चिसोले मुक्त कमैया र भूमिहीनको दैनिकी कष्टकर – Nepal Press

चिसोले मुक्त कमैया र भूमिहीनको दैनिकी कष्टकर

रासस । टीकापुरको एकतापुर शिविरकी सन्ध्या विकको छोरा दुई दिनदेखि बिरामी छ । बच्चालाई रातभरि बान्ता र पखाला लागेपछि उनी एकाबिहानै अस्पताल पुगिन् । टीकापुर अस्पतालका चिकित्सकले जाँच गरेपछि बच्चालाई चिसो लागेको बताए । ‘बच्चालाई एक दिन अस्पताल भर्ना गरेर राखें, निकै कमजोर भएको छ’, सन्ध्याले भनिन्, ‘चिसो बढ्यो, घाम लागेन, बाक्ला लुगा छैनन्, बच्चालाई चिसो गढेछ ।’

एकसरो लुगा लगाएर बच्चा बोकेर अस्पतालबाट फर्किरहेकी सन्ध्या आफैँ पनि जाडोले काँपिरहेकी थिइन् । ‘गरिब छु, श्रीमान् पनि वैशाखदेखि घरमै बसेका छन् । रोजगार नभएर आम्दानी छैन । सानो बच्चा छ । काम पनि केही पाउँदैन । पेट पाल्नै मुस्किल छ, लुगाकपडा लाउने त परको कुरा,’ उनले पीडा पोखिन् ।

टीकापुरकै विशालनगर शिविरका रुपेश परियार ज्यालादारीको काम गर्छन् । शीतलहर शुरु भएपछि उनको परिवारलाई समेत जाडो छेक्न समस्या भएको छ । ‘म दिनभरि काम गर्छु, घरमा तीन बच्चा र श्रीमती छन् । दिनभरि कमाएर लगेपछि उनीहरुले खान पाउँछन्’, रुपेशले भने, ‘यसपटक एउटा सिरक किनौंला भनेको सकिएन । चिसो भएर रातभरि सुत्न सकिन्न, दिनभरि काम गर्नुपर्छ । मलाई त रिङ्गटा लाग्न थालेको छ ।’

रुपेशको परिवार घरमा ओढ्ने, ओछ्याउने कपडा नभएर भुइँमा पराल बिछ्याएर सुत्ने गरिएको छ । ‘आगो बालेर तापौंं भने पनि दाउरा पाइँदैन‘, रुपेशकी श्रीमती मनसराले भनिन्, ‘सबैजना सँगै सुत्छौँ अलि तातो हुन्छ ।’

मुक्त कमैया बस्तीका शिवनगरमा पनि चिसोसँगै शीतलहर शुरु भएपछि धेरैको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र ज्येष्ठ नागरिकलाई बढी कठिन भएको छ ।

बस्तीका बडघर रामफल चौधरीले शिविरमा बस्तीमा बस्ने सबै गरिब भएकाले समस्या भएको बताए । ‘हरेक वर्षको जाडो छेक्न कठिन हुन्छ, सरकारले विपन्नको जीविकोपार्जनका लागि केही उद्योग, कलकारखाना खोलिदिएको भए सबैले रोजगार पाउँथे’, बडघर चौधरी भन्छन्, ‘आयआर्जन भए पो आवश्यकता पूरा हुन्छन् । खेतीपाती गरौं भने जमिन छैन, अनि मौसमले पनि सधैं पीडा दिन्छ ।’

विजयनगर बस्तीकी गीतारानी चौधरी शनिबार बिहानै एकसरो म्याक्सी लगाएकी, सलभित्र काखमा बच्चा च्यापरे दौडँदै थिइन् । उनी घर निर्माण हुने स्थानमा इँटा, बालुवा बोक्ने काम गर्ने रहिछन् । ‘काम गर्नुपर्छ, बच्चा हेर्ने मानिस छैन, बोकेरै काममा जान्छु’, गीतारानीले भनिन्, ‘घरमा अन्न भएको भए चिसोमा आराम गर्ने थिएँ । शरीरमा लुगा छैन, दिनभरि काम गर्दा त जाडो भएको महसुस हुन्न तर राति चिसोले मुटु काप्छ ।’

यसरी शिविर तथा बस्तीमा बसेका धेरै नागरिक हरेक रात मुटु कपाएरै कटाउँछन् । उनीहरु सरकारले सहजरूपमा रोजगारीका अवसर सिर्जना गरिदिनुपर्ने माग गर्छन् । कोरोना भाइरस सङ्क्रमणपछि शिविरका धेरै नागरिकको ज्यालादारी गर्ने काम पनि छुटेको छ । भारतमा काम गर्नेहरु पनि घर फर्केका छन् । टीकापुर नगरपालिकाले गत वर्ष यी बस्तीमा दाउरा वितरण गरेको थियो ।

यस वर्ष पनि पुस महिना शुरु भएसँगै चिसो निकै बढेको छ । कैलालीको तापक्रम छ डिग्री सेल्सियससम्म झरेको छ । ‘यसपटक पनि चिसो बढेको छ । हामीले बस्तीमा बस्ने नागरिकलाई जाडो छेक्न कठिन भएकोबारे छलफल गरेका छौं,’ टीकापुर–१ का वडाध्यक्ष गङ्गाराम आचार्य भन्छन्, ‘नगरपालिकामा छलफल गरेर उहाँहरुलाई राहत दिन पहल गर्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *