कांग्रेस बैठकमा हुटिङ : रामचन्द्रविरुद्ध खनिए शंकर, प्रतिवादमा उत्रिए गुरु – Nepal Press

कांग्रेस बैठकमा हुटिङ : रामचन्द्रविरुद्ध खनिए शंकर, प्रतिवादमा उत्रिए गुरु

अदालतको फैसला कुर्ने कि तत्कालै आन्दोलनमा जाने भन्नेमा विवाद

काठमाडौं । संसद विघटनको विरुद्धमा तत्काल आन्दोलन गर्ने वा अदालतको फैसला कुर्ने भन्नेमा विभाजित भएको कांग्रेस केन्द्रीय समितिको बैठकमा चर्काचर्की परेको छ । नेताहरुले एक अर्कालाई बैठकमै हुटिङ समेत गरेका छन् ।

बुधबारको केन्द्रीय समितिको बैठकमा बोलेका ४ मध्ये ३ जना केन्द्रीय सदस्यहरुले संविधान र लोकतन्त्र जोगाउन तत्काल आन्दोलनमा जानुपर्ने धारणा राखेका थिए । त्यसपश्चात सभापति शेरबहादुर देउवाले नेकपाको विवादमा निर्वाचन आयोग र अदालतले गर्ने फैसला अनुसार आन्दोलनको रणनीति बनाउन उपयुक्त हुने बताएका थिए ।

देउवाको भनाइमा असहमत रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन असंवैधानिक भएको ठहर पार्टीले गरिसकेकोले जनतामा जाने कुनै न कुनै कार्यक्रम घोषणा गर्नुपर्ने बताए ।
पौडेलको भनाइपछि सभापति देउवाले ‘पुस १६ गते मेलमिलाप दिवसको दिन देशव्यापी प्रदर्शन गरौ’ भन्ने प्रस्ताव गरे । जसमा पौडेलले ‘मेलमिलाप दिवसको दिन नभएर अगाडि वा पछाडिको कुनै मितिमा प्रदर्शन गरौं’ भन्ने धारणा राखे । यसलगत्तै देउवा र पौडेल पक्षका नेताहरुबीच बैठकमा चर्काचर्की सुरु भयो ।

महामन्त्री पूर्णबहादुर खड्काले सभापति देउवा र पौडेललाई दुइजना छुट्टै बसेर टुंगो लगाउन सुझाव दिएका थिए । सह महामन्त्री डा.प्रकाशशरण महतले सभापति बोलेको बेला ‘बीचमै किन बोलेको ?’ भनी वरिष्ठ नेता पौडेललाई प्रश्न गरेका थिए ।

यत्तिकैमा देउवानिकट केन्द्रीय सदस्य शंकर भण्डारी आक्रोशित भए । उनले ‘वरिष्ठ नेताले जे भन्यो त्यही मान्न नसकिने’ जिकिर गरे ।

भण्डारीले केन्द्रीय समिति नसकिदै आन्दोलनको घोषणा नगर्न र सर्वोच्चको निर्णय कुर्न माग गर्दै वरिष्ठ नेता पौडेलको प्रतिवादमा उत्रिए । पौडेल नजिकै पुगेका भण्डारीलाई अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेले रोकेका थिए । ‘मेलमिलाप दिवसको दिन आन्दोलन गर्ने प्रचलन छैन’ पौडेल पक्षका केन्द्रीय सदस्य घिमिरेले प्रतिवाद गरे ।

पौडेल विरुद्ध आइलागेका भण्डारीलाई घिमिरेले रोकेपछि बैठकमा केहीबेर चर्काचर्की परेको थियो । ‘चुप लाग्नुस तपाई, बढी नबोल्नुस्’, भण्डारीले घिमिरेलाई भने । ‘ठूलो स्वर हुँदैमा तपाई बढी बोल्ने, मलाई सिकाउने तपाई को हो ?’ घिमिरेले जवाफ फर्काए । दुई नेताबीच लामो चर्काचर्की परेपछि सभापति देउवाले दुवैलाई आ–आफ्नो स्थानमा बस्न निर्देशन दिए । ‘बसेर सल्लाह गर’, देउवाले दुवै नेतालाई भनेका थिए ।

पौडेल पक्षका नेताहरुले पार्टीभित्र आन्दोलनको पक्षमा उभिएकै कारण सुनियोजित रुपमा प्रतिवाद थालिएको आरोप लगाएका छन् । ‘सभापतिजीको भन्दा फरक धारणा राखियो भन्दैमा प्रतिवाद गर्ने शैली उहाँहरुमा देखियो । आजको बैठकमा जे भयो त्यसले राम्रो संकेत गरेन’, चर्काचर्कीमा मूकदर्शक बनेका एक नेताले भने ।

केन्द्रीय सदस्य शंकर भण्डारीले भने पार्टीभित्र अनौपचारिक रुपमा छलफल हुनु सामान्य रहेको प्रतिक्रिया दिए । ‘बैठक नसकिंदै आन्दोलन किन गर्ने ? अदालतको फैसला कुरौं भनेर मैले भनेकै हो । त्यहीबेला सामान्य परेको हो’, भण्डारीले नेपाल प्रेससँग भने ।

केन्द्रीय समितिको बुधबारको बैठकमा डा.रामशरण महत, बलबहादुर केसी र गगन थापाले अदालतको फैसला कुरेर चुपचाप बस्नुभन्दा सडकबाट सरकारलाई चुनौती दिनुपर्ने बताएका थिए । उनीहरुले तत्काल आन्दोलनको कार्यक्रम घोषणा गर्न माग गरेका थिए । देउवा पक्षका केन्द्रीय सदस्य आनन्द ढुंगानाले भने अदालतको क्षेत्राधिकारमा परेको विषयमा सडकमा गइहाल्न आवश्यक नरहेको बताए । कांग्रेस बैठक विहीबार पुनः बस्नेछ ।

मेलमिलाप दिवसमा आन्दोलन नहुने
बुधबारको बैठकको निर्णयका रुपमा कांग्रेसले पुस १६ गते देशव्यापी प्रदर्शन गर्ने जनाएको थियो । यद्यपि मेलमिलाप दिवसको दिन आन्दोलन नगर्न सभापति देउवा सहमत भएका छन् । ‘मेलमिलाप दिवसको दिन नियमित कार्यक्रम गर्ने र त्यसअगाडि नै प्रदर्शन गर्ने गरी विहीबारको बैठकबाट थप निर्णय गर्ने सल्लाह भएको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।


प्रतिक्रिया

One thought on “कांग्रेस बैठकमा हुटिङ : रामचन्द्रविरुद्ध खनिए शंकर, प्रतिवादमा उत्रिए गुरु

  1. काङ्गग्रेस लोकतन्त्रबादी हो भने चुनाबमा जानुको बिकल्प छैन ।किनकी निर्बाचन लोकतन्त्रको मुटु हो ।

Leave a Reply to Gobardhan Bhattarai Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर