नेपालमा राजदूतहरूको ‘ट्विप्लोमेसी’, को कति लोकप्रिय ? – Nepal Press

नेपालमा राजदूतहरूको ‘ट्विप्लोमेसी’, को कति लोकप्रिय ?

इटहरी । गएको कात्तिक १० गते नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले दशैं मनाएका तीन तस्वीर आफ्नो सामाजिक सञ्जाल ट्विटरमा राखे । उनले नेपाली भाषामै लेखे– २०७७ सालको विजयादशमीको उपलक्ष्यमा मलगायत नेपालस्थित अमेरिकी मिशनको तर्फबाट यो चाड मनाइरहनुभएका सबैमा सुख, सुस्वास्थ्य तथा समृद्धिको शुभकामना व्यक्त गर्न चाहन्छौं ।

अमेरिकी दूतावास परिसरबाट दशैंको ट्विट गरेका बेरी केही समय अगाडि जनकपुर पुगे । जनकपुर पुगेर जानकी मन्दिर अगाडि उभिएका दुई तस्वीर राखेर ट्विटरमा लेखे, ‘जनकपुरको पहिलो भ्रमणपछि नै मलाई विवाहपञ्चमी पर्वको अवसरमा आउन मन लागेको थियो । यद्यपि, यो मेरो यात्राकै सूचीमा छ । विवाहपञ्चमी मनाउने सबैलाई सुरक्षित पर्वको शुभकामना ।’

चिनियाँ राजदूत होउ यांकी पनि ट्विटरमा सक्रिय छिन् । दशैं र तिहारको शुभकामना नेपाली भाषामा दिएकी राजदूतले नेपाली गीत रेशम फिरिरी… समेत गाइन् । उनले गाएको गीत ट्विटरमा ४७ हजार बढीले हेरेका छन् ।

बेलायती राजदूत निकोला पोलिटको ट्विटर सक्रियता उत्तिकै छ । नियमित नेपाल र बेलायती प्रसंगहरूमा ट्विट गर्ने राजदूत पोलिटले पुस ३ गते नेपाली सेफ सन्तोष साहको मास्टर सेफको सफलताको बारेमा ट्विट गरिन् ।

उनले लेखेकी छिन्, ‘सन्तोषजीको सफलताको लागि धेरै धेरै बधाई । बेलायती दूतावासमा हामी सबैले तपाईंको यात्रालाई धेरै रमाइलो मानी हेर्‍यौं । नेपालको खानेकुरा बेलायत तथा अन्तर्राष्ट्रिय दर्शकमाझ लगेर तपाइँले हाम्रा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउनुभएको छ । धन्यवाद ।’

राजदूतहरूले सामाजिक सञ्जाल खासगरी ट्विटको प्रयोग गर्ने क्रम बढेको छ । यसलाई जानकारहरू ट्विटरबाट हुने डिप्लोमेसी भन्छन् । एकै शब्दमा यसलाई ‘ट्विप्लोमेसी’ भन्न थालिएको छ । ट्विप्लोमेसीको प्रयोग सबैभन्दा पहिले अमेरिकी संस्था बर्सन–मार्सटेलरले सन् २०१२ ताका प्रयोगमा ल्याएको हो ।

ट्विप्लोमेसी डटकममार्फत यसले विभिन्न समयका ट्विप्लोमेसी रिपोर्टहरू सार्वजनिक गर्दै आएको छ । सन् २०१२ को रिपोर्टले विश्वका दुई तिहाइ नेताहरूले ट्विप्लोमेसी गर्ने उक्त संस्था बताउँछ ।

ट्विप्लोमेसी अहिलेको प्रभावकारी डिप्लोमेसी भएको त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागका प्राध्यापक डाक्टर खड्ग केसी बताउँछन् । केसीका अनुसार कूटनीतिज्ञहरूले ‘होस्ट’ मुलुकका युवाहरूमाझ पुग्नलाई यस्तो कूटनीतिक अभ्यासहरू गर्छन् । उनी भन्छन्, ‘यो पब्लिक डिप्लोमेसीको प्रभावकारी माध्यम हो । प्रविधिसँग जोडिएका युवाहरूलाई यसले अत्यन्तै प्रभाव पार्छ ।’

अमेरिका अगाडि भारत अनुपस्थित

नेपालमा ट्विप्लोमेसीमा सक्रिय छन् शक्ति राष्ट्रका राजदूतहरू । अमेरिकी राजदूत र्‍यान्डी बेरी, चिनियाँ राजदूत होउ यांकी, बेलायती राजदूत निकोला पोलिट आदि सक्रिय छन् । उनीहरू व्यक्तिगत रूपमै ट्विटर अकाउन्टमा सक्रिय छन् । तर, नेपालमा सबैभन्दा धेरै प्रभाव पार्ने भनिने भारतीय राजदूत भने ट्विप्लोमेसीको दृश्यमा देखिंदैनन् ।

भारतीय दूतावासको ट्विटर अकाउन्ट चाहिं छ । सोही ट्विटरमार्फत भारतीय राजदूत विनयमोहन क्वात्राका गतिविधिहरू देखिन्छन् । राजदूत क्वात्राले अमेरिकी, चिनियाँ तथा बेलायती राजदूतहरू जस्तो नेपाली समाज तथा परम्परासँग जोडिने व्यक्तिगत ट्विटहरू भने गर्दैनन् ।

अमेरिकी, चिनियाँ र बेलायती राजदूतहरूमा सबैभन्दा लोकप्रिय अमेरिकी राजदूत बेरी छन् । बेरीका २ लाख १६ हजार बढी फलोअरहरू छन् । दोश्रोमा लोकप्रिय छिन् चिनियाँ राजदूत यांकी । यांकीका फलोअरहरू आधा लाख छन् । बेलायती राजदूत पोलिटका ५ हजार ९०० बढी फलोअरहरू छन् । फलोअर कम भए पनि सक्रियता भने बेलायती राजदूतको धेरै छ । बेरी र यांकीका अकाउन्ट भेरिफाइड छन् भने पोलिटको भेरिफाइड छैन ।

राजदूतहरूमा मात्रै हैन दूतावासको फलोअरमा पनि अमेरिका अगाडि छ । अमेरिकी दूतावासको ट्विटर फलोअर ४ लाख १९ हजार बढी छन् । बेलायत र भारतको भने क्रमशः ३३ र ७७ हजार रहेको छ । चिनियाँ दूतावासको भने अकाउन्ट छैन । राजदूत यांकीकै अकाउन्टबाट चिनियाँ दूतावासको अपडेट हुने गरेको छ ।


प्रतिक्रिया

One thought on “नेपालमा राजदूतहरूको ‘ट्विप्लोमेसी’, को कति लोकप्रिय ?

Leave a Reply to Binaya Barakoti Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर