित नै छु । पार्टीको कुरा मेरो विचारको कुरा हो ।

जनप्रतिनिधिको हिसाबले सबै पार्टीको हुँ । कम्युनिष्ट पार्टीको त अहिले जे जे गुटमा लागे पनि त्यो त म हुँदै हुँ । बरु के हो भने म बीसौं वर्ष माओवादी आन्दोलनमा लागे‌ं । चुनाव जितेर पनि आइयो । कम्युनिष्ट पार्टी पनि दुई अढाइ वर्ष हामीले हेर्यौं, व्यहोर्यौं ।

यो कम्युनिष्ट पार्टी एकताबद्ध हुनुपर्छ र यसबाट नै समृद्धिको यात्रा सम्भव छ भन्ने मेरो व्यक्तिगत बुझाइ थियो । नेताहरुले विभिन्न दाउपेच गरेर पार्टी फुटाइसकेपछि हिजोकै धंगधंगीबाट हामी अघि बढ्ने अर्थात् माओवादी नै हुनुपर्ने बाध्यता छैन । त्यो खालको आदर्श, मूल्यमान्यता र विचारबाट निर्देशित भएको पार्टी पनि होइन ।

माओवादी टुट्दै फुट्दै नेकपा बनिसकेको छ । नयाँ धरातलमा आइसकेको छ । मान्छे कोही होलान हिजो जो सँगै लडेका थिए । त्यो व्यक्तिगत कुरा भयो । राजनीति बदलिइसकेको छ । क्रमभंग, छलांग र महाविपत्ति हुँदै हामी अघि बढेका छौं । त्यही क्रममा म पनि अघि बढेको हो । यो कसैलाई नुन तिर्न वा गुन तिर्न वा केही पाउनका लागि मैले टिम बदलेको होइन । त्यसरी बुझ्दाखेरी वस्तुवादी हुन्छ जस्तो मलाई लाग्छ ।

अब वैशाखमा चुनाव भएको खण्डमा प्रतिनिधिसभाको उम्मेदवार बन्नका लागि ओली समूहमा प्रवेश गर्नुभएको हल्ला बजारमा छ । यो हल्ला कत्तिकाे सत्य नजिक छ ?

म अहिले प्रदेशको माननीय हुँदै हुँ । मेरो कार्यकाल दुई अढाइ वर्ष बाँकी नै छ । मेरो क्षेत्रमा नेतै नभएको जसरी म नै जानुपर्ने भन्ने कुरै होइन । दोश्रो कुरा पार्टीले आवश्यक ठान्यो भने प्रतिनिधिसभामा उठ्ने, प्रदेश सभामा उठ्ने वा छोड्ने या अगाडि बढ्ने भन्ने कुरा हो ।

पार्टीले जे निर्णय गर्छ त्यहीअनुसार म अघि बढ्ने हो । कसैले त्यस्तो टिप्पणी गरेका छन् भने उनीहरु राजनीति बुझ्दैनन् अथवा सतही टिप्पणी गर्छन् भन्ने मलाई लाग्छ ।

म कुनै भूमिकामा हुँदैन थिएँ भने त्यो आकांक्षा राख्नु स्वाभाविक नै हुन्थ्यो । चुनाव शतप्रतिशत नै जितिन्छ भन्ने हुँदैन । अहिले हत्तपत्त म निर्वाचित प्रतिनिधि नै भएको समयमा मलाई नै उठाइनुपर्ने, मान्छे नै नभएको जस्तो, मेरो विकल्प नै नभएको जस्तो त्यो सत्य होइन । त्यो निराधार हल्ला मात्र हो । यी सब मनगढन्ते कुरा मात्र हुन् ।

गणतन्त्र नै ओलीले धरापमा पारेको आरोप लागेको समयमा तपाई किन त्यो समूहमा जानुभयो ?

गणतन्त्र कसले धरापमा पार्यो भन्ने कुरा सस्तो लोकप्रियताका लागि गरेका कुरा हुन् । राष्ट्रियताका लागि लड्ने नेता नेपालमा केपी ओली नै हुन् । राजा महेन्द्रपछि केपी शर्मा ओलीनै राष्ट्रवादी हुन् । यसमा दुईमत छैन । भारतसँग चूँ गरेर बोल्न सक्ने आँट कसैसँग हुँदैनथ्यो । ओलीले नै बोलेका छन् ।

अहिलेसम्म विकास निर्माणको आधार तयार पार्ने, मेरुदण्ड बनाउने ओली नै देखिएका छन् । नेपालको दीर्घकालीन सोचका साथ अघि बढ्ने दूरदर्शी नेता ओली नै हुन् । यो कुरा घाम जस्तै छर्लंगै छ । सस्तो लोकप्रियता कमाउनेहरुले विभिन्न आरोप लगाउँछन्, त्यो कुरामा बहस गर्नुपर्ने जरुरी नै छैन ।

मेरो निर्वाचन क्षेत्रका जनतालाई के भन्न चाहन्छु भने पार्टी अहिले जसरी फुटेको छ नेताहरुकै कारणले हो । दुर्भाग्यवश हामीले यो व्यहोर्नुपर्ने अवस्था आएको छ । जनताका हरेक काममा म दृढतापूर्वक लागिरहनेछु यसमा जनताले शंका मान्नु पर्दैन । सबै आमजनता, कार्यकर्तालाई अहिलेको वास्तविकता के हो भन्ने कुरा बुझ्न आग्रह गर्दछु । संयमित भएर, आवेगमा नआएर, विचार र बहसलाई अगाडि बढाउने, काम गरेर देखाउने, अपनत्व र स्वामित्व ग्रहण गरेर पार्टी निर्माणमा जुट्न सबैलाई आग्रह गर्दछु ।


प्रतिक्रिया

One thought on “‘महेन्द्रपछिका राष्ट्रवादी नेता ओली हुन्, त्यसैले प्रचण्डलाई छाडें’

  1. एक दम सान्दर्भिक कुरा राख्नु भएको मा धन्यवाद कामरेड ।।

Leave a Reply to Laxmi prasad Dhamala Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर