म्याग्दीको अन्नपूर्णमा पहिलोपल्ट पुगे चिकित्सक – Nepal Press

म्याग्दीको अन्नपूर्णमा पहिलोपल्ट पुगे चिकित्सक

रासस । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरी पहिलो पटक चिकित्सक पुगेका छन् । गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि चिकित्सक नियुक्त गरेको हो ।

यही पुस १ गतेदेखि लागू हुने गरी डा ज्योति पन्थीलाई नियुक्त गरिएको प्रमुख प्रशासकीय अधिकृत नवीन सुवेदीले जानकारी दिए । ‘कोभिड अस्पताल सञ्चालन गर्नका लागि चिकित्सकसहित दुई जना स्टाफ नर्स र एक जना कार्यालय सहयोगी नियुक्त गरेका छौं,’ उनले भने

नियमित बसेर सेवा दिने गरी चिकित्सक आएको पहिलो पटक भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए । नारच्याङस्थित नेपाली सेनाले प्रयोग गरेको भवनमा ५ शय्या क्षमताको कोरोना अस्पताल सञ्चालन गर्न पूर्वाधार र सामग्री व्यवस्थापन गरिएको छ ।

कोरोनाका बिरामी नभएको अवस्थामा चिकित्सकलाई गाउँगाउँमा लगेर बिरामी पहिचान, उपचार र स्वास्थ्य सचेतना फैलाउने गाउँपालिकाको तयारी छ । पहिलो पटक गाउँपालिकामा चिकित्सक आएकोमा स्थानीयवासी खुसी भएका छन् । कोरोना अस्पताल सञ्चालन गर्न अन्नपूर्ण र मालिका गाउँपालिकाले मात्र चिकित्सक पाएका छन् ।

मंगला, धवलागिरि र रघुगङ्गा गाउँपालिकाले स्टाफ नर्स नियुक्त गरे पनि चिकित्सक पाएका छैनन् । कोरोना अस्पताल स्थापना र सञ्चालनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै पालिकालाई १० लाख रुपैयाँका दरले बजेट पठाएको थियो ।

आवश्यक मेडिकल बेड, बिस्तारा, अक्सिजन लगायतका औजार र औषधिको समेत व्यवस्था गरिएको छ । मन्त्रालयले चार लाख ५० हजार रुपैयाँ तलब, रु ५० हजार रुपैयाँको औषधि र पाँच लाखरुपैयाँ को शय्यासहितका सामग्री किन्न शीर्षक तोकेर बजेट पठाएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर