पञ्चपुरीका मेयर भन्छन्– भूमिहीनलाई लालपूर्जा दिन पाए जितेको सार्थक हुन्थ्यो – Nepal Press

पञ्चपुरीका मेयर भन्छन्– भूमिहीनलाई लालपूर्जा दिन पाए जितेको सार्थक हुन्थ्यो

सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा ११ वडा छन् । भाैगाेलिक रुपमा जिल्लाको सबैभन्दा ठूलो स्थानीय तहको बागडोर संहालिरहेका छन्, उपेन्द्र थापा । नागरिक समस्या समाधान, पूर्वाधार निर्माणको नारामा विश्वास गरी त्यहाँका नागरिकले उनलाई नेता बनाएका हुन् । नागरिकको विश्वास जितेर मेयर बनेयताको तीन वर्ष आफ्ना योजनाहरु कहाँ पुगे ? कति पूरा भए, कति बाँकी छन् भन्नेबारे हामीले थापासँग कुरा गरेका थियौं । मेयर थापाकाे कुरा उनकै शब्दमा:

सडक र स्वास्थ्य प्राथमिकतामा

चुनावमा जाने समयमा नागरिकको घरदैलोमा पुग्दा सबै वडामा सडक पु¥याउने वाचा गरेको थिएँ । सोहीअनुसार अहिले सबै वडामा सडक पुगेको छ । मुख्यः बजार क्षेत्रमा धुलो र हिलोले बसिनसक्नु थियो । यो वैशाखसम्म बजार क्षेत्रमा कालोपत्रे भइसक्नेछ ।

हामीले भित्री सडकहरु पनि निर्माण गरेका छौं । आर्थिक वर्ष २०७५–०७६ मा सालकोट बजार कालोपत्रे गरिसकेका छौं । गत वर्ष बाबियाचौर बजार कालोपत्रे गर्ने भनेर टेण्डर आव्हान गरेका थियौं । कोरोना महामारीका कारण सम्भव भएन । अहिले ठेकेदारले कामलाई तीव्र गतिमा अघि बढाइरहेको छ । आउने वैशाखसम्म यो बजार क्षेत्र कालोपत्रे भइसक्ने छ । चालू आर्थिक वर्षमा विद्यापुर बजार कालोपत्रे गर्ने तयारी गरेका छौं ।

भित्री सडकहरु धेरै ग्रावेल भएका छन् । प्राय सडक वर्षायाममा पनि चल्ने अवस्थामा पुगेका छन् । तीन वर्षमा १ हजार ८ सय किलोमिटर नयाँ ट्र्याक खोलेका छौं । ९ सय किलोमिटर ग्रावेल भएको छ । यो वैशाखसम्म २५०० मिटर कालोपत्रे हुन्छ ।

पञ्चपुरी नगरपालिका क्षेत्रमा सबै भन्दा ठूलो समस्या स्वास्थ्य क्षेत्रको थियो । करिब आधा भन्दा बढी महिला दिदी–बहिनीहरु स्वास्थ्य संस्थामा सन्तान जन्माउन आउँदैन थिए । त्यो परम्परालाई तोडन हामीले सुत्केरी प्रोत्साहन भत्ता कार्यक्रम लागू ग¥यौं । नेपाल सरकारले दिने बाहेर प्रति महिला दुई हजारका दरले भत्ता दिन थाल्यौं । ३ वर्षमा दुई हजारभन्दा बढी महिला स्वास्थ्य संस्थामा बच्चा जन्माउन सफल भएका छन् । अहिले ९४ प्रतिशत महिला स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेका छन् ।

अहिले हामीले सबै वडामा स्वास्थ्य इकाई स्थापना गरिसकेका छौं ।सबै इकाईका लागि भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ । सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा भवन थपेका छौं ।

हाम्रो अर्को प्राथमिकताको क्षेत्र शिक्षा पनि हो । सूर्यप्रकाश मावि सालकोटमा प्राविधिक शिक्षालय स्थापना गरेर कृषि तथा भेटरनरी अध्यापन कोर्ष सञ्चालनमा आइसकेको छ । संघीय सरकारले एउटा ‘पालिका एउटा प्राविधिक विद्यालय’ स्थापना गर्ने लक्ष्य लिए अनुसार जनता मावि विद्यापुरमा आइएससी एजी अध्यापन गराउने तयारी भइरहेको छ । यसका अलावा नगरपालिकाले ३५ जना भन्दा बढी विभिन्न विषयका स्वंयसेवक शिक्षक परिचालन गरेर शिक्षा क्षेत्रमा रुपान्तरणको प्रयास गरिरहेको छ ।

बालबालिकाका क्षेत्रमा एक देखि पाँच कक्षा सम्मका विद्यार्थीलाई टिफिन बक्स वितरण गरेका छौं । असहाय र टुहुरा बालबालिकाका लागि कापी–कलम, झोला, पोसाक वितरण गरेका छौं ।

हामीले खेलकुद मैदानको रुपमा बाबियाचौर रंगशालालाई क्षेत्रीय स्तरकै रंगशालाको रुपमा विकास गर्दै आइरहेका छौं । अहिले फिल्ड निर्माण गरेका छौं । बाँकी कामलाई २ वर्षभित्र पूरा गर्ने लक्ष्य छ ।

३ वर्षमा २० किलोवाट विजुली उत्पादन

हामीले वडा नम्बर ४ को बरैचेमा दश किलोवाट जलबिद्युत उत्पादन सुरु गरिसकेका छौं । यस्तै ८ नम्बरको काँडा खेतमा पनि थप १० किलोवाट उत्पादन भइसकेको छ । बाबियाचौर र विद्यापुर क्षेत्रमा यसअघि नै जलबिद्युत आयोजना सन्चालनमा थिए ।

पहिले सबै वडामा खानेपानीको पहुँच थिएन । श्रोतले भ्याउने स्थानमा पाइपमार्फत खानेपानी पु¥याएका छौं भने श्रोत नभएका स्थानमा सोलारबाट लिफ्ट गरेर भए पनि सुविधा दिएका छौं । सोलार खानेपानीमा वडा नम्बर १ को हाँसे गाउँ, वडा नम्बर ७ को भक्तडी, वडा नम्बर ८ को जाजुरा, वडा नम्बर ९ को राग, वडा नम्बर ११ को कुइने र ताउलेमा टेण्डरमा गएका छन् । वैशाखसम्म सम्पन्न हुने यो परियोजनाबाट करिव चार हजार परिवार लाभान्वित हुनेछन् ।

सिंचाईमा १५ हजार मिटर नहर निर्माण गरेका छौं । कतै श्रमदान त कतै लागत सहभागिताका आधारमा नहर निर्माण भएका हुन । सिंचाईलाई प्राथमिकता दिने र तल्लो क्षेत्रमा तरकारी खेती गर्न युवालाई प्रोत्साहन गर्ने हाम्रो नीति हो । यसका अलावा यहाँ दूध, मासु उत्पादनमा जोड दिएका छौं । लकडाउनको समयमा यहाँ उत्पादन भएको तरकारी जुम्लादेखि नारायणगढसम्म विक्रीका लागि पुगेको थियो ।

व्यवसायिक रुपमा काम गरेका युवालाई आर्थिक सहयोग पनि गर्दै आइरहेका छौं । यसकालागि हामीले समूह गठन गरेका छौं । फार्म दर्ता गरेको हुनुपर्ने, कृषि र भेटेरनरीका प्राविधिक गएर जाँच गरेपछि प्रोत्साहन दिने काम हामीले गर्दै आइरहेका छौं । नगरपालिकाको माथिल्लो क्षेत्रमा हामीले मौरीपालन, पशुपालन, दूध उत्पादनजस्ता काम गर्न युवालाई प्रोत्साहन गर्दै आइरहेका छौं ।

१२ सयभन्दा बढी स्वरोजगार

नगरपालिकाले दुई हजारभन्दा बढी युवालाई विभिन्न तालिम दिइसकेको छ । हालसम्म १२ सयभन्दा बढी स्वरोजगार बनेका छन् । युवा स्वरोजगारका लागि ढाका बुनाई, कम्प्यूटर तालिम, चाउमिन उद्योग, पाउरोटी उद्योग, मसाला उद्योग, लोकसवा तयारी कक्षा सञ्चालन गरेका छौं । प्लम्बिङ, ड्राइभिङ तालिम संचालन गरेका छौं ।

पर्यटकीय क्षेत्रका हिसाबका दृष्टिले महत्वपूर्ण क्षेत्र भेरी कर्णालीको दोभान र दह ताललाई विषेश प्राथमिकता दिएका छौं । त्यहाँ पर्यटकीय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ अहिले कच्ची सडकको पहुँच पु¥याई सकेका छौं ।

अबको लक्ष्यः सबै नागरिकका लागि लालपूर्जा

नगरपालिकामा ८ हजारभन्दा बढी नागरिक ३ पुस्तादेखि लालपुर्जाविहीन छन् । अव्यवस्थित र सुकुम्वासी दाजुभाइलाई पूर्जा वितरण गर्न पाए नगरप्रमुख जितेको सार्थकता हुन्थ्यो जस्तो मलाई लागेको छ । अन्य विकास निर्माणका काम त भइरहेका छन् । सबैभन्दा ठूलो प्रतिबद्धता यहि थियो । यो पुरा गर्न बारम्बार मैले सरकारसँग आग्रह गर्दै आइरहेको छु । नगरपालिकाले चाहेर गर्न नसकिने काम भएकाले मेरो कार्यकालमा यो समस्या समाधान भए सन्तोष मिल्ने थियो ।

पञ्चपुरीका ८ हजारभन्दा बढी घरधुरीको लगत राखिएको छैन । आयोगले बाटो खुलाइदिएको भए हुन्थ्यो । संघ र प्रदेशले प्राविधिक कर्मचारी राख्न आवश्यक छ । २०४० देखि २०४६ सम्म राप्ती अञ्चल क्षेत्रीय बसोबास कार्यालयले दिएको पूर्जाको मालपोत कार्यालयमा रेकर्ड कायम छ । कार्यालयले पूर्जा वितरण गरेको छ । त्यसलाई मालपोत कार्यालयले रेकर्ड गराइदिनु पर्छ ।

नागरिकले लालपूर्जा पाएको खण्डमा जग्गा धरौट राखेर भए पनि व्यवसाय गर्न सक्थे त्यसबाट उनीहरु बञ्चित हुनुपरेको अवस्था छ । बड्डीचौर–डोटी–बेनी सडक संघीय र हालको मदन भण्डारी लोकमार्ग संघीय सरकारले तत्काल निर्माण गर्न आवश्यक छ । बाबियाचौरमा सवस्टेशन बनिसकेको छ । ३३ केभी प्रसारण लाईनका लागि काम तीव्र रुपमा भई वत्ती जडान भएको खण्डमा पञ्चपुरी नगरपालिकाका नागरिक समृद्ध हुनेछन् ।


प्रतिक्रिया

3 thoughts on “पञ्चपुरीका मेयर भन्छन्– भूमिहीनलाई लालपूर्जा दिन पाए जितेको सार्थक हुन्थ्यो

  1. हाम्रो तिर भुमी भएकालाई सार्बजनिक जग्गा अतिक्रमण गरि घर बनाउने काम भैसक्यो पन्चपुरी किन पछाडी पर्यो । भुमिहिनलाई पनि दिएको रहेनछ ।

Leave a Reply to Ganesh Bahadur Shahi Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर