‘क्वारेन्टाइन’ बनाइएका विद्यालयको अनुगमन, शुद्ध खानेपानीको व्यवस्था – Nepal Press

‘क्वारेन्टाइन’ बनाइएका विद्यालयको अनुगमन, शुद्ध खानेपानीको व्यवस्था

सुर्खेत । ‘क्वारेन्टाइन’ बनाइएका विद्यालय संचालन गर्दा कोभिड–१९ संक्रमण फैलिने भन्दै त्यसको रोकथाम तथा न्यूनीकरणका लागि लेकबेसी नगरपालिकाका विभिन्न विद्यालयमा संचालित आयोजनाको मंगलबार अनुगमन गरिएको छ ।

कोभिड १९ तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत नगरपालिकाका दुई विद्यालयमा हात धुने स्थान, शुद्ध खानेपानीका लागि पानी शुद्ध गर्ने मेसिनको जडान भएको हो ।

नगरपालिकाको वडा नं. १ मा रहेको आदर्श माध्यमिक विद्यालयमा ६ वटा धारासहित पानी शुद्ध गर्ने मेसिन जडान गरिएको छ भने सोही नगरपालिकाको वडा नं. ४ मा रहेको जीवनज्योति माध्यमिक विद्यालयमा अत्याधुनिक पानी शुद्ध गर्ने मेसिन र ६ ओटा धारा जडान गरिएको छ ।

सुन्दर नेपाल संस्थाका कार्यकारी निर्देशक भुपेन्द्र कँडेलका अनुसार आदर्श माविमा झण्डै चार लाख तथा जनज्योति माविमा साढे चार लाख भन्दा बढीको सामग्री हस्तान्तरण गरिएको हो ।

‘यसका अलावा चार नम्बरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्र दशरथपुरमा पनि झण्डै तीन लाखको लागतमा पानी शुद्ध गर्ने मेसिन, पिपिई सेट, सरसफाई सामग्री, स्यानिटाइजर, मास्क आदि वितरण गरेका छौं’ उनले भने, ‘यसबाट क्वारेन्टाइन बनाइएका विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा शिक्षकमा कोरोना संक्रमण नफैलियोस् भन्ने अपेक्षा हामीले गरेका छौं ।’
नगरपालिका प्रमुख गगनसिंह सुनारले नगरपालिकाका विद्यालयलाई कोरोना संक्रमणबाट जोगाउन संस्थाले खेलेको भूमिका महत्वपूर्ण भएको बताए । उनले आगामी दिनमा पनि सुन्दर नेपाल तथा अन्य संस्थाबाट अन्य विद्यालयमा यस्तै सहयोग पाउने अपेक्षा व्यक्त गरे ।

जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले संस्थाले विद्यार्थी तथा शिक्षकलाई कोरोना तथा अन्य संक्रमणयुक्त रोगबाट बचाउन गरेको सहयोग अमूल्य रहेको बताए ।

शुद्ध खानेपानीको व्यवस्था गर्नु भएको रहेछ । धाराहरु जडान गरेर विद्यार्थीलाई साबुनपानीले हात धुने वातावरण सिर्जना गर्नुभएको रहेछ । उनले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थी, समुदाय र शिक्षकलाई कोरोना विरुद्ध लडन सहयोग पुर्याउँछ । आगामी दिनमा थप अन्य विद्यालयमा पनि यस्तो व्यवस्था गर्न आग्रह गर्दछु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *