प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा – Nepal Press

प्रचण्डसँग छलफल गर्न ओली खुमलटारमा

प्रधानमन्त्रीले हिजै भनेका थिए– भोलि तपाईंकैमा आउँछु

काठमाडौं । पार्टी फुट्ने कि सहमतिमा फर्किने भन्ने दुई विकल्पमात्र बाँकी रहेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली अर्का अध्यक्ष प्रचण्डसँग छलफल गर्न खुमलटार पुगेका छन् । प्रधानमन्त्रीले शुक्रबार साँझकै भेटमा आफू निर्णायक छलफलका लागि शनिबार खुमलटार आउने आश्वासन प्रचण्डलाई दिएको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री ओली प्रायः भेटवार्ताका लागि कुनै नेताको घरमा जाँदैनन् । उनी विपक्षी दलको नेता हुँदा पनि तत्कालीन प्रधानमन्त्री र अन्य शीर्ष नेताहरु बालकोटमै जाने गर्थे । पार्टी विवादको बीच एकपटक ओली वामदेव गौतमको निवासमा खबर नै नगरी गएका थिए । प्रचण्ड निवासमा प्रकाश दाहालको पहिलो वार्षिकीको दिन पुगेका थिए ।

ओलीनिकट एक स्थायी कमिटी सदस्यले भने– प्रचण्डले पटक–पटक तपाईं पनि मेरोमा आउनुस् न कहिलेकाहीँ भन्नुभएको थियो । हिजो प्रधानमन्त्रीलेनै म भोलि छलफल गर्न तपाईंकोमै आउँछु भन्नुभएको हो । यसबाट बुझ्नुस् कि प्रधानमन्त्री पार्टी एकता कायम गर्न कतिसम्म लचिलो बन्नुभएको छ भन्ने प्रष्ट हुन्छ ।

पार्टीमा दुवै अध्यक्षका अभियोग र प्रतिअभियोपत्र फिर्ता गराएर सहमतिमा फर्काउँन वामदेव गौतमसहित दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, घनश्याम भुसाल, शंकर पोखरेल र योगेश भट्टराई सक्रिय रहेका बेला ओली प्रचण्ड निवासमै जानुलाई अर्थपूर्ण रुपमा लिइएको छ । सचिवालयका नेताहरु ईश्वर पोखरेल, रामवहादुर थापा र महासचिव विष्णु पौडेल पनि दुबै आरोप–प्रत्यारोप फिर्ता गराएर दुई अध्यक्षको संयुक्त प्रस्ताव बैठकमा लैजान प्रयासरत छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर