केन्द्रको विभाजनले कर्णाली सरकार जोखिममा, दुवै पक्षलाई कांग्रेसको भर – Nepal Press

केन्द्रको विभाजनले कर्णाली सरकार जोखिममा, दुवै पक्षलाई कांग्रेसको भर

सुर्खेत । चार महिनाअघि आफ्नै पार्टीका बहुमत सांसदहरुले हस्ताक्षर गरेर मुख्यमन्त्रीबाट हटाउन लाग्दा बल्लतल्ल जोगिएका कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको कुर्सी नेकपा विभाजनसँगै फेरि धर्मराएको छ । विगतमा माधव नेपाल पक्षका सांसदहरुको हस्ताक्षर फिर्ता गराएर शाही जोगिएका थिए ।

कर्णालीमा प्रदेशसभामा नेकपाका तीन गुटमध्ये केपी ओली समूहको नेतृत्व यमलाल कँडेलले गर्छन् भने प्रचण्ड समूहको नेतृत्व मुख्यमन्त्री शाहीले गर्छन् । प्रकाश ज्वालाले माधव नेपाल समूहको नेतृत्व गर्छन् । मुख्यमन्त्रीसँग माधव नेपाल पक्ष पनि असन्तुष्ट छ । तर अब केन्द्रमा प्रचण्ड र माधव नेपाल मिलेपछि प्रदेशमा उनीहरु मिल्न बाध्य छन् ।

केन्द्रमा भएको नेकपा विभाजनले कर्णाली प्रदेशको सरकार पनि जोखिममा परेको छ । ४० सदस्य रहेको कर्णाली प्रदेशसभामा नेकपाका ३३ सांसद छन् । ३३ सदस्यीय संसदीय दलमा बहुमत सदस्यका लागि प्रचण्ड र नेपाल समूहसँग पर्याप्त संख्या रहेको छ । अहिले यो समूहसँग १९ सदस्य रहेका छन् तर सरकार गठन गर्नका लागि कम्तीमा २१ जना सांसदको आवश्यकता पर्ने देखिन्छ यसका लागि दुवै पक्षसँग कांग्रेससँग सहकार्य गर्नुको विकल्प छैन ।

सदनमा नेपाली कांग्रेससँग ६ जना सांसद रहेका छन् । सांसदहरु जीवनबहादुर शाही, हिमबहादुर शाही, दीनबन्धु श्रेष्ठ, अमृता शाही, यज्ञबहादुर विसी, झोवा कामी प्रदेश सभामा छन् । नेपाली कांग्रेसको केन्द्रीय समितिमा देउवा पक्ष र पौडेल पक्षबीच संसद विघटनका बारेमा फरक धारणा आउँदा यहाँ पनि प्रभाव पर्ने सम्भावना रहेको छ ।

प्रदेश सभामा राप्रपाका तर्फबाट शोसिला शाही सांसद छिन् । उनको एक भोटको पनि महत्व यतिबेला ओली पक्षका लागि बढेर गएको छ ।

हामी सर्मथन दिन्छौं सरकारमा जाँदैनौंः सचेतक शाही

नेपाली कांग्रेस संसदीय दल कर्णाली प्रदेशका सचेतक हिमबहादुर शाहीले आफ्नो दल सरकारमा सहभागी नहुने बताए । उनले भने– हामी सरकारमा सहभागी हुँदैनौं । संवैधानिक अस्थिरता निम्त्याउन हामी चाहँदैनौं । सरकार गठनमा नेकपालाई संख्या कम भएको खण्डमा हामी कुनै एक समूहलाई तटस्थ रुपमा समर्थन गरेर सरकार निर्माणमा सहयोग गर्न सक्छौं ।

कुन समूहलाई सहयोग गर्ने भन्ने दलको बैठकपछि मात्रै निर्णयमा पुग्ने उनले बताए । उनले नेपाली कांग्रेसका ६ जना नै देउवा पक्षका रहेको दाबी गरे ।

यता नेकपाका दुवै पक्षका नेताहरु भने कांग्रेसले आफ्नो पक्षलाई साथ दिने दाबी गर्दै आइरहेका छन् । केन्द्रमा देउवा पक्षले सरकारसँग मिलेर चुनावमा जाने निर्णय गर्ने र त्यसले गर्दा कर्णालीमा कांग्रेससँग गठबन्धन गरेर सरकार बनाउने योजनामा ओली पक्ष छ भने नेपाल प्रचण्ड पक्ष आफूसँग बहुमत रहेको दाबी गर्दै आइरहेको छ ।

सरकारमा मन्त्रीसमेत रहेका नेपाल प्रचण्ड पक्षका एक नेताले भने– असंवैधानिक कदम चाल्नेसँग कांग्रेस जाँदैन होला। लोकतन्त्रको घाँटी निमोठ्नेसँग कांग्रेसले सहकार्य गर्छ जस्तो लाग्दैन । कांग्रेसले हामीलाई नै सहयोग गर्छ ।

जसले जहाँ जे भने पनि कर्णालीमा सरकार निर्माणमा नेपाली कांग्रेस गेमचेन्जरको रुपमा रहेको छ । नेपाली कांग्रेसले ओली पक्षलाई साथ दिएको खण्डमा सभामुख बाहेक १९ सांसद हुन्छन् । नेकपाकै अर्को पक्षमा पनि १९ जना हुनेछन् ।

यो पक्षलाई कांग्रेसले साथ दिएको खण्डमा २५ जना पुग्नेछन् र सरकार बन्नेछ । राप्रपाको एक सांसद र कांग्रेस ओली पक्षतिर लागेमा २० सांसदसहित यमलाल कँडेल मुख्यमन्त्री बन्न सक्छन् ।

कसको पक्षमा को सांसद ?

नेकपा संसदीय दलमा ३३ जना सांसद रहेका छन् । तीमध्ये २३ जना प्रत्यक्ष हुन् भने बाँकी १० जना समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य भएका हुन् । सभामुख राजबहादुर शाही अहिले तटस्थ बस्नुपर्ने भएका कारण ३२ जना नेकपा संसदीय दलमा छन्

ओली पक्षमा नेता यामलाल कँडेल, मीनासिंह रखाल, दल रावल, नन्दसिंह बुढा, दानसिंह परियार, कौशिलावती खत्री, गुलावजंग शाह, बदमीक्वारी बोहोरा, खड्कबहादुर खत्री, पदमबहादुर रोकाय, राजु नेपाली रहेका छन् । पूर्व माओवादीबाट प्रत्यक्ष निर्वाचित सांसद धर्मराज रेग्मी, ठम्मर विष्ट पनि ओली पक्षमा लागेका छन् ।

उनीहरु दुवै जना ओली समूहले मनोनयन गरेको केन्द्रीय कमिटीमा परेका छन् । सभामुख राजबहादुर शाही ओली पक्षका हुन् तर उनले संसदमा मतदान गर्न पाउने छैनन् । यसरी हेर्दा ओली पक्षमा प्रदेश सभामा १४ जना छन् । १३ जनाले मतदान गर्न पाउँछन् ।

यस्तै प्रचण्ड पक्षका महेन्द्रबहादुर शाही, वीरबहादुर शाही, पुष्पा घर्ती मगर, विन्दमान विष्ट, गणेशबहादुर सिंह, गोपाल शर्मा, कृष्णा शाह, सीता नेपाली, रातो कामी, नरेश भण्डारी र विमला केसी छन् । प्रचण्ड पक्षमा ११ जना सांसद रहेका छन् । अविश्वासको प्रस्तावमा हस्ताक्षरकर्ता उपसभामुख पुष्पा घर्ती अहिले आफैंसँग रहेको मुख्यमन्त्री निकट श्रोत दाबी गर्छ ।

संसदीय दलमा तेश्रो शक्तिको रुपमा रहेको नेपाल पक्षमा प्रकाश ज्वाला, चन्द्रबहादुर शाही, अम्मरबहादुर थापा, सुशील थापा, देवी वली, पदमा खड्का, करवीर शाही र कुर्मराज शाही रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर