७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन – Nepal Press

७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन

क्रियाशील सदस्यको सूची बुझाउनेमा अर्घाखाँची मात्रै

काठमाडौं । मंसिर मसान्तभित्र क्रियाशील सदस्यहरुको नामावली केन्द्रमा पठाउन नेपाली कांग्रेस केन्द्रीय समितिले गरेको निर्देशन ७६ वटा जिल्ला समितिहरुले अवज्ञा गरेका छन् ।

गत कात्तिक २८ गतेको कांग्रेस केन्द्रीय समितिको बैठकले नयाँ तथा नवीकरण गर्नुपर्ने क्रियाशील सदस्यहरुको सूची केन्द्रीय कार्यालयमा बुझाउने अवधि मंसिर मसान्तलाई कायम गर्ने निर्णय गरेको थियो ।

केन्द्रीय समितिको निर्णयकै आधारमा कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले सबै जिल्ला समितिलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र अनिावार्य रुपमा नयाँ एवं नवीकरणको सूची पठाउन निर्देश गरेका थिए ।

सो निर्णयको पालना कांग्रेसको अर्घाखाँची जिल्ला समितिले मात्रै गरेको छ । अन्य सबै जिल्लाले न सूची पठाएका छन् न त विलम्व हुनुको कारणबारे केन्द्रीय कार्यालयलाई जानकारी नै दिएका छन् ।

यसबारेमा जिज्ञासा राख्दा कांग्रेस मुख्य सचिव पौडेलले कति जिल्लाको क्रियाशील आयो भन्ने आफूलाई यकिन नभएको बताए । ‘म अहिले रामचन्द्र दाइकोमा बैठकमा छु । कति जिल्लाको क्रियाशील आयो ठ्याक्कै भन्न सक्दिनँ । यसबारे भोलि जानकारी दिउँला’, पौडेलले नेपाल प्रेससंग भने ।

कांग्रेस केन्द्रीय कार्यालय सम्बद्ध स्रोतले अर्घाखाँचीबाहेक अरु जिल्लाको सदस्यता सूची प्राप्त नभएको पुष्टि गर्याे ।
फागुन ७ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशन तोकिएकै मितिमा नहुने निश्चित छ । यद्यपि महाधिवेशनको बाँकी प्रक्रिया अगाडि बढाउनका लागि पनि क्रियाशील सदस्यताको टुंगो लाग्न जरुरी छ ।

७७ मध्ये ७६ जिल्लाले कांग्रेसको निर्णय अवज्ञा गरेपछि क्रियाशील सदस्यताको अन्तिम निधो लाग्न अझै थप समय लाग्ने निश्चित छ । कांग्रेस नेता एवं संगठन विभागका प्रमुख गोपालमान श्रेष्ठ भने जिल्ला समितिहरुले पार्टीको निर्देशन नमानेको रुपमा बुझ्न नहुने बताउँछन् । ‘पार्टीको निर्णय नमानेको होइन नभ्याएको हो ।’

‘कोभिड र २९ गतेको आन्दोलनका कारण जिल्ला समितिले पठाउन नभ्याएका हुन्’, श्रेष्ठले नेपाल प्रेससँग भने ।
उनले केन्द्रीय समितिको आगामी बैठकले जिल्ला समितिहरुलाई नयाँ म्याद दिने बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने क्रियाशील सदस्यता टुंग्याउन भएको ढिलाइले महाधिवेशनलाई अनिश्चयको भुमरीमा होम्न सक्ने बताउँछन् । ‘क्रियाशील सदस्यता नै कांग्रेस महाधिवेशनको आधार हो । यसैमा ढिलो गराएपछि महाधिवेशन कसरी निश्चित हुन्छ ? ’ पौडेलले प्रश्न गरे ।

उनले सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई अलमलमा पार्ने प्रयास गरेको बताए । ‘बैठकमा महाधिवेशन गर्न तयार देखिने तर भित्री रुपमा महाधिवेशनका लागि आवश्यक कुनै पनि काम हुन नदिने ।महाधिवेशन अल्मलाउने काम भइरहेको छ ।’ पौडेलले नेपाल प्रेससँग भने ।

कांग्रेसले यही साता केन्द्रीय समितिको बैठकबाट क्रियाशील सदस्यताको म्याद थप्ने र महाधिवेशन कार्यतालिका संशोधन गरी महाधिवेशन सार्ने तयारी गरिरहेको छ ।

पूर्वाग्रह त्याग्ने हो भने काम गर्न सकिन्छ : अर्घाखाँची सभापति मुस्कान

नेपाली कांग्रेस अर्घाखाँचीका सभापति विष्णु मुस्कानले तोकिएको अवधिभित्र क्रियाशील टुंग्याउने एकमात्रै जिल्ला समिति हुन पाएकोमा खुसी व्यक्त गरे ।

पार्टीको विधान, केन्द्रीय समितिको निर्देशन र कार्यकर्ताको भावना अनुसार काम गरेकोले बेलैमा क्रियाशील सदस्यको सूची बुझाउन सफल भएको मुस्कानको अनुभव छ ।

‘पूर्वाग्रह नराखी , तेरोमेरो नभनी काम गर्ने हो भने क्रियाशील सदस्यता कुनै विवादको विषय होइन । हामीले सबै तहमा छलफल गरेर सर्वसम्मत रुपमा पठाएका हौं’, मुस्कानले नेपाल प्रेससंग भने ।

 


प्रतिक्रिया

One thought on “७६ जिल्लाले टेरेनन् कांग्रेस केन्द्रीय समितिको निर्देशन

  1. अर्घाखाँची कांग्रेसको कार्यकर्ता हुन पाएकोमा गौरवान्वित भएको छु।।।।सभापति लाई जय नेपाल🙏🙏🙏🙏

Leave a Reply to कृष्ण प्रसाद भुसाल Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर