नेकपा विभाजन पूरा, माधव नेपाल १२ वर्षपछि नेतृत्वमा – Nepal Press

नेकपा विभाजन पूरा, माधव नेपाल १२ वर्षपछि नेतृत्वमा

काठमाडौं–एकै दिन समानान्तर केन्द्रीय कमिटी बैठक राखेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष औपचारिक रुपमा आ-आफ्नो बाटो लागेका छन् । बाटो मोड्दा-मोड्दै प्रचण्डले केपी ओलीलाई अध्यक्षबाट हटाएको निर्णय गरे भने ओलीले बालुवाटारबाट आफू प्रचण्डलाई कारबाही नगर्ने र पार्टी फुटाउने पक्षमा नरहेको सन्देश दिए ।

मंगलबार बिहान बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई कारबाही गर्दै उनको ठाउँमा प्रदीप ज्ञवालीलाई नियुक्त गर्‍यो । श्रेष्ठलाई पनि प्रवक्ताबाट मात्र हटाइएको तर कारबाही नगरिएको ओली पक्षले जनाएको छ ।

कमिटीबाट कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गरेन बरु केन्द्रीय कमिटी पुनर्गठन गरेर त्यसको निर्णय निर्वाचन आयोगलाई पठायो ।

प्रचण्ड–माधव पक्षले पनि प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्दै रिक्त स्थानमा वरिष्ठ नेता माधवकुमार नेपाललाई चयन गरेको छ ।

मंगलबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको प्रचण्ड–माधव पक्षको बैठकले वरिष्ठ नेता झलनाथ खनालको प्रस्तावमा नेता नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैठकमा ४४१ मध्ये ३१५ जना केन्द्रीय सदस्य उपस्थित रहेको नेपाल पक्षले जनाएको छ । नेता प्रभु साहबाहेक सबैले नेता नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव सर्वसम्मत रुपमा अनुमोदन गरेका थिए ।

नेता प्रभु साहले भने पार्टीमा एकल अध्यक्ष हुनुपर्ने भन्दै दुई अध्यक्ष बनाउने निर्णय विरुद्ध फरक प्रस्ताव राखेका थिए । यद्यपि बैठकले साहको प्रस्तावमाथि कुनै छलफल भने गरेन ।

दुवै पक्षका आजको समानान्तर केन्द्रीय कमिटीका निर्णयले नेकपा विभाजनलाई एक कदम अगाडि बढाएको छ । आज ओलीलाई अध्यक्षबाट हटाएको प्रचण्ड–माधव पक्षले दलको नेता चुन्न बुधवार संसदीय दलको बैठक बोलाएको छ ।

बुधवार बस्ने उक्त बैठकले प्रचण्डलाई दलको नेता चयन गरेसँगै नेकपा विभाजनको लगभग सबै प्रक्रिया सकिनेछ र अन्य विषय निर्वाचन आयोगमा जानेछ । र, दुवै पक्षले आफूलाई नै वैधानिक भएको दाबी गर्न कानूनी लडाइँ लड्न सुरु गर्ने छन्।

नेपाल १२ वर्षपछि अध्यक्षको आसनमा

प्रचण्ड–माधव पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधव नेपाललाई प्रचण्डपछिको वरियता रहने गरी अध्यक्ष चयन गरेको छ ।

नेकपा एकीकृत रहँदा भने नेता नेपाल चौथो वरियतामा थिए । उनी अघि नेता झलनाथ खनालको वरियता थियाे । नेता नेपाल आफू पनि पार्टी अध्यक्ष हुन चाहन्थे । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै गएका बेला ओलीले नेता नेपाललाई अध्यक्ष बनाउने आश्वासन पनि दिने गरेका थिए । नेपाल भने त्यसमा उदारो आश्वासन भन्दा पनि लिखित सहमति नै हुनुपर्ने अडान राख्थे ।

विभक्त पार्टीको नै सही उनी १२ वर्षपछि पुनः पार्टी अध्यक्ष भएका छन् । नेता नेपालले तत्कालीन नेकपा (एमाले)लाई पार्टी महासचिव भएर १५ वर्ष नेतृत्व प्रदान गरेका थिए । २०६४ सालको संविधानसभा निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएपछि त्यसको नैतिक जिम्मेवारी लिंदै महासचिवको पदबाट राजीनामा दिएका थिए।

आफू नै वैधानिक भएको दाबी

नेकपाका दुवै पक्षले आफू नै वैधानिक भएको दाबी गरेका छन्। ओली पक्षबाट प्रवक्ताको जिम्मेवारी पाएका प्रदीप ज्ञवालीले पार्टीको अध्यक्ष, महासचिव र माइन्युट विना बैठक नहुने जिकिर गर्दै आफूहरु नै आधिकारिक भएको दाबी गरे ।

‘पार्टीको अध्यक्ष, महासचिव, माइन्युट विना पनि बैठक बस्छ र ?’ प्रचण्ड–माधव समूहलाई लक्षित उनको भनाइ थियो, ‘त्यो बैठकको निर्णय वैधानिकता हुने कुरा पनि भएन । पार्टीको मौजुदा विधानले महासचिवले सूचना जारी गर्नुपर्छ भन्छ। महासचिवले बैठकको एजेण्डा र सूचना तया गर्नुपर्छ ।’

अर्कोतिर प्रचण्ड–माधव पक्षधरले पनि आफू नै आधिकारिक भएको दाबी गरेको छ । केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले ओलीलाई एक तिहाइको मात्रै साथ भएको भन्दै आफूहरु नै आधिकारिक भएको दाबी गरे । नेता नेपालले पनि सम्बोधनका क्रममा नेकपाको नाम लिएर कुनै गुटले गरेको निर्णय वैध नहुने भन्दै आफूहरु नै आधिकारिक भएको दाबी गरे ।

ओली समूहबाट कारबाही भोगेका नारायणकाजी श्रेष्ठले आफू कुनै व्यक्ति र गुटको प्रवक्ता नभएको बताउँदै आफू नै आधिकारिक भएको दाबी गरे ।

‘म नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रवक्ता हुँ’ संवाददाताहरुसँग उनको भनाइ थियो, ‘यो पार्टीको बैठकले यस सन्दर्भमा मलाई थप उत्साहित पार्ने र अगाडि बढ्ने निर्देशन दिएको छ । कुनै तथाकथित गुटको कुनै भेलाको कुनै निर्णयसँग नेकपाको प्रवक्ताको जिम्मेवारीसँग सम्बन्धित छैन।’

पत्रकारले तपाईंलाई प्रवक्ताबाट हटाएको रहेछ नि भन्ने प्रश्नको जवाफ दिंदै उनले आफू नै आधिकारिक प्रवक्ता भएको बताएका हुन्।

ओली पक्षले मौजुदा केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ केन्द्रीय कमिटी बनाएको छ । र, त्यसलाई ओलीको नेतृत्वमा महाधिवेशन आयोजक समिति भनेर घोषणा पनि गरेको छ । र, महाधिवेशन  आउँदो २८ मंसिर २०७८ मा तोकेको छ ।

उता प्रचण्ड–माधव पक्षले आफूपक्षका ३१५ केन्द्रीय सदस्यलाई भेला पारेर अध्यक्ष ओलीमाथि कारबाही गरेको छ ।

तर, पनि दुवै पक्ष पार्टी विभाजन नभएको र आफूहरु नै सग्लो पार्टीको असली मुली रहेको बताइरहेका छन् ।

बालुवाटारमा बसेको ओली पक्षको केन्द्रीय कमिटीको निर्णय सुनाउने क्रममा प्रवक्ता ज्ञवालीले भनेका थिए, ‘प्रधानमन्त्री ओलीको तर्फबाट पार्टी विभाजित भएको छैन । कमिटीको विस्तारका लागि साथीहरू थपिनुभएको छ । नेकपा एकताबद्ध छ ।’

प्रचण्ड पक्षले पनि ओलीलाई मात्रै अध्यक्षबाट कारबाही गरिएको र सिंगो नेकपा एक ढिक्का भएको दाबी गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर