श्रीलंकाबाट बाहिरियो एमसीसी, नेपालमा विवाद कायमै – Nepal Press

श्रीलंकाबाट बाहिरियो एमसीसी, नेपालमा विवाद कायमै

एजेन्सी । अमेरिकी सरकारद्वारा सन्चालित मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले श्रीलंकामा सन्चालन गर्न लागेको ४ सय ८० मिलियन डलरको परियोजनाबाट बाहिरिने निर्णय गरेको छ ।

यो परियोजनाका लागि एमसीसीले नेपाललाई पनि प्रस्ताव गरेको छ र नेपालमा सत्तारुढ दलभित्रै परियोजना स्वीकार गर्ने नगर्नेबारे विवाद भइरहेका बेला श्रीलंकामा लगानी गर्न एमसीसी पछि हटेको हो ।

श्रीलंकाली पत्रिका डेली मिररका अनुसार डिसेम्बर १५ मा बसेको एमसीसी बोर्ड बैठकमा भएको मतदानमा श्रीलंकामा आफ्नो परियोजना बन्द गर्ने पक्षमा धेरै मत खसेको थियो । यसै पनि श्रीलंकामा एमसीसीको इकाईले काम गर्न सकेको थिएन । एमसीसीले यसबारेमा औपचारिक घोषणा भने गरिसकेको छैन ।

पछिल्लो यहापालना सरकारको मन्त्रिपरिषदले सन् २०१९ को राष्ट्रपति निर्वाचन अगाडि एमसीसी परियोजना पारित गरेको थियो । तर निर्वाचनपछि गोताबाया राजापाक्षेको नेतृत्वमा बनेको नयाँ सरकारले सम्झौता रद्ध गर्ने निर्णय गरेको थियो ।

एमसीसी एउटा अनुदान परियोजना हो र उसले मुख्यतः २ क्षेत्रलाई समेट्नेछ– एक सडक र अर्को भूमि परियोजना । ३ सय ५० मिलियन डलरको सडक आयोजनाले पश्चिम र मध्य क्षेत्रका दुई प्रदेश सावारागामुआ र उभाका ग्रामिण सडकको क्षमता बिकासका लागि सहयोग गर्नेछ ।

एमसीसीका स्थानीय समर्थकका अनुसार यसले भौतिक सडकमार्गको स्तरोन्नत्ति गर्नेछ, यातायात प्रणाली आधुनिक बनाउनेछ र नीति नियमक संस्थालाई सुधार गर्नेछ ।

६७ मिलियन डलरको भूमि परियोजनाले २० वर्षभित्र ३० प्रतिशतसम्म आर्थिक दरको सुधारका लागि काम गर्नेछ । यसले स्थानीय तथ्यांकसहित भूमि आधिकारबारे जानकारी उपलब्ध गराउन श्रीकंका सरकारलाई सहयोग गर्नेछ । परियोजनाले सुरुमा मध्य, उत्तर–पश्चिमी, उत्तर–मध्य र पूर्वी प्रदेशका जिल्लाहरुलाई केन्द्रित गरी काम गर्नेछ ।

तर श्रीलंकाको वर्तमान सरकारका केहि घटकहरुले यो परियोजनाको समर्थन गरिरहेका छन् र उनीहरु यसलाई अगाडि बढाउन चाहन्छन् । उनीहरुको तर्कअनुसार एमसीसीको परियोजनाले श्रीलंकाको सम्प्रभुतामा प्रभाव पार्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर