नेकपा एकताका सूत्रधारले सुनाए फुट्नुअघिका भित्री कथा – Nepal Press

नेकपा एकताका सूत्रधारले सुनाए फुट्नुअघिका भित्री कथा

प्रचण्डलाई भनेको थिएँ– ओली बालकोट गएर बस्नुहोला कि डटेर सामना गर्नुहोला ?

काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धनदेखि पार्टी एकता गराउनेसम्मका सबै प्रक्रियाका एक प्रमुख सूत्रधार थिए विष्णु पौडेल । त्यही भएरै पार्टी एकतापछि केपी ओली र प्रचण्ड दुवैको सहमतिमा पौडेललाई अचानक महासचिव बनाइयो ।

पार्टीमा ओली र प्रचण्डबीच बेला-बेलामा भइरहने खटपट मिलाउन सधैं सक्रिय रहेका पौडेलले यसबीचमा कस्ता-कस्ता खेलहरु भए ? बुधवार लुम्बिनी प्रदेशका नेताहरुलाई पौडेलले नेकपाभित्रका लफडाहरु कसरी विभाजनको तहमा पुगे भनेर भित्री कथा सुनाए ।

प्रस्तुत छ, पौडेलको भनाइ जस्ताको त्यस्तै

एमाले–माओवादी नभन्नुस्
हामी अहिले विशेष अवस्थामा आइपुगेका छौं । नेपालको कम्युनिष्ट आन्दोलनले एउटा नयाँ घुम्ती, नयाँ मोड तय गर्नुपर्ने परिस्थिति निर्माण भएको छ । हामीले हाम्रो सामर्थ्यलाई नयाँ उँचाइबाट पुनर्पुष्टि गर्नुपर्ने परिस्थिति निर्माण भएको छ ।

हामीले हिजो विभाजित कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले एकताबद्ध गर्‍यौं । त्यो युगको आवश्यकता थियो, समयको माग थियो । परिस्थितिको निर्देशन थियो । त्यसमा हामीलाई अहिले कुनै पश्चाताप छैन। तर, त्यो एकताको जगमा उभिएर आन्दोलनलाई जसरी अगाडि बढाउनुपर्थ्यो, त्यसरी जान सकिएन ।

पार्टीको एउटा हिस्सा यो भन्दा पृथक ढंगले चल्यो। जसले गर्दा आन्दोलनमा यो संकट सिर्जना भएको छ । यो संकट सिर्जना हुनुमा एमाले वा माओवादी भनेर वर्गीकरण गर्ने विषय छैन । बाटो विराएका, अलमलिएका साथीहरुलाई पनि हामीले मार्गदर्शन गर्न सक्छौं।

सही विचार र सही नेतृत्वको धार हामीले प्रतिनिधित्व गर्छौं, उहाँहरुलाई हामी यही धारमा समाहित गरेर जान्छौं । म तपाईंहरुलाई भन्न चाहन्छु कि माओवादी, एमाले भन्ने कोणबाट प्रस्तुत नहुनुहोला ।

हामी कसैले पनि कल्पना गरेको भन्दा पृथक परिस्थिति प्रकट भएको छ। पार्टी एकताको काम गरिरहँदा असाधारण उत्साह देखा परेको थियो । संविधान निर्माण भएपछि हामीले एउटा यस्तो व्यवस्था गर्‍यौं, जसअन्तर्गत कुनै पनि दललाई बहुमत प्राप्त गर्न सजिलो छैन।

मिश्रित निर्वाचन प्रणाली यति जटिल छ कि यसले सहजै कसैलाई बहुमत प्राप्त गर्न दिंदैनन् । यस्तो अवस्थामा हामीले के सोच्यौं भने, संविधान कार्यान्वयन गर्न, मुलुकलाई समृद्धितर्फ लैजान बहुमत प्राप्त गर्न जरुरी छ। एक्लाएक्लै बहुमत प्राप्त गर्न सम्भव थिएन, त्यसैले अब हामी चुनावी तालमेलमा जाउँ भन्ने भयो ।

बडादशैंको त्यो दिन
चुनावी तालमेलमा जाँदा हामीले तीन वटा कुरा सोचेका थियौं ।

पहिलो कुरा, हाम्रो दृष्टिकोण फरक छ । हाम्रो अभ्यास फरक छ । हाम्रा सबल, दुर्वल पक्षहरु फरक छन्। त्यसैले गर्दा रातारात हामीलाई एकताबद्ध हुन सम्भव पनि छैन । त्यसै हुनाले हामी चुनावी तालमेलमा जाऊँ ।

अर्को थियो, साझा मुद्दा लिएर जाने र एउटै चुनाव चिन्हमा चुनाव लड्ने । म तपाईंहरुलाई भन्न चाहन्छु, २०७४ सालको असोज १४ गते । त्यो बडादशैंको दिन थियो। त्यो दिन दुई पार्टीका दुई अध्यक्षबीच लिखित सम्झौता भयो । त्यो सम्झौताको साक्षी म र जनार्दन शर्मा थियौं। त्यो सम्झौतामा हामी सूर्य चुनाव चिन्ह लिएर निर्वाचनमा जान्छौं भन्ने थियो ।

उहाँहरुको चाहना, प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाउने, माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने । त्यसपछि प्रधानमन्त्री खाली हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्ने थियो । प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्ने इच्छा यस्तो भयो कि चैतसम्म पनि उहाँहरुले कुर्न सक्नु भएन ।

साझा उम्मेदवार र साझा घोषणापत्र लिएर हामी चुनावमा जान्छौं भनेर लिखित सम्झौता थियो । त्यो सम्झौताको धेरै ठूलो अर्थ र तात्पर्य थियो । धेरै ठूलो त्यसको महत्व थियो ।

त्यो सम्झौताका दुइटा कुरा साझा उम्मेदवार र साझा घोषणापत्र कार्यान्वयन भयो तर साझा चुनाव चिन्ह कार्यान्वयन भएन । त्यो लिखित सहमतिबाट २४ घण्टा पनि नबित्दै प्रचण्ड कमरेड पछाडि फर्किनुभयो । उहाँले मैले साथीहरुलाई सम्झाउन सकिनँ, सूर्य चिन्हमा चुनाव लड्न नसकिने भयो भनेर भन्नुभयो ।

जबकि सबैभन्दा महत्वपूर्ण साझा घोषणापत्र थियो । साझा घोषणापत्र बन्ने, साझा उम्मेदवार बन्ने र साझा चुनाव चिन्हमा सहमति नहुने ।

यदि हामी साझा चुनाव चिन्हमा चुनाव लडेका थियौं भने पार्टी दुइटा हुन्थे, संसदीय दल एउटा हुन्थ्यो। संविधानले सूर्य चिन्ह लगेर चुनाव लडेको दललाई चिन्थ्यो र त्यसअन्तर्गत दुइटा पार्टी एक पनि हुन्थे । अनि दल विभाजन गर्नका लागि ४० प्रतिशत सांसद चाहिने जुन कुरा सम्भव हुँदैनथ्याे। र, पार्टी एकताको बलियो आधार तयार गर्थ्याे ।

नीतिगत प्रश्न, संगठनात्मक प्रश्न, नेतृत्वको प्रश्नमा पनि एउटा साझा आधार निर्माण गर्न त्यसले मदत गर्थ्याे। धेरै हतार गर्नुपर्ने अवस्था पनि हुँदैनथ्यो । हामीले त्यो सोचेर त्यो सहमतिमा पुगेका थियौं तर लागू हुन सकेन ।

प्रचण्डले यस्तो खेल शुरु गरे
हामी चुनावमा गर्यौं । चुनावबाट एउटा खाले मत प्राप्त भयो । स्वाभाविक रुपमा केपी शर्मा ओली मुलुकको प्रधानमन्त्री बन्ने आधार तयार भयो । उहाँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो ।

शपथ ग्रहण गर्न जाने बेलामा फेरि एउटा समस्या सिर्जना भयो । त्यतिबेला प्रधानमन्त्री तत्कालीन माओवादीलाई पनि शपथग्रहणमा सँगै लगेर जान चाहनुहुन्थ्यो । तर, त्यति नै बेला एउटा खेल सुरु भइसकेको थियो । खेल के सुरु भइसकेको थियो भने, कांग्रेसलगायतसँग मिलेर प्रधानमन्त्री बन्न पाइन्छ कि भनेर प्रचण्डले साथीहरुलाई शपथ ग्रहण समारोहमा पठाउनु भएन ।

अर्थात चुनाव चाहिं एमाले र माओवादी भएर लड्ने । सरकार कांग्रेससँग मिलेर बनाउन खुट्टा उचाल्ने । अस्थिरतालाई सुनिश्चित गर्नका लागि, राजनीतिक स्थायित्वका लागि, बहस छलफलबाट साझा निष्कर्षमा पुग्नका लागि हामीले, कम्युनिष्ट आन्दोलनलाई नयाँ चरणमा लैजानका लागि हामीले शीघ्र एकता गर्ने पहल गर्‍याैं । र, २०७५ साल जेठ ३ गते पार्टी एकता सम्पन्न भयो ।

पार्टी एकतापछि हामीले ठानेका के थियौं भने, पार्टीको आन्तरिक जीवनमा विभिन्न समस्या, अन्तरविरोधहरु उत्पन्न हुनेछन् । समस्या त सिर्जना हुने छन् । तर, त्यो विभाजनको तहमा प्रकट होला भन्ने हाम्रो अनुमान थिएन । तर, हाम्रो अनुमान चाहिं पछिल्ला घटनाक्रमले असफल बनाइदियो ।

समस्या सिर्जना हुन्छ । अनेक बहस गर्छौं, समाधान निस्कँदैन । एउटा समझदारीबाट एक हप्ता चल्न भ्याइएको हुँदैन, फेरि समस्या सिर्जना हुन्छ । एक महिना अगाडिको काम गर्न भ्याइएको हुँदैन, फेरि समस्या सिर्जना हुन्छ । यसरी हामी समस्या–समाधान, समस्या–समाधानको विशेष सर्कलमा हामी फस्दै गएको जस्तो अवस्था देखिन थाल्यो ।

पछिल्लो पटक पार्टी अब फुट्ने भो । हामीले जोगाउनका लागि सक्दो प्रयास गर्‍यौं । पार्टी जोगाउन धेरै चोटि कोसिस गरियो, सफल भइयो । तर, यसचोटि सफल हुन सकिएन । एकचोटि सफल हुन नसकेपछि सबै कुरा व्यर्थको जस्तो देखिने भयो ।

क्याबिनेटलाई फोटोकपी बनाउन खोजियो
पछिल्लो चोटि हामीले कार्यदल बनाएर, कार्यदलमा सहमति कायम गरेर, त्यसलाई स्थायी कमिटीमा प्रस्तुत गरेर, स्थायी कमिटी बैठकले पनि कार्यदलको बैठकलाई सर्वसम्मत रुपमा स्वीकार गर्‍यो । हामीले स्थायी कमिटीबाट अनुमोदन गरी विवाद समाधान गर्न सफल भयौं । भदौ २६ गतेको निर्णयले पार्टी कमिटीमा एक प्रकारको नयाँ आशा संचार पनि गरेको थियो कि, अब शायद समस्याको पुनरावृत्ति हुँदैन होला ।

तर, बैठक कक्षबाट हामी बाहिर निस्कँदै गर्दा सुनिरहेका थियौं–यो लामो समय चल्दैन । हामीले साचेका थियौं, भदौ २६ ‘कम्प्रोमाइज’को एउटा मोड हो । हामी कम्प्रोमाइजमै अल्झिएर बस्दैनौं, हामी हाम्रो तयारीलाई अगाडि बढाउँछौं भन्ने कुरा आएका थिए ।

हामीलाई लागेको थियो–त्यो ढंगले अगाडि जाला र ? तर, परिस्थिति त्यही ढंगले अगाडि बढ्यो । भदौ २६ को सर्वसम्मत निर्णय मानेर अगाडि बढ्नुपर्नेमा त्यो कार्यान्वयन हुन नसक्ने र कुनै पनि काममा लगाउन नसकिने अवस्था सिर्जना भयो ।

मन्त्रिपरिषद् पुनर्गठन गरौं भन्यो, त्यहाँ सहमति नहुने । संवैधानिक परिषद बसौं भन्यो, न त्यहाँ सहमति हुन्छ । न बैठक आयोजना गर्ने कुरामा सहमति हुन्छ, न व्यक्तिका बारेमा सहमति हुन्छ ।

कुनै पनि विषयमा त्यस प्रकारको अनिर्णयको बन्दी बन्दै जाने अवस्था पार्टी जीवनमा देखापर्‍यो । सरकार छ, तर काम गर्न पाउँदैन । सरकार छ, निर्णय गर्न पाउँदैन ।

कस्तो खालको एउटा मानक स्थापित गर्न खोजियो भने सबैभन्दा पहिले कम्युनिष्ट पार्टीको बैठक बसोस् र त्यहाँ जे निर्णय हुन्छ, क्याबिनेटले त्यो फोटोकपी गरोस् ।

त्यो पत्र जसले विभाजनको आधार तय गर्‍यो
सहमतिका लागि के भयो, कति कोसिस गरियो भन्ने कुराको बेलिविस्तार लगाउन छुट्टै समय चाहिन्छ ।

सचिवालयका ७६-७७ वटा त बैठक बसियो । त्यो बैठकमा अनेक विषयमा छलफल भएका छन् । सचिवालयको बैठक बस्ने कि नबस्ने, यसमा सहमति जुट्ने कि नजुट्ने ? बैठक आयोजना गर्नकै लागि अर्को पहल गर्नुपर्छ कि भन्ने खालको स्थिति नै होइन ।

तर अनायास, एक दिन पाँच जना कमरेडहरुको बैठक संचालन गर्न हस्ताक्षर आयो । विधानमा के छ भने बैठकको आयोजना अध्यक्षको महासचिवसँग परामर्श हुन्छ र त्यसका आधारमा महासचिवले बैठक बोलाउने । दुई अध्यक्ष बसेर महासचिवलाई बोलाएर बैठक कहिले बस्ने, के-के एजेन्डा राख्ने भनेर भन्नुपर्ने ठाउँमा उहाँहरु पत्रतिर जानुभयो ।

त्यसले एउटा समस्या सिर्जना गर्‍यो । त्यसमा लेखिएका आरोपहरु गलत हुन् भनेर अर्को पत्र लेख्नुपर्ने अवस्था सिर्जना भयो । त्यसपछि एउटा यस्तो खालको ठाडो पत्र तयार भयो ।

उहाँलाई (प्रधानमन्त्री)लक्षित गरेर जस्ता खालको आरोप लगाइएको छ, ती निराधार त छँदैछन् त्यसले पार्टीमा एकताका सम्पूर्ण आधारहरुलाई समाप्त पारिदियो । विभाजनको आधार तयार पार्न खोजिएको भन्ने प्रष्ट भयो ।

स्वाभाविक रुपमा कमरेड केपी शर्मा ओलीले यो विषय छलफलको विषय हुन सक्दैन, यो फिर्ता लिनुपर्छ भन्ने अडान लिनुभयो । त्यसको जवाफस्वरुप उहाँले आफ्नो दस्तावेज नै पेश गर्नुभयो ।

हामी दुर्घटनाको डिलमा धेरै पहिले देखि पुग्दै-पुग्दै आएको हो । दुर्घटनाको बीचमा छौं, तर जोगिंदै पनि आएका छौं । खस्छौं खस्छौं भन्ने अवस्थामा छौं, तर हामी खसिहालेका छैनौं । यस्तो अवस्थाबाट हामी गुज्रिएर आएका थियौं ।

चैतसम्म पनि पर्खिन मान्नु भएन
उहाँहरुले हस्ताक्षर लिएर राष्ट्रति कार्यालय जानुभयो । पछि त्यो फिर्ता भए पनि मानसिकता फिर्ता भएको थिएन । मैले भनेको थिएँ,केपी कमरेडमाथि जुन आरोप लगाउनुभएको छ तपाईंको आरोप निराधार हो । उहाँको स्वभाव अनुसार उहाँ बालकोट गएर बस्नुहोला कि त्यसको डटेर सामना गर्नुहोला ? त्यो त सामान्य रुपमा अनुमान गर्न सकिने विषय थियो ।

सहमतिका लागि केपी ओलीले धेरै विकल्प प्रस्ताव गर्नुभएको छ । ठूलो महाधिवेशन गर्न सकिन्न भने विशेष महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्छु भन्नुभएको छ । चैत पनि उहाँहरुलाई टाढा भयो । उहाँहरुको चाहना, प्रधानमन्त्रीलाई अध्यक्षबाट हटाउने, माधव नेपाललाई दोस्रो अध्यक्ष बनाउने । त्यसपछि प्रधानमन्त्री खाली हुन्छ । प्रचण्ड प्रधानमन्त्री बन्ने थियो ।

प्रधानमन्त्री बन्ने र पार्टी अध्यक्ष बन्ने इच्छा यस्तो भयो कि चैतसम्म पनि उहाँहरुले कुर्न सक्नु भएन । त्यो मानसिकता भएपछि अरु कसैका लागि सहमति गर्ने कुरा पनि भएन ।

जब प्रधानमन्त्रीले त्यस्तो भन्नुभयो
पाँच गते बिहान प्रधानमन्त्रीले बोलाएर हामीलाई भन्नुभयो–साथी हो उनीहरु अविश्वासको प्रस्ताव दर्ता गर्नका लागि ‘मूभ’ भइसकेका छन् । यो मुलुकलाई नेपालको कम्युनिष्ट आन्दोलनलाई दुर्घटनातिर धकेल्ने कोसिस हो । त्यसकारण म यस खालको कुरालाई हेरेर बस्न सक्दिनँ । मैले राजनीतिक रुपमा प्रतिवाद गर्छु । संसद विघटनमा जान्छु भनेर उहाँले जानकारी दिनुभयो । त्यसपछि मन्त्रिपरिषद बैठकमा जानुभयो । प्रतिनिधिसभाको विघटन गरेर ताजा जनादेशका लागि जनतामा जाने भन्नुभयो ।

(ओली पक्षले नयाँ केन्द्रीय सदस्यहरुलाई प्रशिक्षित गर्न प्रदेशगत रुपमा आयोजना गरेको लुम्बिनी प्रदेशको भेलालाई पौडेलले गरेको सम्बोधनको संपादित अंश ।)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर