अस्थिर राजनीतिको असर अर्थतन्त्रमा कस्तो पर्ला ? – Nepal Press

अस्थिर राजनीतिको असर अर्थतन्त्रमा कस्तो पर्ला ?

के भन्छन् अर्थविद् ?

काठमाडौं । कोभिड–१९ का कारण नौ महिनादेखि नेपालको अर्थतन्त्र थला परेको छ ।

पछिल्लो राजनैतिक घटनाक्रमले देशको राजनीति तथा आर्थिक क्षेत्रमा अस्थिरता निम्त्याएको छ ।

यो अस्थिरताले अर्थतन्त्रमा कस्तो असर पार्छ ? यसबारे नेपालका केही अर्थविद्हरुको प्रतिक्रिया ।
विमल कोइराला
अर्थविद्
कोभिड–१९ का कारण नेपालको अर्थतन्त्र प्रभावित भइरहेको छ । यसै समयमा पाँच वर्षको म्यान्डेट पाएको सरकार अचानक अस्थिर बन्न पुगेको छ ।

नेपालमा राजनीति र अर्थ एकअर्कासँग जोडिएका छन् । राजनीतिमा उथलपुथल हुँदा त्यसको असर अर्थतन्त्रमा नपर्ने कुरै भएन । त्यसमा पनि अहिले नेपाल कोभिड–१९ का कारण आर्थिक चपेटामा परेको छ ।

यस्तो बेलामा देशमा भएको राजनीतिक अस्थिरताले अर्थ व्यवस्थामा गम्भीर असर गर्छ । उद्योग व्यवसायीलाई लगानी गर्न अन्योल सृजना हुन्छ ।

लगानी गर्नेले लगानीको सुरक्षा चाहन्छ । अस्थिर राजनीतिमा त्यो संभव हुँदैन । खर्च गर्नेले पनि देशमा अस्थिर भएको अवस्थामा खर्च गर्दैन ।

यस्तो अवस्थामा लगानीकर्ता र खर्च गर्ने व्यक्ति पर्ख र हेरको स्थितिमा रहन्छन् । कोभिड–१९ को खोप किन्ने र भण्डारण गर्ने ठाउँका लागि सरकारसँग पर्याप्त पैसा नभइरहेको अवस्थामा चुनाव भएमा अर्बौं खर्च हुन्छ । यसले अर्थतन्त्रमा ठूलो प्रभाव पार्छ ।

दीपेन्द्रबहादुर क्षेत्री
पूर्व गभर्नर
जनताले पाँच वर्षका लागि दिएको जनादेशलाई कुल्चिएर प्रधानमन्त्रीले जुन कदम चाल्नुभयो यसले देशको राजनीतिमा मात्र होइन अर्थतन्त्रमा पनि ठूलो असर पार्छ ।

एकातिर कोभिड–१९ ले देशको अर्थतन्त्रलाई आक्रान्त पारिरहेको छ अर्कोतिर प्रधानमन्त्रीले राजनीतिक अस्थिरता निम्त्याउनुभयो । यदि चुनाव भयो भने देशले आर्थिक भार धान्न सक्छ ? आफ्नो पार्टीको आन्तरिक कलहले गर्दा सरकारले जनतालाई बन्दी बनायो ।

अहिले सरकारको काम कोभिड–१९ बाट कसरी जनतालाई जोगाउने हो । जनताले पाँच वर्षको स्थिर सरकार दिएका थिए, त्यसको धज्जी उडाइएको छ ।

देशको अस्थिर राजनीतिले अर्थव्यवस्था धेरै वर्ष पर धकेलिनेछ ।

रामेश्वर खनाल
अर्थविद्
पछिल्लो समय देशमा घटेको राजनीतिक परिघटनाले नेपालको अर्थतन्त्रमा खासै असर गर्छ जस्तो मलाई लाग्दैन ।

कोभिड–१९ ले देशको अर्थतन्त्रमा असर गरेकै हो । तर, पुनः देशको अर्थव्यवस्था चलायमान हुन थालेको छ । अहिले प्रधानमन्त्रीले चालेको कदमले देश बर्बाद भयो भन्नुपर्ने ठाउँ छैन ।

देशमा चुनाव भएमा यसले नयाँ लहर ल्याउनेछ । अहिले हाम्रो देशको अर्थव्यवस्था मजबूत नै छ । चुनावमा जाँदा देशले आर्थिक संकट व्यहोर्नुपर्दैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर