यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ? – Nepal Press

यसरी खुल्दैछन् फिल्म हल, कुन-कुन रिलिज हुँदैछन् ?

नौ महिनापछि खुल्दै हल

काठमाडौं।  बन्द भएको नौ महिनापछि नेपाली फिल्म हल खुल्ने तयारीमा छन् । कोरोना भाइरस संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गते लकडाउन गरेपछि हल बन्द थिए । चलचित्र हल व्यवसायीले आगामी पुस १० गते एकपक्षीय रुपमा हल खुलाउने निर्णय गरिसकेका छन् ।

व्यवसायीले हल खुलाए भने पनि सरकारले हस्तक्षेप नगर्ने संकेत दिएको छ । सञ्चारमन्त्री पार्वत गुरुङले निर्माता संघका पदाधिकारीलाई हस्तक्षेप नगर्ने जनाउ दिएका छन् ।

पचास प्रतिशत मात्र दर्शक राखेर मुलुकका हलहरू सञ्चालनमा आउने चलचित्र संघले जनाएको छ । आधा प्रतिशत दर्शक राखेर हल चलाउनुको अर्थ केही समय हल व्यवसायीले घाटा व्यहोरेर  पनि प्रदर्शनलाई निरन्तरता दिनुपर्ने हुन्छ । पुस १० गतेदेखि हल खुल्ने भएपछि हल सञ्चालक र वितरकले तयारी सुरु गरेका छन् ।

क्यूएफएक्सले तत्काल सिभिल र लाबिम मात्र खोल्ने
मुलुकको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले तत्काल सिभिल मलस्थित सेन्ट्रल सिनेमा र लाबिम मलस्थित हल सञ्चालनमा ल्याउने तयारी थालेको छ । उपत्यकाबाहिरका अन्य हल सञ्चालनमा ल्याउने वा नल्याउने बारे चाँडै टुंगो लाग्ने क्वेस्ट इन्टरटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले बताए ।

चलचित्र संघका अध्यक्ष मधुसुधन प्रधानका अनुसार सुरुमै मुलुकका दुईसय हल खुल्ने छैनन् । संक्रमणको स्थिति हेरेर केही हल मात्र खुल्ने भएका छन् । ‘हल सफाइ, उपकरण मर्मत र कर्मचारी व्यवस्थापनको पाटो पनि हेर्नुपर्ने हुन्छ,’ प्रधानले नेपाल प्रेससँग भने, ‘कुन फिल्म रिलिज गर्ने भन्ने बारेमा चाहिँ वितरकसँग बसेर मात्र सल्लाह गर्छौं ।’ गोपीकृष्ण मूभिजले तत्काल ओम नमः शिवाय नामको अडिटोरियम मात्र खुलाउने भएको छ । दर्शकको प्रवाह हेरेर मात्र थप हल हल खुलाउने टुंगो लाग्ने अध्यक्ष प्रधानले बताए ।

यस्तो हुनेछ कोभिड प्रोटोकल
सामाजिक दुरी, मास्क र सरसफाइलाई सबै हलले अनिवार्य गर्नुपर्ने भएको छ । एक सिट छाडेर दर्शकीय सिटको लाइन व्यवस्था गरिने भएको छ । एकै परिवारका बाहेक अन्य दर्शकलाई एक सिट छाडेर राखिनेछ । अनलाइन टिकटलाई प्रोत्साहन गरिने भएको छ ।

हलभित्र उपलब्ध खानेकुरा वितरण र सरसफाइमा विशेष ध्यान दिने तयारी छ । प्रत्येक दर्शकलाई टिकटसँगै मास्क वितरण पनि उपलब्ध गराइने कतिपय मल्टिप्लेक्सले जनाएका छन् । एउटा फिल्मको सो सकिएपछि हललाई अनिवार्य निसंक्रमण तुल्याइने र एउटा सो र अर्कोको ग्यापबीच लामै अन्तर राखिने भएको छ ।

पोखरास्थित मिडटाउन ग्यालरीका प्रमुख निकेश द्धाले कोभिड–१९ मापदण्ड पालनामा कुनै कसर बाँकी नराख्ने बताए । ‘हामी सरसफाइ र प्रोटोकल पालनामा पुरै प्रतिबद्ध छौं,’ द्धाले भने, ‘सुरुमा माहोल तयार पार्ने कार्य हुनेछ ।’ जसअनुसार मिडटाउन ग्यालरीले यही साता कर्मचारीलाई पोस्ट–कोभिड स्क्रिनिङबारे तालिम पनि दिने भएको छ ।

कुन-कुन फिल्म रिलिज हुँदैछन् ?
हल खुल्ने भए पनि सुरुमै नयाँ नेपाली फिल्म रिलिज नहुने अवस्था छ । पुरानै ब्लकबस्टरलाई रिलिज गर्ने कि भन्ने बारेमा संघले सूची तयार पार्दैछ । ‘हामी वितरकसँग बैठक बस्दैछौं र कन्टेन्टको बारेमा निधो हुनेछ,’ चलचित्र संघ अध्यक्ष प्रधानले भने ।

सम्भवतः हलिउड फिल्म मुलान वा टेनेटमध्ये कुनै एउटा विदेशी फिल्म रिलिज हुनेछ । मुलान रिलिज हुन केही दिन बाँकी छँदा लकडाउन भएपछि रिलिज रोकिएको थियो । कन्टेन्ट अझै सुरक्षित भएकाले मुलान रिलिजको तयारीमा एप्पल इन्टरटेनमेन्ट छ । ‘हामी क्रिस्टोफर नोलनको फिल्म टेनेट रिलिजको छलफलमा पनि छौं,’ क्यूएफएक्स सिनेमाज् निर्देशक नकिम उद्दिनले भने, ‘हामी छलफलकै चरणमा छौं ।’

सम्भवतः छक्का पञ्जाको कुनै एक सिरिज पनि पुनःरिलिज हुनसक्छ । यसका लागि चलचित्र संघले निर्माता एवं अभिनेता दीपकराज गिरीसँग छलफल चलाएको छ । गिरी स्वयम् पनि दर्शकीय माहोल बनाउने यो प्रस्तावसँग सहमत छन् । बिग बजेटका नेपाली फिल्म तत्काल रिलिज हुने तयारी छैन । माहोल बनेपछि मात्र ठूला र नयाँ फिल्म रिलिज गर्ने अधिकांश निर्माताको मनसाय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर