प्रतिनिधिसभा विघटन स्वीकार नगर्ने सभामुखको सांकेतिक वक्तव्य – Nepal Press

प्रतिनिधिसभा विघटन स्वीकार नगर्ने सभामुखको सांकेतिक वक्तव्य

काठमाडौं । विघटित प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्रीले गरेको विघटन नमान्ने संकेत दिएका छन् । सभामुख सापकोटाले बुधवार साँझ प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने संवैधानिक व्यवस्था स्मरण गराएका छन् ।

सभामुख सापकोटाको विज्ञप्तिमा भनिएको छ–संविधानको धारा ७६ मा प्रतिनिधिसभामा सरकार गठन गर्ने विकल्प रहँदासम्म प्रतिनिधिसभा विघटन नहुने स्पष्ट व्यवस्था गरिएको छ ।

यस सन्दर्भमा संविधानको फरक व्याख्या नहोस् र शक्तिपृथकीकरण, सन्तुलन र नियन्त्रण कायम राख्न सकियोस् भन्ने मान्यतासहित संविधानमा यस्तो व्यवस्था गरिएको हो । विगतका विसंगतिपूर्ण अभ्यासलाई सच्याउँदै स्थिरता र यसमार्फत समृद्धिको जनचाहनालाई सम्बोधन गर्न प्रतिनिधिसभाको पूर्ण कार्यकालको परिकल्पना गरिएको तथ्य यहाँ स्मरणीय छ ।

सभामुख सापकोटामाथि विशेषाधिकार प्रयोग गरेर संसदको कारबाही चलाउन प्रचण्ड-माधव नेपाल पक्षधर नेकपा र जसपाले दबाब दिइरहेका बेला सभामुखको यस्तो धारणा आएको हो । सभामुख सापकोटाले संविधानको रक्षार्थ राजनीतिक दलका बीचमा उच्चस्तरीय समझदारीको आवश्यकता बढेर गएको बताएका छन् ।

सभामुखले विज्ञप्तिमा भनेका छन्–संवैधानिक सर्वोच्चताका लागि माननीय सदस्यहरु, राजनैतिक दल, नागरिक समाज, कानून व्यवसायी, बुद्धिजीवी, सञ्चारजगत तथा सम्बद्ध सबै पक्ष संवेदनशील र गम्भीर बन्नुपर्ने बेला आएको छ ।

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा विचाराधीन रहेको बेला सभामुखबाट आएको अर्थपूर्ण वक्तव्यले राज्यका अंगहरुबीच टकराव बढ्न सक्ने देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर