क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप – Nepal Press

क्रिसमसमा मास्क लगाउन आग्रह, लन्डनमा भाइरसले बदल्यो स्वरुप

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्रिसमस पर्वमा अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । युरोपमा क्रिसमस मनाउनेको संख्या अधिक रहेको र भाइरसको संक्रमण पनि उत्कर्षमा भएकाले यस्तो आग्रह गरिएको संगठनले जनाएको छ ।

डब्लुएचओले एक विज्ञप्ती जारी गर्दै नयाँवर्ष २०२१ मा कोभिड–१९ संक्रमणलाई रोक्नको लागि पनि मास्कको अनिवार्य प्रयोग गर्न आग्रह गरिएको छ । मास्क नलगाउँदा महामारी अझै बढ्न सक्ने खतरातर्फ पनि डब्लुएचओले सचेत गराएको छ ।

सकेसम्म परिवार मात्रै भएर क्रिसमस मनाउन र बाहिर जानै परे मास्कको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरिएको छ ।

भाइरसले चरित्र बदलेपछि थपियो चिन्ता
कोभिड–१९ ले स्वरुप बदलेपछि विज्ञहरुमा चिन्ता बढेको छ । बीबीसीका अनुसार बेलायतमा कोरोनाको स्वरुपमा परिवर्तन आएको प्रमाण भेटिएको छ । बेलायती स्वास्थ्य मन्त्री म्याट ह्यानककले संसदमा नयाँ स्वरुपमा कोरोना भेटिएको र द्रुतरुपमा फैलिएको जनाएका छन् ।

बेलायतले विश्व स्वास्थ्य संगठनलाई यसबारे जानकारी गराइसकेको छ । लन्डनमा कोभिड संक्रमण वृद्धि भएपछि बुधबारदेखि थप कडा प्रतिबन्ध लगाउने घोषणा सरकारले गरेको छ ।

संक्रमणको आधारमा उच्च अलर्ट (टियर टु)मा रहेको लन्डनलाई अति उच्च अलर्ट (टियर थ्री)मा लैजाने घोषणा बोरिस जोन्सनको सरकारले गरेको हो । बार, पव, रेष्टुरेन्ट लगायत हस्पिटालिटी व्यवसाय बन्द हुनेछन् भने टेकअवे र डेलिभरी सेवा सुचारु हुनेछन् । तर, फिल्म हलसहितका इन्डोर मनोरञ्जन भने बन्द रहनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर