नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अर्को सातादेखि – Nepal Press

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण अर्को सातादेखि

धादिङ । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्य पुस दोश्रो साताबाट शुरु हुने भएको छ । देशका विभिन्न जिल्लाबाट काठमाडौँ भित्रने सहज मार्गका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण पुस १० गतेबाट शुरु हुने आयोजकले बताएको छ ।

अहिले ‘सुरुङ खन्नुपूर्व ‘सेट’ गर्नुपर्ने ढोकाको चौकोस आकारको स्टिलको पोर्टल फ्रेम राख्ने काम भइरहेको आयोजनाका इन्जिनियर कल्पना अधिकारी सुवेदीले जानकारी दिइन् ।

उनका अनुसार कम्पनीले सुरुङ बाहिरका सम्पूर्ण पूर्व तयारीका कामहरु पुरा गरिसकेको छ । अब सुरुङको काम अघि बढाउन मात्र बाँकी छ । केही दिन भित्रनै सुरुङको होल खोप्ने काम शुरु हुनेछ ।

कोभिड–१९ र जग्गा मुआब्जाका कारण आयोजना निर्माणमा ढिलाई भएपनि तोकिएकै समयमा आयोजना सम्पन्न हुने आयोजनाका टीम नेता अच्युत भट्टले बताए ।

उनका अनुसार आयोजना स्थलभित्र पर्ने केही घर जग्गाको मुआब्जाको बिषयमा अझै टुंगो लाग्न सकेको छैन । बर्षौदेखि बसोबास गर्दै आएका स्थानीयबासीमध्ये केही स्थानीयको नाममा जग्गाको लालपुर्जा नभएकाले मुआब्जा वितरणमा समस्या आएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले बताए ।

आयोजनाले जग्गा अधिग्रहण बापत मात्र साढे ५ अर्ब रुपैयाँ मुआब्जा वितरण गरिसकेको छ । आयोजनाका लागि अधिग्रहण र मुआब्जाको विषयमा विवाद भएपछि केही जग्गाको स्वामित्वको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेकाले आयोगको फैसला नआउँदासम्म मुआब्जा बितरण नहुने भएको छ ।

सुरुङमार्गमा ‘सुरुङ र सडक गरी कुल ५ दशमलव १३ किलोमिटर लामो तीन लेनको हुनेछ  । उपत्यका प्रवेश गर्ने सवारीसाधन दुई लेनबाट यात्रा गर्नेछन भने बाहिरिने सवारीसाधन एक लेनबाट जाने आयोजकले बताएको छ । यस मार्गमा सुरुङको कुल लम्बाइ २ दशमलव ६ सय ८८ किमि र सडकको लम्बाइ २ दशमलव ४५ किमि हुनेछ ।

निर्माण शरु भएको ४२ महिनाभित्र सुरुङमार्गको सम्पूर्ण काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्नु पर्ने सहमति भएको छ । आयोजना स्थलमा हाल ३ सय बढी जनशक्तिले नियमित काम गरिरहेका छन् ।

सु्रुङमार्ग निर्माण सम्झौता अनुसार सुङमार्ग प्रवेशका लागि त्रिभुवन राजपथबाट काठमाडौंतर्फ थानकोटको बस्नेत छापसम्म २.३० किमी र धादिङतर्फ धुनिबेसीको सिस्नेखोलाबाट ५ सय ६५ मिटर पक्की सडक समेत बनाउनुपर्ने छ ।

सुरुङमार्ग बनेपछि नौबिसे–थानकोटको झण्डै ८ किलोमिटर लम्बाई छोटिने छ भने सोबाट झण्डै ३० मिनेट यात्रा समय छोटिने अपेक्षा लिइएको छ । कुल २२ अर्ब रुपैयाँमा ४२ महिना भित्र सम्पन्न गर्ने गरी जापानी कम्पनी हाज्मा–आन्द्रो जेभीले नागढुंगा–नौबिसे सुरुङमार्गको निर्माण ठेक्का लिएको हो ।

जापान सकारको करीब १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण कर्जामा नेपाल सरकारको समेत लगानीमा बन्ने सो आयोजनाका लागि नेपाल सरकार र ठेकेदार कम्पनीबीच गत बर्ष निर्माण सम्झौता भएको थियो ।

धादिङको धुनिबेसी नगरपालिकाको सिस्ने खोलाबाट शुरु भई काठमाडौंको चन्द्रागिरी नगरपालिका बलम्बुमा निस्किने सुरुङमार्गको गत वर्षको कात्तिक ४ गते प्रधानमन्त्री केपी ओलीले आयोजनाको शिलान्यास गरेका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर