सडकमा भेटिएका दुई बंगलादेशीलाई आज स्वदेश फर्काइँदै – Nepal Press

सडकमा भेटिएका दुई बंगलादेशीलाई आज स्वदेश फर्काइँदै

रासस । चितवन र लमजुङको सडकपेटीमा कष्टकर जीवन गुजार्दै गर्दा उद्धार गरिएका दुई बङ्गलादेशी नागरिकलाई आज स्वदेश फर्काइँदैछ ।

सहयोगापेक्षी सडक मानवको उद्धार, संरक्षण र पालनपोषण गर्दै आएको संस्था मानवसेवा आश्रमले बङ्गलादेशी ममिना बेगम (गीता) र मोहम्मद बबुल (बाबुलाल)लाई वि.सं. २०७२ मा सडकबाट उद्धार गरेको थियो ।

पाँच वर्ष आश्रममा राखेपछि नेपालस्थित बङ्गलादेशका राजदूतावासमार्फत घरपरिवार पहिचान भएको आश्रमकी सचिव सुशीला केसीले जानकारी दिइन् । आज उनीहरूलाई चार्टर्ड फ्लाइटमार्फत घरमा पुनःमिलन गराउन लागिएको उनले जानकारी दिइन्।

चितवनको रामनगरबाट उद्धार गर्दा बेगमको शरीरभरि कमिलाले ढाकेको थियो । हातको घाउ कुहिएर कीरा परेको थियो । घाउको गन्धले वरिपरि जानै मुस्किल थियो ।

विक्षिप्त अवस्थाकी बेगमलाई भरतपुर अस्पताल लगेर शल्यक्रिया गरी उपचार गरिएको र अहिले सबै समस्या समाधान भएको आश्रमले जनाएको छ । बाबुलाललाई लम्जुङको सडकमा अर्धचेत अवस्थामा फेला पारिएको थियो । अहिले उनी पनि पूर्ण स्वस्थ भइसकेका छन् ।

आज उनीहरुलाई परिवारसँग पुनर्मिलन गराउन केसी र अर्का अभियानकर्मी देवेश गुप्ता सँगै जाँदैछन् । उनीहरुलाई मंगलबार नै प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले विदाईसमेत गरिसकेका छन् ।

आश्रमले यसअघि पनि तीन बंगलादेशी नागरिकलाई परिवारमा पुनर्मिलन गरिसकेको छ । हालसम्म ४८ विदेशीको परिवारमा मिलन गराइसकिएको छ ।

अझै झण्डै १०० विदेशी नागरिक आश्रमको संरक्षणमा छन् । त्यसमा धेरैजसो भारतीय छन् । उनीहरुको पनि परिवार खोजेर मिलन गराउने प्रयास भइरहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *