आरोपपत्र फिर्ता नलिन प्रचण्डलाई माधव पक्षको दबाब, बामदेव मिलाउन सक्रिय – Nepal Press
नेकपा विवाद

आरोपपत्र फिर्ता नलिन प्रचण्डलाई माधव पक्षको दबाब, बामदेव मिलाउन सक्रिय

ओली निस्के लगत्तै खुमलटारमा प्रचण्डको ब्रिफिङ–मिलौ भन्ने कुरा आयो

काठमाडौं । दुई वर्षपछि प्रचण्ड निवास खुमलटार पुगेका प्रधानमन्त्री केपी शर्मा ओली ‘खास केही प्रगति विना’ बालुवाटार फर्किएका छन् ।

त्यसैले नेकपाका दुई अध्यक्षबीचको शनिवारको भेटलाई यसअघि बालुवाटारमा हुने गरेका भेटहरुको निरन्तरता मात्र मानिएको छ । प्रचण्डले पटक पटक गरेको आग्रह अनुसार ओलीले शुक्रवार साँझै आफू खुमलटारमै आएर छलफल गर्ने जानकारी दिएका थिए ।

बालुवाटारबाट सिंहदरबार समेत कमै मात्र निस्कने गरेका ओली नेताहरुको निवासमा विरलै जाने गर्छन् । उनी विपक्षी दलको नेता भएका बेला समेत प्राय शीर्ष नेताहरु उनलाई भेट्न बालकोट निवासमै जाने गर्थे ।

बालुवाटारबाट शीतलनिवास बाहेक राजनीतिक भेटघाटका लागि कमै निस्कने गरेका ओली शनिवार बिहान खुमलटार पुग्दा नेकपामा आजै केही होला जस्तो चर्चा सामाजिक सन्जालमा चल्यो ।

तर करीब डेढ घण्टाको छलफलपछि गृहमन्त्री रामबहादुर थापा बादलको निवासमा पुगेका ओलीले मन्त्रीहरुलाई खुमलटार वार्तामा खास केही प्रगति नभएको सुनाए ।

प्रचण्डको सचिवालयले पनि नियमित भेटकै निरन्तरता भन्दै कुनै सहमति नभएको बतायो । दुई अध्यक्षबीचको वार्तामा बसेका उपाध्यक्ष बामदेव गौतम भने खुमलटारबाट निस्केपछि मोबाइल स्वीच अफ गरेर बसेका छन् ।

प्रचण्डले ओलीसँग भेट भएलगत्तै माधव नेपाललाई सबै जानकारी गराए । प्रचण्ड कुनै सहमति गरेर फेरि ओलीसँगै मिल्छन् कि भन्ने आशंका माधव नेपाल पक्षमा अझै पनि कायमै छ ।

सचिवालयका नेता बामदेव गौतम, रामबहादुर थापा बादल, विष्णु पौडेल मात्र होइन स्थायी कमिटीका आफ्नो समूहका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराई समेत दुवै अध्यक्षका लिखित आरोप प्रत्यारोप फिर्ता गराएर सहमतिको प्रस्ताव लैजान क्रियाशील रहेकाले पनि नेपाललाई प्रचण्ड के गर्छन् भन्ने शंका हुनु स्वाभाविक हो ।

खुमलटारको भेटमा बामदेवलाई साक्षी राखेर प्रधानमन्त्री ओलीले प्रचण्डसँग मिल्ने प्रस्ताव राखेको खुमलटारबाट फर्केपछि नेपालले आफू निकट नेताहरुलाई सुनाएका छन् ।

त्यसका लागि प्रचण्डको लिखित आरोप फिर्ता लिनुपर्ने समेत ओलीले बताएका थिए । तर आफूले अब जे गर्ने हो पार्टीको बैठकले नै गरोस् भनेर ओलीलाई जवाफ दिएको प्रचण्डले नेपाललाई बताएका थिए ।

माधव नेपाल निकट स्थायी कमिटी सदस्य भीम रावलले ओलीले वामदेवलाई छेउमा राखेर मिल्ने प्रस्ताव प्रचण्डसँग लगेको बताएका छन् । नेताहरुबीच सहमति नभए विधि प्रक्रियाबाट पार्टीले टुंगो लगाउने रावलको भनाइ छ ।

अहिले प्रचण्डको प्रस्ताव फिर्ता नहोस् भन्नेमा प्रचण्ड पक्षधर पूर्व माओवादीभन्दा माधव नेपाल पक्षधर नेताहरु बढी सक्रिय देखिएका छन् ।

प्रचण्ड माधव नेपाल पक्षले सहमतिको शर्त केपी ओलीले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्नुपर्ने भनेको छ । त्यसमा प्रचण्डको जोड प्रधानमन्त्रीबाट हटाउनेमा छ भने माधव नेपाल अध्यक्ष छोडाउने पक्षमा छन् ।

प्रचण्ड–माधव नेपाल पक्षको पछिल्लो सक्रियता भने ओलीलाई दुवै पदबाट हटाउने र उनले पार्टी फुटाउने मौका नै नदिनेसम्मको छ । यसका लागि उनीहरुले कांग्रेसलाई पनि आफ्नो साथमा लिन खोजेको पछिल्लो रामचन्द्र पौडेलसँगको हारगुहारले प्रष्ट पार्छ ।

स्थायी कमिटीमा प्रचण्ड–माधव नेपाल पक्षको प्रष्ट दुई तिहाइ बहुमत छ । त्यस्तै बहुमत केन्द्रीय कमिटीमा पनि छ । त्यसैले उनीहरु अब केपी ओलीसँग विकल्पहरु सीमित हुँदै गएको भन्दै हटाउने र सबक सिकाउने भनेर अघि बढेका छन् ।

तर प्रचण्ड–माधव नेपाल निकटकै कतिपय स्थायी कमिटी सदस्यहरु त्यसमा सहमत छैनन् । उनीहरुको जोड दुवै अध्यक्षका लिखित आरोप फिर्ता गराउने र ओलीलाई भदौ २६ को सहमति जहाँबाट उल्लंघन भयो त्यहींबाट सच्याउन सहमत गराउनेमा क्रियाशील छन् ।

सहमति गराउन क्रियाशील रहेका एक नेताले भने–यो पार्टी फुट्यो भने ओली प्रचण्ड,माधव र झलनाथहरुले तत्कालको पद नपाउने मात्र हुन् तर अब पार्टी र राज्यसत्ताको नेतृत्व लिन तम्तयार भएको दोस्रो तहको ठूलो नेतृत्वपंक्ति र लाखौं कार्यकर्ताको भविष्य जोडिएको विषय हो । त्यसैले कुनै कमिटीमा मतदान गरेर पार्टी फुटाउन दिइन्न । हामी गुटका दास होइनौं ।

सहमति जुटाउन क्रियाशील रहेका नेताहरु एक दुई दिनमै परिणाम देखिने गरी प्रयास भइरहेको बताउँछन् । उनीहरुका अनुसार नेकपा सचिवालयको अहिले कायम रहेको समीकरणमा फेरि फेरबदल हुनसक्छ ।

शनिवारको खुमलटार र पुल्चोकको दौडाहापछि प्रधानमन्त्रीले पनि परिस्थिति सकारात्मकै नरहेको निकटस्थहरुलाई बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर