उठ्दै गर्दा प्रधानमन्त्रीले भनेका थिए– सहमतिको बाटो बन्द भइसकेको छैन, अझै छलफल गर्छु – Nepal Press

उठ्दै गर्दा प्रधानमन्त्रीले भनेका थिए– सहमतिको बाटो बन्द भइसकेको छैन, अझै छलफल गर्छु

काठमाडौं । संसद विघटनको सिफारिश गर्ने निर्णय सुनाएर उठ्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिश फिर्ता हुन पनि सक्ने संकेत गरेको मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीले नेपाल प्रेसलाई बताएका छन् ।

प्रधानमन्त्रीले जति प्रयास गर्दा पनि नभएको भन्दै ताजा जनादेशमा जान प्रतिनिधिसभा विघटन गर्ने निर्णय लेख्न मुख्य सचिवलाई निर्देशन दिएपछि केही मन्त्रीले ‘त्यसो नगरौं’ भनेका थिए । प्रदिप ज्ञवाली, घनश्याम भुसाल, वर्षमान पुन र योगेश भट्टराईले ‘अझै सहमतिको पहल गरौं’ भन्दै संसद विघटनमा नजान आग्रह गरेपछि प्रधानमन्त्रीले आफूले अझै सहमतिको लागि प्रयास गर्ने बताएका थिए ।

‘अझै पनि सहमतिको सबै बाटो बन्द भएको छैन, म फेरि पनि प्रयास गर्छु, छलफल गर्न सकिन्छ’ उठेर हिंड्दै गर्दा प्रधानमन्त्रीले भनेका थिए । त्यसलगत्तै शीतलनिवास पुगेका प्रधानमन्त्रीले बालुवाटार फर्केर अर्का अध्यक्ष प्रचण्डसँग पुनः छलफल गरेका थिए । प्रचण्ड–माधव नेपाल समूहमै रहेका उपाध्यक्ष वामदेव गौतमले संसद विघटनको सिफारिशको समर्थन वा विरोध केही पनि नगर्ने प्रतिक्रिया दिनुलाई पनि अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्रपतिका सल्लाहकारहरुले पनि नेकपामा हुनसक्ने पछिल्लो निर्णय कुरेर मात्र कदम चाल्न सुझाव दिएको स्रोतले जनाएको छ । राष्ट्रपतिसमक्ष पुगेको सिफारिश अहिले विचाराधीन अवस्थामा रहेको एक सल्लाहकारले बताए । यसैबीच तत्कालीन माओवादीतर्फका केही मन्त्रीले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर