आरोप–प्रत्यारोप फिर्ता लिएर भदौ २६ मा फर्कन ओली र प्रचण्ड सहमत – Nepal Press

आरोप–प्रत्यारोप फिर्ता लिएर भदौ २६ मा फर्कन ओली र प्रचण्ड सहमत

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद अब भदौ २६ को अवस्थामा फर्किने भएको छ ।

दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीच बालुवाटारमा केही नेताहरु सहितको छलफलपछि अचानक एकले अर्कालाई लगाएका लिखित आरोप–प्रत्यारोप फिर्ता गर्ने सहमति भएको नेकपा स्रोतले जनाएको छ ।

प्रचण्डले ओलीविरुद्ध लिखित प्रस्ताव राखेपछि ओलीले पनि लिखित जवाफ पेश गरेका थिए । दुवै आरोप–प्रत्यारोपमाथि स्थायी कमिटीमा छलफल हुनुपर्ने प्रचण्डको प्रस्तावमा ओली असहमत हुँदै आएका थिए । उनले प्रचण्डको आरोपपत्र फिर्ता नभएसम्म त्यसमाथि छलफल हुने बैठकमा आफू सहभागी नहुने अडान लिएका थिए ।

आजै पहिलो चरणको छलफलमा पनि ओलीले प्रचण्डलाई ‘तपाईं लान्छानापत्रमाथि हुने कुनै पनि छलफलमा म सहभागी हुन सक्दिन’ भनेका थिए । त्यसपछि पुनः महासचिव बिष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र शंकर पोखरेल तथा घनश्याम भुसाल लगायतका नेताहरुले दुई अध्यक्षबीच वार्ता गराएका थिए ।

सो वार्तापछि अचानक दुवै अध्यक्ष अध्यादेश र विशेष अधिवेशनका लागि हस्ताक्षर फिर्ता लिन तयार भएका थिए । सोही छलफलपछि दुवै अध्यक्ष एक अर्कामाथिका आरोप फिर्ता लिएर भदौ २६ लाई‘ कट अफ लाइन’ बनाई पार्टीमा नयाँ ढंगले सहमति गर्न अघि बढेको एक नेताले बताए ।

स्थायी कमिटी बैठकले दुई अध्यक्षबीचको सहमतिलाई अनुमोदन गर्ने प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । यसमा माधव नेपाल पक्षको धारणा भने आएको छैन ।


प्रतिक्रिया

One thought on “आरोप–प्रत्यारोप फिर्ता लिएर भदौ २६ मा फर्कन ओली र प्रचण्ड सहमत

Leave a Reply to Pradeep Niraula Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर